अब लेखक आफैं प्रकाशक!

अब लेखक आफैं प्रकाशक!

स्व–प्रकाशित पुस्तकहरूको अवस्थामा निरन्तर विकास भइरहेको छ। केही स्व–प्रकाशित कृतिले ठूलो सफलता प्राप्त गरे, बेस्टसेलर सूचीमा पुगेका छन्।

एकजना अमेरिकन सेल्फ पब्लिस अथर्स डिजाइनर छिन्। उनको नाम हो, मेन्डी लिन। उनले प्रायः हरेक महिना एक–दुई वटा भिडियो अपलोड गरेकै हुन्छिन्, सेल्फ पब्लिस अथर्सलाई काम लाग्ने कुराका। उनी आफैं प्रकाशक पनि हुन्। कहिले आफ्नै पुस्तकको कभरको रङ फेर्छिन् र रिपब्लिस गर्छिन् त कहिले आफ्नो नामको पछाडि कुनै उपमा थपेर नयाँ कभर बनाउँछिन् र त्यही कन्टेन्ट त्यही शीर्षकमा छाप्छिन्, फरक स्वाद र फरक रूपमा। जस्तो बजारमा पाइन्छन् नि विभिन्न रूप, आकार, प्रकार, स्वादका समान, त्यस्तै। भन्छिन्, ‘नबिकेको पुस्तक फरक स्वादमा उति नै बिकेको छ।’

भर्खरै अमेरिकन साथी सान्ड्रा रास्ट्रिरोलाले सेल्फ पब्लिस गरिन् आफ्नो पुस्तक ‘मेकिङ फ्रेन्ड्स विथ मोनोस्टर’। जुन पैसा तिरेर विज्ञापन गरिने ‘पब्लिसर विक्ली’ पत्रिकाको ‘बुक लाइफ’ पेजमा ‘इडिटर्स पिक’ हुन सफल भयो। उनले आफ्नै स्थानीय ठाउँ क्यालिफोर्नियाका पुस्तक पसलमा गएर बुक साइनिङ गरिन्, मिडिया अप्रोच आफैं गरिन्। उनी भन्छिन्, ‘सोचेभन्दा बढी कपी गइसक्यो। हरेक दिन जम्मा हुने रोयल्टी म आफंै हेर्छु।’ उनी सन्तुष्टिको हाँसो फैलाउँछिन्।

अमेरिकाको वा अन्तर्राष्ट्रिय सन्दर्भमा आफ्नो पुस्तकको प्रकाशन आफैं गर्नेहरूको संख्या बढ्दो छ। धेरै लेखक आफैं प्रकाशक हुन थालेका छन्। जसलाई हामी स्वतन्त्र (सेल्फ पब्लिस) लेखक भन्छौं। अंग्रेजीमा ‘इन्डी अथर्स’ वा ‘इन्डिपेन्डेन्ट अथर्स’ पनि भनिन्छ। ‘इन्डी अथर्स’ भन्नाले कमर्सियल अर्थात् व्यापारिक प्रयोजनका लागि स्थापित भएका ठूला नाम चलेका प्रकाशन गृहहरूबाट पुस्तक छपाउने नभएर, आफ्नै लगानीमा कुनै साना तथा मझौला प्रकाशन गृह वा सेल्फ पब्लिस प्लेटफर्ममार्फत पुस्तकलाई बजारमा ल्याउने लेखक भन्ने बुझिन्छ।

आजभोलि लेखक आफैंले ‘प्रिन्ट अन डिमान्ड’ (अर्थात् पाठक वा क्रेताको अनलाइन अर्डर आएपछि छापिने)मा पुस्तकहरू सेल्फ पब्लिस र बिक्री गर्छन्। यसो गर्दा लेखकले कुनै प्रकाशकको ढोका चहार्नु पनि पर्दैन। लेखकले आफ्ना पुस्तकलाई अन्तर्राष्ट्रिय बजारमा सजिलै र सीधै उपलब्ध गराउन सक्छन्।

भलै ती पुस्तक भौतिक रूपमा विभिन्न पुस्तक पसलमा उपलब्ध हुन नसक्लान् वा हुँदैनन्। ‘इन्डी’ अथर्सका लागि त्यस्ता ‘सेल्फ पब्लिस प्लेटफर्म’हरू अनगिन्ती छन्। जस्तो इन्ग्राम स्पार्क, अमेजन केडीपी, लुलु प्रेस र डिजिटल टु ड्राफ्ट।

