हवाई सुरक्षामा सरोकारवालाको चासो, कार्यदल गठन

हवाई सुरक्षामा सरोकारवालाको चासो, कार्यदल गठन
नेपाल वायुसेवा सञ्चालक संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको हवाई उड्डयनको वर्तमान अवस्था, चुनौती र अवसरका बारेमा सरोकारवालाहरूसँग छलफल कार्यक्रमका सहभागी ।  अभिषेक महर्जन

काठमाडौं : हवाई तथा हेलिकप्टर उडानको सुरक्षालाई मजबुत र व्यवस्थित बनाउनका लागि निजी वायुसेवा सञ्चालकहरूले टास्कफोर्स (कार्यदल) गठन गरेका छन्। नेपाल वायुसेवा सञ्चालक संघले हवाई सुरक्षा अभिवृद्धिसम्बन्धी टास्कफोर्स गठन गरेको जानकारी दिएको छ। हवाई दुर्घटनाको क्रम बढ्न थाले पनि निजी वायुसेवा सञ्चालकहरूले आन्तरिक सुधारका लागि यो टास्कफोर्स गठन गरेको बताइएको छ।

नेपालमा अहिले सञ्चालन भइरहेका वायुसेवा कम्पनीहरूको सञ्चालनका प्रक्रिया, विधि, प्राविधिक पक्षलगायत हवाई उद्योग कतिको सुरक्षित छ भन्ने सम्बन्धमा यो टास्कफोर्सले अध्ययन गर्ने संघका अध्यक्ष क्याप्टेन रामे˘वर थापाले जानकारी दिए। ‘हाम्रो आकाशलाई थप सुरक्षित बनाउनका लागि हाम्रा कमी, कमजोरी कहाँ छन् त्यसलाई पत्ता लगाउन जरुरी भइसकेको छ। दुर्घटनाहरू दोहोरिरहेका बेलामा हामी अल्मलिनुभन्दा पनि अघि बढ्ने बाटो पत्ता लगाउने काम टास्कफोर्सले गर्नेछ,’ थापाले भने। टास्कफोर्सले दिएका सुझावहरूलाई सुधारका लागि संघले अवलम्बन गर्ने जानकारी उनले दिए। 

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक यज्ञप्रसाद गौतमको संयोजकत्वमा गठित टास्कफोर्समा क्याप्टेन रवि कंसाकार, एसएस डंगोल, क्याप्टेन हीराबाबु दाहाल, इन्जिनियर यज्ञ श्रेष्ठ रहेका छन्। यो फोर्सले प्रत्यक्ष निजी वायु कम्पनीहरूमा गई कर्मचारीहरूको व्यवहारदेखि संरचनागत अवस्थालगायत मर्मत सुधारका प्रक्रियासम्म सबैको अध्ययन गर्नेछ। यसमा प्रत्यक्ष रूपमा सरकार वा नियामक निकायको भूमिका भने नरहेको संघका अध्यक्ष थापाले बताए। आवश्यक परे सल्लाह÷सुझाव भने लिइने जानकारी थापाले दिए। उक्त टास्कफोर्सले एक महिनाभित्र आफ्नो अध्ययन पूरा गर्ने जानकारी दिइएको छ।

प्राधिकरणको पछिल्लो सर्कुलेसन अव्यावहारिक

नेपाल नागरिक उड्डयन प्राधिकरणले असार २८ गते नयाँ सर्कुलेसन (निर्देशन) ल्याएको छ। मनाङ हेलिकप्टर दुर्घटनामा परेपछि प्राधिकरणले नयाँ सर्कुलेसन जारी गरेको हो। उक्त सर्कुुलेसनले हवाई तथा हेलिकप्टर उडानमा प्रतिबन्ध लगाउने काम गरेको निजी वायुसेवा सञ्चालकहरूले बताएका छन्। सेप्टेम्बरसम्मका लागि उद्धार उडान, हिमाल दृश्यावलोकन उडान, सिलिङ उडान (हेलिकप्टरले झुन्ड्याएर सामान ओसारपसार गर्ने) उडानलाई प्रतिबन्ध लगाएको छ भने वायुसेवा कम्पनीमा सेयर लगानी भएका पाइलटलाई उडानमा प्रतिबन्ध लगाएको छ।

प्राधिकरणले पछिल्लो समयमा ल्याएको सर्कुलेसन अव्यावहारिक भएको संघले बताएको छ। दुर्घटना दुर्भाग्यवश हुने भएकोले माथिका प्रतिबन्धहरू खासै परोक्षित नहुने अध्यक्ष थापाले बताए। ‘डाक्टरले अस्पताल खोल्न पाउने, पाइलटले हवाई कम्पनी किन खोल्न नपाउने ? पाइलटले हवाई कम्पनी खोल्दा उसमा उड्डयन क्षेत्रका बारेमा विज्ञता हुन्छ भने समस्या र समाधान पनि थाहा हुन सक्छ,’ थापाले बताए। कुल गार्हस्थ्य उत्पादनमा पर्यटनको करिब ७ प्रतिशत योगदान रहेको हुँदा पर्यटन आयको प्रमुख स्रोत हिमाल दृश्यावलोकनमा प्रतिबन्ध पनि सुहाउँदो नभएको बताइएको छ। खराब मौसममा उडान गराउन कुनै पनि कम्पनी अग्रसर नहुने उनले भने। दैनिक जीवनदेखि, आपत्विपत तथा सामान ओसारपसारमा हेलिकप्टरको प्रयोग बढिरहेको सन्दर्भमा प्राधिकरणको यो प्रतिबन्ध सान्दर्भिक नभएको संघले बताएको छ। 

