लिफ्टिङ गरेर स्थानीयलाई खानेपानी

स्याङ्जा : नगरपालिकाको विकट क्षेत्र पानी व्यवस्थापन भएसँगै यहाँका ३ गाउँका स्थानीयवासी खुशी भएका छन्। लिफिटङ गरेर जालिमडाँडा, तीलडाँडा र कोलडाँडावासी लाभान्वित भएका हुन्।
चापाकोट नगरपालिका-६ साँखर जालिमडाँडामा त पानीको धेरै समस्या थियो। यहाँका स्थानीयले वर्षौंदेखि पानीको समस्या भोग्दै आएका थिए। करिब १६ किलोमिटर टाढादेखि खानेपानीको जोहो गर्नुपर्ने वाध्यता थियो।
तर, अहिले गण्डकी प्रदेश पूर्वसांसद भागवतप्रकाश मल्लको पहलमा गाउँमा लिफ्टिङ खानेपानी आयोजना सम्पन्न भएसँगै खानेपानीको समस्या हटेको छ। स्थानीयवासीमा खुशी छाएको छ। गाउँलेको मुहारमा खुशी देखिएको छ।
वडाडाँडा-पाङ्लुङ लिफ्टिङ खानेपानी आयोजनाबाट जालिमडाँडा, तीलडाँडा र कोलडाँडाका ८१ घरपरिवार लाभान्वित भएको पाङ्लुङ-बरडाडा खानेपानीका अध्यक्ष सुर्य पाठकले जानकारी दिए।
उनका अनुसार, ‘भौगोलिक विकटताका कारण धेरै टाढाबाट पानी ल्याउनु परेको थियो। पानी आउने भन्दा बिग्रने बढी हुथ्यो। दिनहुँजसो बनाउनका लागि ४/५ खटिनु पर्थ्यो। अब ती सबै समस्या हटेका छन्। स्थानीयवासीले घर घरमै पानीको सुबिधा पाएका छन्।’
धारामा पानी खोलेर सुरूवात गर्दै पूर्वसांसद भागवतप्रकाश मल्लले खानेपानीबाट कोहि पनि बञ्चित हुन नहुने जनाउँदै एक घर एक धारा खानेपानीको अवधारणा अनुरूप सबै घरमा पानीको उपलब्ध गराउन निरन्तर लागिरहने बताए। उनले थपे, ‘जिल्ला र जन्मथलोको विकासका निम्ति सधैँभरि जुटिरहनेछु।'
कार्यक्रममा नगर प्रमुख देवबहादुर खाँणले चापाकोटका विकासका लागि संघ, प्रदेशसँग सहकार्य गर्दै अघि बढ्ने बताए। लिफ्टिङ खानेपानीमो सबलाइनमा पानी जोडेर पानी उपलब्ध गराइएको हो।
आफ्ना टोल टोलमा खानेपानीका धारा ल्याएर सहज बनाएको भन्दै पूर्वसांसद भागवतप्रकाश मल्ल, चापाकोट नगरप्रमुख देवबहादुर खाँण, खानेपानीका अध्यक्ष सूर्य पाठकलाई स्थानीयवासीले फूलमालाले स्वागत गरेका छन्।
प्रतिक्रिया दिनुहोस !
