फिलिपिन्समा डुंगा पल्टियो, २३ को मृत्यु
उत्तरी फिलिपिन्सबाट डोक्सुरी आँधी आएको केही घण्टापछि मनिला नजिकैको लगुना तालमा दुर्घटना भएको हो।
मनिला : फिलिपिन्सको राजधानी मनिला नजिकैको एक तालमा बिहीबार यात्रुवाहक डुंगा पल्टिँदा २३ जनाको मृत्यु भएको छ। ६ जना बेपत्ता छन्। उत्तरी फिलिपिन्सबाट डोक्सुरी आँधी आएको केही घण्टापछि मनिला नजिकैको लगुना तालमा दुर्घटना भएको हो।
उद्धारकर्ताले पानीबाट २३ जनाको शव निकालेको र ४० जनालाई जीवित उद्धार गरेको बताइएको छ। कालिनावान बन्दरगाहमा उभिएका बिनान्गोनानका बासिन्दा फ्रेडरिक सिसनले भने, ‘डुंगा हाम्रो अगाडि डुबेको थियो।’ दुर्घटना भएको केही घण्टापछि पनि हराइरहेका ६ जनाको खोजीका लागि उद्धारकर्मीले तालमा खोजी गरिरहेको सिराडोसले बताए।
सिसनले खिचेको र एएफपीसँग सेयर गरिएको भिडियो फुटेजमा चिन्तित मानिसहरू किनारामा उभिएर डुंगाहरूले उद्धार कार्यमा भाग लिइरहेको देखिएको छ। सात हजारभन्दा बढी टापुको द्वीपसमूहमा फैलिएको फिलिपिन्समा समुद्री असुरक्षाका कारण ठूलाठूला दुर्घटना हुने गरेका छन्। यहाँ सामान्यतया माछा मार्न वा मानिसहरूलाई एक सानो टापुबाट अर्को टापुमा सार्न काठका डुंगा प्रयोग गरिने गरेको छ। प्रत्येक वर्ष समुद्रमा हुने दुर्घटनाहरूमा धेरै व्यक्तिको मृत्यु हुन्छ।
सामुद्रिक सुरक्षा गार्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘काठ डुंगालाई तीव्र हावाको बहावले ढलपल ढलपल पारेपछि सबै यात्रुहरू आत्तिएका थिए र उनीहरू बन्दरगाह (बायाँ) तिर गएका थिए। तर, पनि दुर्घटना भयो।’ तटरक्षक बलका प्रवक्ता रियर एडमिरल अर्मान्डो बालिलोले दुर्घटना पछि विज्ञप्ति निकालेका थिए।