यस्ता प्लेटफर्मबाट प्रकाशित पुस्तकहरू सीधै उपलब्ध हुन्छन्, अमेजन, बान्र्स एन्ड नोबल, बुक्स ए मिलियन, ई–बे, वाल मार्ट आदिमा। पुस्तक ‘गुगल प्ले’मा पनि ‘फ्रि अफ कस्ट’ उपलब्ध गराउन सकिन्छ र सकिन्छ हार्डकभर, अडियो, पेपरब्याक र किन्डल फम्र्याटमा पनि।
‘इन्डी’ लेखकहरूको पुस्तक डिजाइन, सम्पादन र प्रकाशनसम्म सहयोग पु¥याउन थुप्रै प्रकाशन गृहहरू पनि खुलेका छन्, जस्तो बुक बेबी, फ्रुसन

​​​​​​​पब्लिसिङ, प्यासिफिक एन्ड कोर्ट आदि। तिनीहरूको तौरतरिका ठ्याक्कै परम्परागत शैलीका प्रकाशन गृहको जस्तै हुन्छ, तर लेखकसँग मोटो रकम असुलेर। सामथ्र्य हुने लेखकले त्यो पनि गर्छन्। सामथ्र्य नहुनेले तिनै ‘सेल्फ पब्लिस प्लेटफर्महरू’ प्रयोग गर्छन्।

पुस्तकको फम्र्याटिङ र डिजाइन पनि आफैं गर्छन्, युट्युब भिडियो हेरेर वा विभिन्न ¥यापको प्रयोग गरेर, जस्तो क्यानभास।

अन्तर्राष्ट्रिय सन्दर्भमा परम्परागत प्रकाशन गृहबाट पुस्तक प्रकाशन गर्न सजिलो छैन। त्यस्ता प्रकाशन गृहसँग एक त लेखकको सीधै पहुँच हुँदैन नेपालको जस्तो। लेखक लिटेररी एजेन्ट (साहित्यिक लेखनको प्रतिनिधित्व गर्ने व्यक्ति जसलाई प्रकाशन गृहले तलब दिएर राखेको हुन्छ वा निश्चित प्रतिशत आय तोकिदिएको हुन्छ। यदि उसले प्रतिनिधित्व गरेको पुस्तक छापियो भने)को मार्फत जानुपर्ने हुन्छ। 

लिटेररी एजेन्ट सहज हुँदैनन्। आआफ्नो विधामा नाम चलेको लेखकलाई नै खोजिरहेका हुन्छन्।

कसरी एजेन्ट छान्ने ? ती एजेन्टले तपाईंको पुस्तकको प्रतिनिधित्व गर्छन् या गर्दैनन् ? भन्ने थाहा पाउन चैं एउटा हरेक वर्ष निस्किने ‘राइटर्स मार्केट’ नामक पुस्तक हुन्छ, त्यसमा प्रकाशन गृह र लिटेररी एजेन्टको नाम र सम्पर्क ठेगाना हुन्छ। कोही इमेलबाट कुरा गर्न चाहन्छन्, कोही चिठीबाट। समय यति नै लाग्छ भन्ने थाहा हुँदैन। त्यही भएर छिटो छरितो र आफूले भने जसरी गर्नलाई धेरै लेखक सेल्फ पब्लिस प्लेटफर्म खोज्छन्, जुन विगतको तुलनामा धेरै अगाडि छ।

अहिले सेल्फ पब्लिसको बजार ह्वात्तै बढेको छ। लेखकहरूलाई नै लक्षित गरेर प्रकाशित हुने पत्रिका ‘पब्लिसर विक्ली’मा जिम मिलेट आफ्नो लेख ‘सर्भे फाइन्डस् सेल्फ पब्लिस्ड अथर्स मेकिङ गेइन्स’मा लेख्छन्– ‘सर्वेक्षणले यो स्पष्ट पार्छ कि स्वयं प्रकाशित लेखकहरूको औसत आम्दानीले २०२१ वर्षभित्र ५० प्रतिशतभन्दा माथि वृद्धि ग¥योे, यो परम्परागत प्रकाशकहरूमा रहेका लेखकहरूको भन्दा अधिक रकम हो (अप्रिल १७, २०२३)।

सेल्फ पब्लिस गर्दाका फाइदा धेरै छन्। हरेक कुरा आफ्नो नियन्त्रणमा हुनु। जस्तो, पुस्तकको विषय के हुने ? आवरण कस्तो हुने ? प्रकाशन कहिले गर्ने ? आदि। त्यसैगरी पुस्तकबाट आउने रोयल्टीको दैनन्दिन ‘अपडेट’ आफैंले हेर्न पाउने। ‘इन्डी अथर्स’हरूले त्यसमा जति आनन्द पाउँछन्, परम्परागत प्रकाशन गृहबाट पुस्तक प्रकाशित भएका लेखकहरूले त्यो पाउँदैनन्। भलै केही हदसम्म शंकाको सुविधा भने मिल्छ कि उनीहरूले परम्परागत प्रकाशन गृहबाट पुस्तक प्रकाशित गरेका हुन्। तर धेरै लेखकका लागि त्यो ठूलो कुरा हुन छोडेको छ।

