केराको जुस र हस्तकला
केरा विश्वको प्रायः सबै ठाउँमा पाइने फल हो। पोसिलो फलको रूपमा लिइने यसलाई व्रतमा फलारदेखि मन्दिरमा पर्सादसम्ममा प्रयोग गरिन्छ। बिरामी भेट्न जाँदा वा पाहुना, खाली हातलाई पूरा गराउने फल अहिले अझै बहुउपयोगी बनेको छ। यसको फल मात्रै नभई पात र बोटकै प्रयोग गरेर हस्तकला सामग्री बनाउन थालिएको छ। फललाई पनि वैकल्पिक खाद्य स्रोतका रूपमा विभिन्न परिकार बनाई आम्दानीका रूपमा विभिन्न जिल्लामा प्रयोग गरिन्छ।
अन्य फलफूलको तुलनामा केराको जीवनचक्र अत्यन्त छोटो हुन्छ। एउटा बोटबाट एक पटक मात्रै फल लिन सकिन्छ। समय पुगेपछि केराको घारी काटिन्छ। सोही बोटका पात र थाम (मुख्य भाग) पनि क्रमशः सुक्दै जान्छन्। अनि, माटोमा मिल्नुको विकल्प रहँदैन। यसै कारण केरालाई एक फले पनि भनिन्छ।
सजावटका सामान
कालीगण्डकी गाउँपालिकाले केरा खेती विस्तारको योजनासँगै केरा काटेपछि उपयोगविहीन बन्ने यस्ता थामबाट नमुना कार्यको सुरुवात गरेको छ। घरमा सजाउने सजावटका सामग्रीसहित पेयपदार्थ (जुस), फाइबर प्रशोधन, खादा, गलैंचा र आगामी दिनमा कपडा बनाउने लक्ष्यसहित विभिन्न प्रकारका हस्तकलाका सामग्री उत्पादन गर्दै आएको छ। ‘एक घर एक रोजगार’ भन्ने योजना अनुरूप गाउँपालिकाले केरा खेती विस्तारसँगै थामबाट सामग्री बनाउने तालिम उपलब्ध गराएको गाउँपालिका अध्यक्ष खिम थापाले जानकारी दिए।
‘खाली जग्गा जमिनको उपयोग गर्दै केरा खेती, पातबाट दुनाटपरी, थामबाट झोला, मोडा, चप्पल, चकटी, ढकिया, डोरम्याटलगायत विभिन्न सामग्रीसहित व्यावसायिक बनाउने गरी तालिम दिएका छौं,’ अध्यक्ष थापाले भने, ‘स्वरोजगार बनाउँदै पालिकावासीलाई आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य हो।’ नवप्रवद्र्धन साझेदारी कोषअन्तर्गत दुई करोडको बजेटमा १ करोड ४० लाख रुपैयाँ गण्डकी प्रदेश सरकारको र ६० लाख स्थानीय पालिकाको साझेदारीका हुन्।
प्रमुख प्रशासकीय अधिकृत पाण्डेका अनुसार नवप्रवद्र्धन साझेदारी कोषअन्तर्गत गाउँपालिकाका तीन विद्यालय र ९० जनालाई जी–९ र झापाली मालभोग जातका २० हजार केराका बिरुवा उपलब्ध गराइएको छ। प्रत्यक्ष–अप्रत्यक्ष गरी झन्डै ९ सयभन्दा बढीलाई रोजगार दिनेगरी योजना अगाडि बढेको छ।
केराका थाम, बोक्रा, बुङ्गालगायतबाट बनाइएका हस्तकलाका सामग्री।
केरा रोपेपछि फल खान पाइन्छ। त्यसपछि खेर जाने थामबाट फाइबर प्रशोधन गरी हस्तकलाका उत्कृष्ट सामग्री बनाइएका छन्। गलैंचा बनाई बैठक कोठासम्म सजिएका छन्। गाउँपालिकाअन्तर्गत ७ वटै वडाका इच्छुक व्यक्ति छनोट गरी ४५ दिनको तालिम दिइएको हो। पहिलो चरणमा ३० जना सहभागी थिए। तालिमका सहभागीले बनाएका सामान्य चकटीदेखि खादा र गलैंचासम्मका सामग्री राम्रो भएकाले अब गाउँपालिकाले अतिथि स्वागतमा यही उत्पादित वस्तुको उपयोग गर्ने जनाएको छ।
पालिकामा खाली रहेका जग्गाजमिनसँगै पाखाबारीमा केराका बिरुवा रोपिएका छन्। यसले स्थानीयवासीमा हौसला बढाएकोे छ। यत्रतत्र फालिने गरेका केराका थामको उपयोग गरेर यतिका आकर्षक सामग्री बनाउनुका साथै आयआर्जनसमेत गर्न पाइने भएकोमा स्थानीयले चासो र रुचि देखाएका गाउँपालिकाका उपाध्यक्ष सावित्रा कोइरालाको भनाइ छ। गण्डकी प्रदेश सरकार र कालीगण्डकी गाउँपालिकाबीच २०७९ पुसमा सम्झौता भई चैतदेखि तालिम प्रशिक्षण सुरु भएको थियो। प्रशिक्षण र परामर्शको काम नेपाल हस्तकला महासंघले गरेको हो।
