कर्णालीमा विस्तार हुँदै फलफूल खेती

कर्णालीमा विस्तार हुँदै फलफूल खेती

सुर्खेत : कर्णालीमा फलफूल खेतीलाई विस्तार गर्न थालिएको छ। यसका लागि प्रदेशका सुर्खेत बाहेकका नौ वटा जिल्ला छनौट गरिएको छ। प्रदेशका नौ वटा जिल्लामा रहेका २० वटा स्थानीय तहमा स्याउ, सुन्तला, ओखरजस्ता फलफूल खेतीको विस्तार थालिएको हो। 

किसानको आम्दानी वृद्धि गर्नका लागि नौ वटा जिल्लामा फलफूल खेती विस्तार गर्न लागिएको हो। यो कार्यक्रमबाट प्रदेशमा फलफूलको उत्पादन बढ्ने र यसले किसानको जीवनस्तरमा पनि सुधार आउने अपेक्षा गरिएको छ। 

पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनामार्फत फलफूल खेती विस्तार गर्न थालिएको हो। पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वयन इकाई सुर्खेतले कर्णालीका २० वटा पालिकामा यो कार्यक्रम सञ्चालन हुने जनाएको छ।

हाल कृषि विकास निर्देशनालयमा आयोजना कार्यान्वयन इकाई स्थापना गरिएको छ। आयोजनाका व्यवस्थापक एवं कृषि विकास निर्देशक चित्रबहादुर रोकायाले मुख्यगरी स्याउ, सुन्तला, ओखर, पिकानट्स र बदाम खेती विस्तार गरिने बताए। उनले भने,‘कर्णालीमा फलफूलको सम्भावना धेरै छ, अहिले पनि किसानले फलफूलबाटै जीविकोपार्जन गर्दै आएका छन्। तर अब हामीले यसलाई थप विस्तार र व्यवसायीक बनाउने छौं, प्रदेशका नौ वटा जिल्लामा अब फलफूल खेतीलाई विस्तार गर्दैछौं।’

अब प्रदेशमा स्याउ एकहजार ४५० हेक्टर, सुन्तला ३५० हेक्टर, ओखर ६ सय हेक्टर, पिकानट्स एकसय हेक्टर र बदाम खेतीलाई एकसय हेक्टर क्षेत्रफलमा विस्तार गरिनेछ।

उनका अनुसार साविक कर्णालीका जुम्ला, डोल्पा, हुम्ला, मुगु र कालिकोटमा स्याउ र ओखर खेती विस्तार हुनेछ। यस्तै दैलेख, जाजरकोट, सल्यान र रुकुमपश्चिममा भने सुन्तला, बदाम र पिकानट्स खेती विस्तार हुनेछ। काष्ठफल र फूलफूलको क्षेत्रमा मात्र केन्द्रीय परियोजना भएकोले कर्णालीमा यस खेतीको विस्तार, उत्पादन र बजारीकरण बढाउने लक्ष्य लिइएको छ। 

यस खेतीका लागि निजी, सहकारी र ठूला कम्पनीहरुले सहकार्य गर्नुपर्नेछ। खेतीका लागि कम्तीमा चार रोपनी जग्गा अनिवार्य हुनुपर्ने बाध्यकारी नियम छ। सहुलियतपूर्ण ऋण, आंशिक अनुदान, समपूरक अनुदानमार्फत फलफूल खेतीमा लगानी गर्न सकिने आयोजना व्यवस्थापक रोकायाले जानकारी दिए।

कर्णालीमा रुकुमपश्चिमको बाफीकोट, मुसीकोट, सानीभेरी, सल्यानको डोरचौर र शारदा, जाजरकोटको छेडागाट र जुनीचाँदे, दैलेखको आठवीस, नारायण र चामुण्डा विन्द्रासैनी, कालीकोटको शुभकालिका र नरहरिनाथ, जुम्लाको हिमा, सिंजा र कनकासुन्दरी, मुगुको खत्याड र सोरु, हुम्लाको ताँजाकोट र अदानचुली तथा डोल्पाको मुड्केचुलामा फलफूल खेती विस्तार हुनेछ। 

आयोजना व्यवस्थापक रोकायले इकाई कार्यालयबाट ५० लाख रुपैयाँ सम्मको लगानीको निर्णय गर्न सक्ने र त्योभन्दा माथि भए केन्द्रीय इकाईमा पठाइने बताए। यो कार्यक्रम सन् २०२९ सम्म लागू हुनेछ। सुरुको चरणम जानकारी, दोस्रो चरणमा उत्पादन र विस्तार तथा तेस्रो चरणमा बजारीकरण गरिनेछ। कर्णालीमा यो कार्यक्रम लाभदायक भएका कारण आयोजनाबाट थप क्षेत्रमा फलफूल खेतीको विस्तार हुने बताइएको छ।

यसबाट उत्पादन बढ्ने र किसानहरुको आम्दानी पनि वृद्धि गर्न सकिने विश्वास गरिएको व्यवस्थापक रोकायले बताए। कर्णालीका नौ जिल्लासहित देशका ३४ जिल्लाका एकसय वटा स्थानीय तहमा १० वटा फलफूलमा यो परियोजना केन्द्रित रहेको छ। परियोजनाले सुन्तला, जुनार, कागती, स्याउ, ओखर, किवी, एभोकाडो, पिनाकट, कागती र बदामको खेती विस्तार गर्नेछ। 

देशका ३४ जिल्लामा हुने यी फलफूलको खेती १० हजार हेक्टर क्षेत्रफलमा विस्तार हुने र त्यसमा ३० हजार किसानको सहभागिता गराइने छ। यो कार्यक्रम एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण तथा अनुदानबाट सञ्चालित हुनेछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.