फेरि रोकियो सडक विस्तार
हेटौंडा : वर्षौँदेखि रोकिँदै आएको हेटौंडा बजार क्षेत्रको सडक विस्तार कार्य पुनः अन्यौलमा परेको छ।
पूर्व-पश्चिम राजमार्गअन्तरगत हेटौंडा बजार क्षेत्रमा पर्ने सो सडकखण्ड विस्तार कार्य तत्काल अघि नबढाउन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेसँगै विस्तार कार्य फेरि रोकिन पुगेको हो।
सडक डिभिजन हेटौंडाले ३५ दिने सूचना जारी गरी साउन १६ गतेबाट सडक विस्तारको तयारी गरेको थियो। तर अदालतको आदेशले विस्तार कार्य पुनः अन्यौलतातर्फ धकेलिएको हो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई विपक्षी बनाई विजयलाल जोशीले पेस गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले मन्त्रालयसँग सडक विस्तारको विषयमा १५ दिनभित्र लिखित जवाफ माग गरेको छ।
‘यसमा के कसो भएको हो? निवेदकको माग बमोजिम उत्प्रेषणको आदेश किन जारी हुन नपर्ने हो? आदेश जारी हुनु नपर्ने भए सो को आधार र कारणसहित बाटोको म्यादबाहेक सूचना म्याद पाएका मितिले १५ (पन्ध्र) दिनभित्र प्रत्यर्थी नं. १, २, ३, ४, ५, ६, ७, ८, ९ ले महान्यायाधिवक्ताको कार्यालयमार्फत् र प्रत्यर्थी नं. १० ले आफैं वा आफ्नो कानुनबमोजिम प्रतिनिधिमार्फत् लिखित जवाफ पेस गर्नू भनी प्रस्तुत आदेश र रिट निवेदनको एक एक प्रति नक्कल समेत साथै राखी विपक्षीहरूका नाममा सूचना म्याद जारी गरी म्यादभित्र लिखित जवाफ परे वा अवधि व्यतीत भएपछि नियमानुसार पेस गर्नुहोला,’ आदेशमा उल्लेख छ।