थामबाट जुस
केराको थामबाट बनेको जुस खानयोग्य हुन्छ। यो पनि पालिकाले गरेको नौलो काम हो। जुसको नमुना ल्याब परीक्षण गरेर खानयोग्य रहेको पाइएको प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेले जानकारी दिए। ल्याब परीक्षणबाट खान नहुने पदार्थ नभेटिएको उनको भनाइ छ। केराको जुस मिर्गौला, सुगर, रक्तचाप, मुटुलगायतका रोगीका लागि फाइदाजनक देखिएको छ। पालिकाले यसै आर्थिक वर्षको पहिलो महिनादेखि यहाँ उत्पादित वस्तुलाई बजारमा ल्याउने जनाएको छ।
२०७५ सालमा आपूm कास्कीमा कार्यरत रहँदा हालका प्रमुख सचिवसँग लमजुङको भुलभुलेमा गएका बेला केरा खाने क्रममा यसका उपयोगिताका बारेका केही अवधारणा त्यतिबेला जागृत भएको स्मरण गराउँछन् गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डे। ‘जब यस पालिकामा आएँ, गण्डकी प्रदेश सरकारले नवप्रवर्तनको कार्यका लागि प्रस्ताव पेस गर्न सूचना आह्वान गर्यो। सो कार्यका बारेमा गाउँपालिकाका अध्यक्ष खिम थापालगायतको टिमलाई जानकारी गराएँ। त्यसपश्चात् पालिकाले यो योजनालाई अघि बढायो। सफलता पनि दिलायो,’ उनले भने, ‘मेरो भिजन, अध्यक्षको प्रत्यक्ष मार्गदर्शन, सुझाव एवं प्रेरणा र उपाध्यक्षको सक्रियताले सहज बनायो।’
- केराको जुस र हस्तकलाबाट राम्रो आम्दानी
- थामबाटै घर सजावटका विभिन्न सामग्री निर्माण
- केराको थामबाट बनेको जुस खानयोग्य
- टीकापुरमा बनाइन्छ ४२ बढी परिकार
गण्डकी प्रदेश सरकारको १ करोड ४० लाख र गाउँपालिकाको ६० लाख लगानी गर्ने गरी कार्यक्रममा सम्झौता भए पनि हाल करिब ५३ लाख रुपैयाँमा परियोजना सम्पन्न भएको पालिकाले जनाएको छ। गाउँपालिकाले यस कार्यक्रमलाई आगामी आर्थिक वर्षमा समेत निरन्तरता दिने गरी थप सय जनालाई रोजगारी दिन चालू आ.व. २०८०/०८१ का लागि बजेट विनियोजन गरेको छ। नवीन कार्यको सोचलाई कार्यमा सुरुवात गर्न गाह्रो हुने भए पनि इमानदार प्रयास भएमा सफलता हासिल गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत पाण्डेको भनाइ छ। उनी थप्छन्, ‘प्रशासक र राजनीतिक
नेतृत्वबीच उचित समन्वय भएमा हरेक स्थानीय तहले उदाहरणीय कार्य गर्न सक्छन्।’
गण्डकी प्रदेशअन्तर्गतका स्थानीय पालिकाहरूसँग प्रस्ताव माग भएकोमा कालीगण्डकी गाउँपालिकाले पेस गरेको स्थानीय कच्चा पदार्थको व्यावसायिक उयोगसम्बन्धी प्रस्ताव सर्वोत्कृष्ट हुँदै छनोट भएको हो। कालीगण्डकी गाउँपालिका—४ स्थित करेन्डाँडा कृषि उद्योग हबको रूपमा चिनिएको छ।
४२ बढी परिकार
टीकापुरका कृषिविज्ञ कालु हमालले झन्डै १४ वर्षअघि खोलेको बनाना रिसोर्टले केरालाई वैकल्पिक खाद्य स्रोतका रूपमा विकास गरेको हो। तत्कालीन राजा महेन्द्रले २०२८ सालदेखि बसाएको टीकापुरको परिचय केराका परिकार पाइने गन्तव्यका रूपमा विकसित भइरहेको छ। केराकै बोटमुनि बसेर केराकै परिकारको स्वाद लिन पाइने गरी हमालले सुरु गरेको बनाना रेस्टुरेन्टमा केराका ४२ भन्दा बढी परिकारहरू पाइन्छन्।
