तस्करीको सुन छानबिनबारे माओवादीभित्र विवाद
जनार्दन भन्छन्- छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक छैन
काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक नरहेको बताएका छन्। अर्का उपमहासचिव वर्षमान पुन 'अनन्त' ले सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गरिरहेका बेला शर्माको यस्तो अभिव्यक्ति आएको हो।
उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको पार्टी पदाधिकारी बैठकमा सुन तस्करी प्रकरण छानबिन गर्न प्रहरीको अपराध अनुसन्धानमा विज्ञ टोली, संसदीय समिति वा विशेष समिति बनाउन माग गरेका थिए।
पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन कमलादीस्थित प्रज्ञा भवन पुगेका शर्माले सुन तस्करी प्रकरणबारे छानबिन गर्न समिति आवश्यक नपरेको बताएका हुन्। उनले भने,'राजश्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेकै छ। किन चाहियो उच्चस्तरीय समिति ?'
शर्माले सुन प्रकरण अनुसन्धानमा सहयोग गर्न एमालेलाई आग्रह समेत गरे। उनले भने,' विपक्षीलाई आग्रह छ, छानबिन भइराखेको छ। छानबिन हुन दिनुहोस्। चित्त नबुझ्दा तपाईंले उठाएको विषय फेरि उठ्ला।'
शर्माको यस्तो अभिव्यक्तिले माओवादी केन्द्रभित्रै सुन तस्करीको छानबिन गर्ने विषयमा दुई धार देखिएको छ। प्रतिपक्ष दल नेकपा एमालेले उच्चस्तरी समितिको माग गर्दै आएपछि संसद बैठक समेत बस्न सकेको छैन।
पछिल्लो समय सत्तारुढ दलकै युवा सांसदहरुले पनि सुन तस्करीको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्दा राम्रो हुने बताएका छन्।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा संसदमा कुनै प्रतिक्रिया दिएका छैनन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास गरी बाहिरिएको १ क्वीन्टल सुन असार ३ गते राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो। सुन हङहङबाट क्याथे प्यासिफिकको कार्गोबाट ब्रेकसुको नाममा ल्याइएको अनुसन्धानबाट खुलेको छ।
सुन प्रकरणमा हालसम्म १८ जना पक्राउ परिसकेका छन्।
यो पनि पढ्नुहोस