औषधि नभएपछि सर्पदंश केन्द्र बन्द
परासी : नवलपरासीको सुनवल नगरपालिकाको जगार्हास्थित प्रहरी युक्ती तालिम महाविद्यालयमा सर्पदंश केन्द्रको उपचार सेवा बन्द छ। केन्द्रमा आवश्यक पर्ने औषधि नभएपछि सेवा दिन नसकिएको महाविद्यालयले जनाएको छ। साढे तीन वर्षअघि सुनवल नगरपालिकाले महाविद्यालयको परिसरमा उपचार केन्द्र भवन निर्माण गरेको थियो।
सर्पदंशको उपचार केन्द्र नहुँदा स्थानीयको ज्यान जोखिममा परेको भन्दै तत्कालीन नगर प्रमुख भीमबहादुर थापाको पहलमा नगरपालिकाले २५ लाखको लागतमा केन्द्र निर्माण गरेको हो। आवश्यक पर्ने औषधि नगरपालिकाले उपलब्ध गराउने सहमतिअनुसार महाविद्यालयले डाक्टर र एम्बुलेन्सको व्यवस्था गरेको छ। तर, अहिले डाक्टर भए पनि औषधि नभएका कारण उपचार सेवा दिन नसकिएको महाविद्यालयका एसपी भोलाबहादुर रावलले बताए। गत वर्षसम्म औषधि उपलब्ध गराउँदै आए पनि यसवर्ष नगरपालिकाले औषधि उपलब्ध नगराएको उनले बताए।
गतवर्ष उपचार केन्द्रमा ५७ जना सर्पले डसेका बिरामीको उपचार गरिएको थियो। ‘नगरपालिकासँग पटक–पटक औषधि व्यवस्थाका लागि अनुरोध गर्यौं, वास्ता नगरेपछि हाम्रै प्रहरी अस्पतालसँग माग गरेका छौं’, एसपी रावलले भने। उपचार दिन नसकेपनि सर्पले डसेर आएकालाई एम्बुलेन्समार्फत स्वास्थ्य संस्थामा पठाउने गरिएको उनले बताए।
नगर प्रमुख बिमला अर्यालले प्रकृया नपुग्दा औषधि उपलब्ध गराउन नसकिएको बताइन्। ‘सर्पदंशको उपचार सेवा दिने संस्था इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा सूचीकृत हुनुपर्ने रहेछ। उक्त केन्द्र सूचीकृत नभएकाले समस्या भएको हो। सूचीकृतसहित अन्य प्रकृया पुगेपछि औषधि उपलब्धका लागि पहल गर्छौं’, अर्यालले भनिन्।
प्रतिक्रिया दिनुहोस !