केराबाट निम्की, चुकाउनी, अचार, तरकारी, फिंगर चिप्स, पकौडा, मम, खिर, परौठा, रोटी, स्विट बल, चिप्स आदिदेखि बनाना जुस हुँदै ब्रान्डी र वाइनसम्म बन्छन्। ‘केराकै बारीमा बसेर केराका विभिन्न परिकार खान पाउँदा हामी पटक–पटक यहाँ आउने गरेका छौं’, रेस्टुरेन्टमा भेटिएका सुर्खेतका वीरेन्द्र खत्रीले भने, ‘सुरुसुरुमा केराको परिकार हो भनेर चाख्ने गरेको भए पनि अहिले हामीले खानाकै रूपमा लिने गरेका छौं।’
सुरुसुरुमा स्वाद लिने हिसाबले चाख्ने गरेका ग्राहकहरू अहिले खानाकै रूपमा केराका परिकार खाने गरेको रेन्टुरेन्टका सञ्चालक कालु हमाल बताउँछन्। ‘सुरुवाती दिनमा स्वादका लागि केराका परिकार चाख्ने गरेका ग्राहकहरू अहिले खानाकै रूपमा यसलाई प्रयोग गर्न थालेका छन्’, कृषिविज्ञ हमालले भने, ‘केराबाटै चार प्रकारका रोटी, चार प्रकारका मम, चार किसिमका अचार, खिर, जुस, वाइन, ब्रान्डीसमेत बनाउन थालेपछि ग्राहकहरूले केराका परिकारलाई खानाको रूपमा लिइरहेका छन्।’
रामपुर कृषि क्याम्पसबाट २०३९ सालमा कृषि विज्ञानमा स्नातक गरेका हमाल नेपालमा उपलब्ध फलफूलहरूलाई खाद्यका रूपमा प्रयोग गर्न सके खाद्य संकट कहिल्यै नआउने दाबी गर्छन्। ‘हामी कहाँ केरा छ, हामीले केराको परिकार बनायौं, कतै आँप होला आँपका परिकार, मेवाका परिकार, सुन्तलाकै परिकारमात्रै बनाउने हो भने पनि खाद्य संकट हुँदैन’ हमालले भने, ‘एउटा फलबाट अनेक परिकार बनाउँदा उपभोक्ताले रुचिले खाने गरेका छन्।’
बनाना रेस्टुरेन्ट एग्रो टुरिजमको नमुना हो। हमालले टीकापुरमा बनाना रेस्टुरेन्ट, रानीमहल रिसोर्ट र बनाना रिसोर्ट सञ्चालन गर्दै आएका छन्। तीनै ठाउँमा केराका परिकार पाइन्छन्। हमालले नै देशका विभिन्न ठाउँका व्यवसायीहरूलाई केराका परिकार बनाउने तालिमसमेत दिँदै आएका छन्। सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय टीकापुरका डिन प्रा.डा. लालप्रसाद अम्गार्इं केरालाई खाद्य पदार्थकै रूपमा प्रयोग गर्न सकिने बताउँछन्।
‘केराका परिकार उच्च रक्तचाप, मधुमेह, युरिक एसिड भएकाहरूलाई समेत उपयुक्त खाना हो’, प्रा.डा. अम्गाईंले भने, ‘प्रायः नेपालका सबै क्षेत्रमा उत्पादन हुने केराबाट पर्याप्त मात्रामा कार्बोहाइडे«ट, प्रोटिन, क्याल्सियम, फस्फोरस आदि भिटामिनहरू पाइने हुनाले पनि खाद्य सुरक्षाका लागि यो उत्तम विकल्प हुन सक्छ।’ पाकेको केराको ७१ प्रतिशत भाग खानयोग्य हुन्छ। ‘केराको खानयोग्य सय ग्राममा कार्बोहाइड्रेट २७.२ ग्राम, प्रोटिन १.२० ग्राम, क्याल्सियम १७ मिलिग्राम, फस्फोरस ३६ मिलिग्राम, चिल्लो पदार्थ ०.३० ग्राम, भिटामिन सी ७ मिलिग्राम, फाइबर ०.४० ग्राम, क्यालोरी ११६ मिलिग्राम पाइन्छ’, प्रा.डा. अम्गाईंले भने, ‘केरामा फलाम ०.३६ मिलिग्राम, नायसिन ०.५० मिलिग्राम, थायमिन ०.०५ मिलिग्राम, राइबोफ्लोबिन ०.०८ मिलिग्राम र खनिज तत्त्व ०.८० पाइन्छ।’