‘इन्डी अथर्स’हरूको आफ्नै सञ्जाल हुन थालेको छ। वार्षिक सम्मेलन हुनेदेखि पुस्तकका छलफल हुनेसम्म र पुस्तकलाई पाठकमाझ कसरी पु¥याउने भन्ने बारेमा चर्चा हुन थालेको छ। ती पुस्तकहरूले परम्परागत प्रकाशन गृहबाट छापिएका पुस्तकले भन्दा राम्रो गरेका छन्। इन्डी अथर लेजली पेनेलोपको भर्खरै प्रकाशित अंग्रेजी पुस्तक ‘दि मोनोस्टर वी डिफाई’ एउटा बलियो उदाहरण हुन सक्छ।

आफ्नै उदाहरण दिन चाहन्छु। नेपालमा प्रकाशन भएका मेरा पुस्तकका प्रकाशकका आशयअनुसार मेरा पुस्तक एक कपी पनि बिकेका छैनन्। तर तिनै पुस्तकलाई मैले अन्तर्राष्ट्रिय बजारमा सेल्फ पब्लिस प्लेटफर्ममार्फत उपलब्ध गराउँदा मैले गएको एक वर्षमा झन्डै पाँच सय डलर रोयल्टी अर्थात् कम्तीमा नेपाली रकम ५० हजारसम्म बनाएछु। यदि त्यसो हो भने म किन परम्परागत पब्लिसर र लिटेररी एजेन्टको पछि लागौं ? आफैंले प्रकाशन गराएर पुस्तकको ‘प्रोमो’ गर्ने हो भने र यदि त्यो पुस्तक राम्रो छ भने त्यसको सम्पूर्ण नाफा लेखकलाई नै जान्छ।

सफलता हात लागिसकेका केही ‘इन्डी अथर्स’हरू भन्छन्– लेखकले ‘मार्केटिङ स्ट्याट्रेजी थाहा पाउनु प¥यो। ‘पब्लिस योर बुक’की कार्यकारी निर्देशक तिसेना ड्याभिस भन्छिन्, ‘लेखकहरू मिलेर एकअर्कालाई प्रोमो गर्ने काम गर्नु प¥यो।’ अहिले त सेल्फ पब्लिस लेखकहरूका लागि ‘इन्डिपेन्ड पब्लिसर बुक्स एसोसिएसन’ नै छ। ड्याभिस जोड दिन्छिन् पुस्तकको गुणस्तर राम्रो हुनुपर्नेमा, कभरको गुणात्मकता ध्यान दिनुपर्नेमा र सम्पादक क्षमतावान् हुनुपर्नेमा।

यसैगरी, उनी भन्छिन्– ‘नेटवर्किङ बनाउनु पर्छ, विद्यालय, विश्वविद्यालयसँग सम्बन्ध विस्तार गर्ने, पुस्तक पसलमा गएर, मिलेर बुक साइनिङ कार्यक्रम राख्ने, ‘न्युज लेटर’ निकाल्ने र आफ्ना पाठकलाई अपडेट गर्ने, अनलाइन मार्केटको सदुपयोग गर्ने, सोसल मिडियाको सिर्जनशील प्रयोग गर्ने आदि। ‘आफ्नो पुस्तकलाई ब्रान्ड बनाउनु सक्नु प¥यो’, उनको तर्क छ।

कमर्सियल प्रकाशनका लागि पुस्तक तयार हुन धेरै थोक चाहिन्छ। जस्तो– कथाको बनोट, पात्रको चित्रण, फाइन ट्युनिङ, भाषा, सम्पादन आदि। तर त्यही कुराले पुस्तक सफल हुन्छ भन्ने कुराको ग्यारेन्टी भने गर्न सक्दैन।

यदि तपाईं लेखनमा निश्चिन्त हुनुहुन्छ र तपाईंको प्यासन लेखन नै हो भने लेखेर २÷४ जना प्रोफेसनल पाठकलाई पढ्न र इमानदार भएर प्रतिक्रिया दिन भन्नुहोस् र उनीहरूको प्रतिक्रिया सुनेर वा पढेर त्यहीअनुसार काम गर्नुहोस्। त्यस्ता पाठकलाई अमेरिकामा ‘बेटा रिडर’ भन्छन् अर्थात् पढेर प्रतिक्रिया दिने पाठक।

