अधिकृतको अकुत सम्पत्ति, श्रीमतीविरुद्ध पनि मुद्दा
काठमाडौं : नापी कार्यालय, चाबहिलका नापी अधिकृतले अकुत सम्पत्ति आर्जन गरेका छन्। हाल नापी विभागमा कार्यरत अधिकृत राजु पुरीले १ करोडभन्दा बढी अबैध सम्पत्ति आर्जन गरेको भेटिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुरीविरुद्ध १ करोड ४ लाख ३ हजार विगो कायम गरी अकुत सम्पत्ति आर्जन मुद्दा दायर गरेको छ। विशेष आदलतमा दायर गरेको मुद्दामा पुरीकी श्रीमती श्रृजनालाई प्रतिवादी बनाइएको अख्तियारका प्रवक्ता एवं सहसचिव भोला दाहालले जानकारी दिए।
नापी अधिकृत पुरीले भ्रष्टाचार गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान गरिएको थियो। सार्वजनिक सेवा प्रवेश गरेको २०५२ पुस ९ गतेदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उनको सम्पत्तिको सम्बन्धमा अनुसन्धान भएको थियो।
पुरीको आयतर्फ पारिश्रमिक बचत, अन्य भत्ता, विभिन्न बैंक, वित्तीय संस्था तथा सहकारीबाट लिएको कर्जा, निजको नाममा रहेको जग्गा बिक्रीबापत प्राप्त आय, कृषि आय, घर तथा जग्गा बहाल आय, बिमा परिपक्व भइ प्राप्त रकम, ब्याज आय र जग्गाको मुआब्जासमेत कुल १ करोड २० लाख ७७ हजार आय देखिएको छ। व्ययतर्फ हेर्दा उनको तथा उनको श्रीमतीको नाममा जग्गा खरिद गर्दाको रकम र रजिष्ट्रेशन दस्तुर, घर निर्माण खर्च, अध्ययन खर्च, कर्जाको साँवा तथा ब्याज भुक्तानी, शेयर खरिद, लाभ कर, विदेश भ्रमण खर्च, बिमा प्रिमियम, सवारीसाधन खरिद र विद्युतीय सामान खरिदसमेत २ करोड २४ लाख ८१ हजार खर्च तथा लगानी गरेको देखिएको छ।
व्ययको तुलनामा उनले प्राप्त गरेको आय रकम १ करोड ४ लाख ३ हजार बराबरको खर्च तथा लगानी (सम्पत्ति) को वैधानिक स्रोत खुल्न आएको नदेखिएको अख्तियारले जनाएकोे छ। पुरीले सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गर्नुका साथै अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको देखिएको अख्तियारको दाबी छ। उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिमको जरिवाना तथा कैद सजायको मागदाबी गरिएको छ। साथै गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति जफत एवं असुल हुनसमेत मागदाबी लिइएको छ।
पुरीले सार्वजनिक पदमा रहँदा गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्ति श्रीमती श्रृजना गिरीको नाममा राखेको देखिएको अख्तियारले जनाएको छ। उनको नाममा रहेको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र श्रृजनालाईसमेत प्रतिवादी कायम गरी विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियार प्रवक्ता दाहालले बताए।