कैलालीमा केरा खेती हरेक वर्ष वृद्धि हुँदै गएको छ। राष्ट्रिय गौरबको रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाको कृषि कार्यक्रमबाट केरा खेती विस्तारका लागि अनुदानलगायत सुविधा उपलब्ध हुँदा केरा खेती विस्तार भइरहेको छ। कृषि ज्ञान केन्द्र कैलालीका कार्यक्रम अधिकृत श्याम जोशीले हरेक वर्ष कैलालीमा केरा खेती विस्तार हुँदै गइरहेको बताए। ‘कैलालीका सबै ठाउँमा गरी व्यावसायिक रूपमा ८ सय ७५ हेक्टर क्षेत्रफलमा केरा खेती हुँदै आएको छ’ कार्यक्रम अधिकृत जोशीले भने, ‘प्रत्येक वर्ष वृद्धि हुँदै गइरहेको खेतीले यस वर्ष २६ हजार ७ सय ७३ मेट्रिकटन केरा उत्पादन भएको छ।’
केरा खेतीप्रतिको कृषकको उत्साह, बर्सेनि बढ्दै गएको केरा खेती र केराका परिकारप्रति उपभोक्ताको मोहका कारण केरालाई बहुउपयोगी फलका रूपमा लिन सकिन्छ। ४२ बढी परिकार बनाउन सकिने केरालाई खाद्य सुरक्षाको वैकल्पिक स्रोतका रूपमा विकास गर्न सके खाद्य सुरक्षामा टेवा पुग्ने बताइन्छ।
उपयोग बढेसँगै उत्पादन बढ्यो
केरा फलको रूपमा खाइन्छ। यसको बुङ्गा, बोक्रा र बोट सबै काम लाग्छन्। खान र लाउनका लागि पनि। ‘मेला महोत्सवको स्टलमध्ये सबैभन्दा बढी भीड केराको परिकार बन्ने ठाउँमा हुन्छ’, केरा उत्पादक कृषक घननाथ महतोले भने, ‘केराको उपयोग बढ्दै जाँदा उत्पादन पनि बढ्न थालेको छ।’
चितवनमा करिब दुई हजार हेक्टरभन्दा बढीमा केरा खेती गरिन्छ। जिल्लामा उत्पादित केरामात्रै यहाँ बिक्री हुन्छ। केराबाट बन्ने विभिन्न सामग्री भने यहाँ उत्पादन हुन सकेको छैन। मेसिनको अभावमा ती सामग्री उत्पादन हुन नसकेका हुन्। केरा उत्पादन संघका पूर्व अध्यक्ष विष्णुहरि पन्तले केराबाट अन्य उत्पादन हुने विषयले कृषक अझै उत्साहित भएका बताए। ‘अब केराको कुनै चिज पनि खेर नजाने भएपछि कृषक खुसी भएका छन्’, उनले भने, ‘यसका लागि कृषकलाई मेसिन औजार उपलब्ध नहुँदा खेर गइरहेका छन्।’
फलको माग बढी भएकाले अहिले केराको फलको माग पुर्याउनै सकिएको छैन। फलको रूपमा मात्रै प्रयोग हुने केराको अहिले फरक तरिकाबाट स्वाद लिने प्रचलन बढेको छ। केराको मम, चिप्स र बुङ्गाको अचार धेरैले मन पराउँछन्। गर्मीको समयमा लस्सी मन पराउने पनि बढी हुन्छन्। चितवनमा केराको फलबाहेकका अन्य उत्पादन भने अहिलेसम्म हुन सकेको छैन।
केराको पकेट क्षेत्र भए पनि चितवनमा केराको मात्रै परिकार बनाउने रेस्टुरेन्ट छैन। केराको परिकार बिक्री गर्न ६ वर्षअघि भरतपुरको आस्था चोकमा खुलेको चितवन बनाना क्याफे बन्द भयो। ‘केराको लागि अलग्गै रेस्टुरेन्ट खोलेका थियांै। कोरोनाको कहरले बन्द गर्नुपर्यो। तर यसको परिकार उपभोक्ताले मीठो मानेर खान्छन्’, भरतपुरका कृषक यज्ञप्रसाद सुवेदीले भने’, ‘केराको बहुआयामिक उत्पादन कृषकले चाहेर मात्रै हँुदैन। राज्यले व्यवस्था गरेर आम्दानी बढाउन सके कृषकको यस खेतीतर्फ झन आकर्षण बढ्छ।’
केराको थामबाट रेसा निकालेर कपडा बनाइन्छ। थामबाट निकालेको धागोबाट हस्तकला सामग्री उत्पादन हुन्छ। केराको धामबाट नेपाली कागज पनि उत्पादन हुन्छ। धागो बनाएर पर्स, झोला, पर्दा, टेबल म्याट, चिया म्याट, पेन बक्स, टिस्यु पेपर बक्स बनाउन सकिन्छ।
भवानी अधिकारी/स्याङ्जा, अनिल ढकाल/चितवन, परमानन्द पाण्डे/टीकापुर