हवाई दुर्घटनाहरू सबैभन्दा बढी खराब मौसमका कारण पहाडमा ठोक्किएर हुने गरेकाले इनरुट मौसमको जानकारी दिने सम्बन्धमा प्राधिकरणले सुधार गर्न आवश्यक रहेको संघले बताएको छ। हरेक उडान पूर्वप्राधिकरणलाई १० अमेरिकी डलर मौसम जानकारीका लागि दिने गरिएको छ। उडान भरेको विमानस्थल र अवतरण गर्ने विमानस्थलको मौसम जानकारी हुन्छ तर, बीचका भागको मौसम कस्तो छ भन्ने स्पष्ट जानकारी पाउन नसकेको संघका महासचिव एवं फिस्टेल एयरका प्रबन्ध निर्देशक मनोज कार्कीले बताए। ‘अहिले मौसम विभागले हावाको गति, पानी परे÷नपरेको लगायतका सूचना दिन्छ। तर, बादल लागेका कारण पहाडमा ठोक्किएर हुने दुर्घटना रोक्न बादल छ कि छैन, भन्ने सूचना पनि चाहिन्छ,’ कार्कीले भने। मौसम विभागले २१ हजार फिटभन्दा माथिको मौसम जानकारी दिन्छ जबकि आन्तरिक उडान भर्ने विमानहरू बढीमा १२ हजार फिटमा उडिरहेका हुन्छन् भन्दै कार्कीले प्राधिकरणले यतातिर ध्यान दिन जरुरी रहेको बताए। 

हवाई सुरक्षामा वायुसेवा सञ्चालकको चासो

नेपाल वायुसेवा सञ्चालक संघले हवाई उड्डयनको वर्तमान अवस्था, चुनौती र अवसरका बारेमा सरोकारवालाहरूसँग छलफल गरेको छ। 

हवाई दुर्घटना बढेका कारण नेपाली आकाश सुरक्षित छ कि छैन, सञ्चालकहरूले के सुधार गर्नुपर्ने, नियामक निकायले हवाई सुरक्षामा कस्तो नीति अपनाउने भन्ने सम्बन्धमा छलफल भएको छ। करिब एक वर्षको बीचमा चार हेलिकप्टर र एक एटीआर–७२ दुर्घटनामा परेका छन्।

कार्यक्रममा नेपाल वायुसेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामे˘वर थापाले विमानको अवस्था, नियामक निकायको नीति एवं मानव व्यवहार सबै नै विमान दुर्घटनाको कारक हुने बताए। ‘कहिले वायुसेवा सञ्चालकको त्रुटिले त कहिले मानवीय कारण भने कहिले नियामकको नीति नियमका कारण दबाबमा आएर पनि दुर्घटना भएका छन्,’ उनले भने। कार्यक्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक यज्ञप्रसाद गौतमले नेपालमा हवाई उद्योग विस्तार हुनुमा निजी वायुसेवा सञ्चालकहरूको योगदान रहेको भन्दै उड्डयनमा प्रविधिसँगै प्राविधिज्ञ पनि भिœयाउन जरुरी रहेको बताए। प्राधिकरणका पूर्वमहानिर्देशक राजेशराज दलीले नेपाली आकाश सुरक्षित रहेको भन्दै उडानलाई विश्वसनीय बनाउनका लागि जमिनदेखि आकाशसम्म प्रविधिको विस्तार गर्न जरुरी रहेको बताए। यस्तै, प्राधिकरणका पूर्वनिमित्त महानिर्देशक मोहन अधिकारीले प्राधिकरणले सार्वजनिक गर्ने गरेको हवाई सुरक्षाको प्रतिवेदन कागजमा मात्र सुधार भएको तर व्यवहारमा नभएको बताएका छन्। प्राधिकरणलाई नियामक र सेवा प्रदायक नछुट्ट्याएसम्म हवाई सुरक्षामा वास्तविक सुधार नहुने भनाइ अधिकारीको भनाइ छ। कार्यक्रममा फिस्टेल एयरका निर्देशक सुमन पाण्डेले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन उड्डयन क्षेत्रको विकास पनि एउटा कडी हुने बताए। बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले कम्पनीले हवाई सुरक्षामा गरेका आन्तरिक कार्यको बारेमा जानकारी दिएका थिए। 

प्राधिकरणका पूर्वकर्मचारी नारायण डंगोलले उडान तालिकासम्बन्धी प्रक्रिया फेरिनुपर्ने बताउँदै हवाई सुरक्षाका लागि अनुशासन र सामूहिक कार्यमा सुधार गर्न आवश्यक रहेको औंल्याए। प्राधिकरणका पूर्वमहानिर्देशक वीरेन्द्र देउजाले नेपालको वार्षिक आन्तरिक उडानको वृद्धि करिब १० प्रतिशत र बाह्य उडानको वृद्धि ७ प्रतिशत रहेको तथ्यांक प्रस्तुत गरे। हवाई क्षेत्रमा प्रविधि हस्तान्तरण भइरहेको बताउँदै देउजाले हवाई सुरक्षा बढाउनका लागि विमानस्थलको क्षमता वृद्धि एवं स्तरोन्नतिमा ध्यान दिन जरुरी रहेको बताए। कार्यक्रममा निजी क्षेत्र नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिले हवाई क्षेत्रको विकासमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.