सत्ता, सत्ता र फेरि पनि सत्ता
राजनीतिलाई निष्ठा, इमान, विचार, आदर्श र आस्थाका आधारमा अगाडि नबढाउँदासम्म देश पछाडि फर्किन रोकिन्न।
नेपालका प्रमुख राजनीतिक दल राजनीति भनेकै धोकाधडी, बेइमानी र कपटमात्रै हो भन्ने स्थापित गर्न कम्मर कसेर लागेको प्रतीत हुन्छ। त्यसैको एउटा कडी कोसी प्रदेशमा देखियो, जहाँ सभामुखलाई राजीनामा गर्न लगाइलगाई सत्ताको भर्याङ बनाइयो।
सर्वाेच्च अदालतले सभामुख सत्ताको अंकगणितको खेलमा सामेल हुनु हुँदैन भनेर नजिरै स्थापित गरिदियो। लगत्तै नैतिकता एकातिर पन्छाएर सत्तारूढ दलहरूले फेरि सभामुखलाई सत्ताको गोटी बनाए। कहिले प्रतिनिधिसभाका सभामुख दल विभाजनको मतियार बनेका छन्, बनाइएका छन्, कहिले राष्ट्रपति सरकारको रबर स्ट्याम्प बनाइएका छन्, बनेका छन्। दलहरूले केसम्म गरेका छैनन् ? न्यायालयलाई समेत राजनीतिक भर्ती केन्द्र बनाइरहेका छन्, फेरि बनाउँदैछन्। चुनाव एउटा दलसँग मिलेर लड्ने र सरकार अर्काे दलसँग मिलेर बनाउने। आजको भोलि नै सत्ता समीकरण फेर्ने। दलहरूका यस्ता हर्कतले नेपालको लोकतन्त्रको हदैसम्म तेजोबध गरिरहेकै छ।
२०६२/०६३ को जनआन्दोलन पनि लगभग आवधिक निर्वाचनमार्फत सत्ता र शक्ति हस्तान्तरण हुँदै आएको छ। प्रत्येक आम निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता भइरहेको छ। यसले नेपालको लोकतान्त्रिक अभ्यास सन्तोषजक रहेको पुष्टि गर्छ। संविधान लेखनपछि पनि सत्ता हस्तान्तरण शान्तिपूर्ण आमनिर्वाचनबाटै भइरहेको छ। संघीयताको कार्यान्वयनका चरणहरू अघि बढेका छन्। अराजनीतिक शक्ति लोकतन्त्रका लागि बाधक नदेखिनु सुखद मान्नुपर्छ। तर राजनीतिक शक्तिहरू नै देशको दिगोशान्ति र लोकतान्त्रिक लयका लागि बिब्ल्याँटो बाटो हिँडिरहेका छन्। सत्ताका लागि हत्या र हिंसा गर्नेको पनि मुद्दा फिर्ता गर्न मिल्ने कानुन बनाउनेदेखि राष्ट्रियताको संवेदनशील पक्षसँग जोडिएको नागरिकतालाई राजनीतिक ईख र औजार बनाउने अनि भ्रष्टाचारका गम्भीर मुद्दामा राजनीतिक नेतृत्वलाई पानीमाथिको ओभानो रहन दिनेजस्ता हर्कतले भने घोर निराशा उत्पन्न गराएको छ।
सरकारमा पुग्न जस्तोसुकै चालबाजीमात्रै होइन सौदाबाजी नै गर्न तयार भइरहेका दलहरूका गतिविधिले आम नागरिकमा निराशामात्रै उत्पन्न गराएको छैन, देशले लिनुपर्ने दिगोशान्ति र समृद्धिको यात्रा अवरुद्ध गरेको छ। त्यसैले अर्थतन्त्र जर्जर छ, किशोकिशोरीहरूको विदेश पलायन चुलिएको छ। उद्योगधन्दा कलकारखाना मुर्झाएका छन्। दलाली र तस्करी मौलाएको छ।
समग्रमा कानुनी राज कमजोर र अराजकता बलियो हुँदै गएको छ। ती सबैका नाइके र मुख्य योजनाकार भने सत्ता, सत्ता र फेरि पनि सत्ता नै खोजिरहने दल र तिनको नेतृत्व नै हुन्। आफैंले संघर्षले ल्याएको लोकतन्त्रलाई नै खतरा बनाउने आत्मघाती कदमबाट दलहरू पछाडि फर्किन जरुरी छ। राजनीतिलाई निष्ठा, इमान, विचार, आदर्श र आस्थाका आधारमा अगाडि नबढाउँदासम्म देश पछाडि फर्किन रोकिन्न।
यो पनि पढ्नुहोस