मटिहानीमा झन्डा फरर

३०५ वर्ष पुरानो राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानीले देशविदेशलाई संस्कृत शिक्षाको ज्योति फैलायो। साढे पाँच वर्ष पुरानो लक्ष्मीनारायण मठ र पिरबाबाको मजारले हिन्दु र मुस्लिमको साँस्कृतिक, धार्मिक र सामाजिक सम्बन्धलाई चट्टान झै बलियो बनाइदियो। त्रेता युगामा श्रीराम र सीताको विवाह हुँदा वेदी बनाउन माटो खनी लगेको मिथिलाका पावनभूमि हो, मटिहानी।
प्राचीन नेपालको झल्को दिने मटिहानीले मंगलबारदेखि अर्को नयाँ पहिचान पाएको छ, आफ्नो विगतको वैभवमा ११० फिट अग्लो नेपालको झन्डा फहराएर। मधेस प्रदेशको महोत्तरी जिल्लाको सीमावर्ती नगर मटिहानीमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले झन्डोतोलन गरेका थिए।
नेपाल–भारत सीमाको दशगजानजिकै अवस्थित मटिहानीका नगरनिवासीहरू सीमा रेखाका सच्चा रक्षक रहेकोे मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले बताए। ‘मधेस एवं मधेसी जनतामा रहेको त्यही राष्ट्रियता र राष्ट्र प्रेमले ओतप्रोत भावनाको प्रस्फुटन स्वरूप सर्वोच्च राष्ट्रिय झन्डाको आरोपण हो’, उनले भने, ‘हामीले फहराएको राष्ट्रिय झन्डाले सबै नेपालीको गौरव र मान बढाएको ठानेको छु।’
उपराष्ट्रपति यादवले मटिहानी नगरपालिकाले राष्ट्रियताको परिचय दिँदै ११० फिटको अग्लो नेपालको झन्डा जडान गरेकोमा खुसी व्यक्त गरे। उनले भने, ‘योे झन्डाको उद्घाटन मैले नै गर्न पाउँदा हर्षित भएको छु।’
नेपाल र नेपालीको पहिचान, सम्मान र राष्ट्रियतासँग जोडिएको राष्ट्रिय झन्डालाई अबका दिनमा हेरविचार गर्न मटिहानी नगरपालिका र मटिहानीवासीलाई उनले आग्रह गरे। उपराष्ट्रपति यादवसँग मटिहानी नगरवासीले मटिहानीका प्राचीन धार्मिक मठमन्दिर तथा देशको जेठो गुरुकूललाई विश्व सम्पदामा सूचीकृत गराउन माग राखेका छन्।
पौराणिक तथा ऐतिहासिक नगर मटिहानीमा मटिहानी नगरपालिकाको तर्फबाट मेयर हरिप्रसाद मण्डलले भव्य समारोहका बीच नागरिक अभिनन्दन गर्दै उनले विकास, निर्माण, शिक्षा, स्वास्थ्य, धार्मिक पर्यटन, प्राचीन मठमन्दिरको संरक्षणका लागि माग पत्र प्रस्तुत गरे।
‘मटिहानी नेपालको एउटा पौराणिक र ऐतिहासिक नगर हो,’ साँस्कृतिकविद् धु्रव राय भन्छन्, ‘राजर्षि जनक, माता जानकी र मर्यादा पुरुषोत्तम रामसँग मटिहानीको प्रत्यक्ष नाता जोडिएको छ।’ जनकपुरसँग मटिहानीको शताब्दीयौं साँस्कृतिक सम्बन्ध रहेको बताउँदै उनले थपे, ‘यसै ठाउँको पवित्र माटो उत्खनन गरेर नै सीतारामजीको शुभ विवाहमा यज्ञ वेदी निर्माण गरिएको थियो।’
मटिहानीमा रामानन्दी बैष्णव सम्प्रयायको मठ रहेको छ। १७५० सालतिर महान् तपस्वी तस्मैया बाबाले स्थापना मठको स्थापना गरेका थिए। त्यो मठको नाम लक्ष्मीनारायण मठ राखिएको थियो। त्यही मठको पूर्वतिर तस्मैयाबाबाको सम्झनामा पार्क बनाएर नेपालको राष्ट्रिय र झन्डा फहराइएको हो।
साँस्कृतिक विद् राय भन्छन्, ‘मठद्वारा नै १७७५ सालमा स्थापित राजकीय संस्कृत माध्यमिक विद्यालय (संस्कृत पाठशाला) नेपालकै प्रथम र ३०५ वर्ष पुराना विद्यालय हो।’ जहाँ बालागुरु षडानन्द पनि पढेका थिए। त्यसैले यो विद्यालय, मठ र मजारलाई प्राचीन विश्व सम्पदामा सूचीकृत गराउनुपर्ने उनले बताए।
प्रतिक्रिया दिनुहोस !