संसार ग्लोबलाइज्ड भइसकेको छ। पाठकका स्वादहरू फरक छन्। यस्तै खाले लेखनले नै पाठकलाई तान्छ भन्ने छैन। अभ्यास हो, लेखन। गर्दै जाने हो। त्यसो भनेर तपाईंले सेल्फ पब्लिस प्लेटफर्मको दुरुपयोग गर्ने पनि होइन, जस्तो पायो त्यस्तै पुस्तक प्रकाशन गरेर। त्यसका लागि राम्रो सम्पादन र प्रुफ रिडिङ भने अवश्य हुनुपर्छ।

अंग्रेजीमा लेख्नुहुन्छ भने र अन्तर्राष्ट्रिय बजारमा प्रकाशन गर्नुहुन्छ भने अन्तर्राष्ट्रिय तहमै व्यावसायिक सम्पादकहरू पाइन्छन्। उनीहरूको फि (लिने रकम) हेरीहेरी हुन्छ। विभिन्न वेबसाइटमा गएर तिनलाई भेट्न सकिन्छ, जस्तो ‘फस्र्ट एडिटिङ डट कम’, ‘रिडसी’, ‘इडिटोरिअल फ्रिल्यान्सर एसोसिएसन’ आदि। उनीहरूको रेट (दर) सही हुन्छ।

तपाईंले कसैलाई गुहार्नु पर्दैन। तपाईं आफंै मालिक बन्नुहुन्छ आफ्नो पुस्तक लेखन, प्रकाशन तथा प्रमोसनसम्मको। अनि भइएन त आफैं लेखक, आफैं प्रकाशक ! बजार अब नेपालभित्र मात्रै छैन। यसरी भनौं– बजार अब नेपाल बाहिर पनि प्रशस्तै छ। अहिले ‘इन्डी अथर्स’हरू बढ्दै गएका छन्। यस्तै हो भने बिस्तारै परम्परागत प्रकाशन गृहहरू धराशायी बन्दै जानेछन्। लेखकसँग पारदर्शी नहुने, लेखकसँगै उल्टै पैसा असुल्ने र नाम चलेका मात्र लेखक(व्यक्ति)लाई समाउने प्रकाशन गृहहरू विस्तारै विलय नै हुन सक्छन् भन्दा अत्युक्ति नहोला।

भोलि तपाईंको ‘सेल्फ पब्लिस’ पुस्तकले पाठकको मन समात्यो भने परम्परागत प्रकाशन गृहहरू तपाईंलाई लाखौं डलरमा किन्न आउनेछन्। हिजो ती नाम चलेका लेखकहरू सेल्फ पब्लिस लेखक नै थिए। जस्तो, इड्गार अलान पो, चाल्र्स डिकेन्स, मार्क ट्विन, जेन आस्टिन। अझ भनौं– ‘फिफ्टी सेड्स अफ ग्रे’की लेखिका इ.एल. जेम्स पनि सेल्फ पब्लिस नै थिइन्। जसको पुस्तक बाहिर आएपछि लाखौं कपी बिक्री भयो। पछि परम्परागत प्रकाशन गृहले उनलाई ठूलो रकम दिएर आफ्नो प्रकाशनबाट छाप्यो।

भर्खरै इन्डी अथर्समध्ये एक क्रिस्टिन हेनबर्गको अंग्रेजी गैरआख्यान ‘बाउन्डलेस: एन अबोर्सन डक्टर बिकम्स अ मदर’ले सेल्फ पब्लिस लेखकहरूका लागि बनेको प्लेटफर्म ‘बुक लाइफ’ अवार्ड जितेको छ। जुन पाँच हजार डलरको पुरस्कार हो। उक्त पुस्तकले दिने ज्ञान र आनन्द कुनै पुलित्जर पुरस्कारभन्दा कम छैन।

परम्परागत प्रकाशनबाट छापिएका पुस्तकका लेखक मात्र लेखक हुन् वा पुस्तक मात्र पुस्तक हुन् भन्ने भ्रमलाई आजैबाट चिरिदिऔं। त्यो एउटा परम्परागत प्रकाशन गृहले लादेको ‘हेजेमोनिक’ सोच हो। ‘सेल्फ पब्लिस अथर्स’को वृद्धि र सफलताले त्यो भ्रमलाई चिर्दिसकेको छ। एक दिन परम्परागत प्रकाशन गृह ‘रेलिक अफ दि पास्ट’ हुन सक्छन्। किनकि तपाईं यस्तो समयमा हुनुहुन्छ कि तपाईं आफैं अब प्रकाशक हो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.