कोदोले सहन सक्छ जलवायु परिवर्तनको असर

कोदोले सहन सक्छ जलवायु परिवर्तनको असर

काठमाडौं : जलवायु परिवर्तनका कारण वर्षात्को शैली फेरिएको छ। लामो समय खडेरी पर्न थालेको छ। त्यसको प्रत्यक्ष असर धान, गहुँ र मकै बालीमा परिरहेको छ। तर, कोदो यस्तो बाली हो, जुन जलवायु परिवर्तनलाई ‘सहन’ गर्ने क्षमता राख्छ। जलवायुजन्य चरम मौसमी घटना (इक्सट्रिम इभेन्ट्स) सहन सक्ने क्षमता कोदोसँग रहेको अध्ययनहरूले देखाएका छन्। त्यसैकारण भविष्यमा विश्वकै प्रमुख खाद्यान्नको भरपर्दो बाली कोदो हुन सक्ने अध्येताहरूको निष्कर्ष छ।

सन् २०२२ मा कोदोको बारेमा प्रकाशित अध्ययन ‘लिभरेजिङ मिलेट फर डिभलपिङ क्लाइमेट रेजिलेन्ट एग्रिकल्चर’का अनुसार धान, मकै र गहुँजस्ता प्रमुख बालीले चरम वातावरणीय अवस्था सहने क्षमता गुमाउँदै गएका छन्। जलवायुको चरम अवस्था सहने क्षमता कोदोमा मात्रै देखिएको छ। उक्त अध्ययनअनुसार कोदोले अन्य अन्नले भन्दा तनाव सहन्छ। कोदोमा व्यापक अनुकूलन क्षमता हुन्छ। 
संयुक्त राष्ट्रसंघले पनि सन् २०२३ लाई ‘अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष’ घोषणा गरेको छ। यस अवधिमा जलवायुमैत्री कोदोजन्य बालीको महत्त्वको बारेमा प्रचार गरिनेछ। कोदोजन्य बालीबाट बनेका परिकारको प्रवद्र्धन गरिनेछ। कोदो अन्य प्रमुख बालीहरूभन्दा सयौं गुणा पौष्टिक हुन्छ। चामलमा भन्दा तीन सय गुणा बढी क्याल्सियम हुन्छ। सयौं वर्ष अपहेलित र कुअन्न बनेको कोदो यतिबेला श्रीअन्न बनेको छ। 

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत रहेको पहाडी बाली अनुसन्धान कार्यक्रमका प्रमुख बन्धुराज बरालका अनुसार अरू बालीका तुलनामा कोदोले प्रतिकूल अवस्था सहन सक्छ। पानी एकदमै कम भए पनि हुन्छ। यसलाई सिँचाइ आवश्यक पर्दैन। सुक्खा सहन सक्छ। अन्य बाली पानीका अभावमा तुरुन्तै सुक्छन्। पानी पुगेन भने बाला लाग्दैन। तर, कोदोमा प्रतिकूल मौसमी अवस्थामा पनि फल लाग्ने गरेको बरालले बताए। यसमा चामलमा भन्दा तीन सय गुणा बढी क्याल्सियम हुन्छ। 

‘एकदमै पोषणले भरिपुर्ण, जलवायुमैत्री, कम मलमा फल्ने, कम उर्वराशक्ति भएको जग्गामा पनि राम्रो फल्छ’ बरालले भने, ‘रासायनिक मल नचाहिने, सिँचाइ नभए पनि हुने, १० वर्षसम्म भण्डारण गर्न सकिन्छ।’ कोदोको दानामात्रै नभएर नल पनि गाईबस्तुको लागि पोसिलो आहारा बन्छ। दुधालु गाईभैंसीका लागि पौष्टिक हुन्छ। कोदो तराईदेखि उच्च पहाडसम्म नै फल्छ। कोदोबाहेक अन्य बालीलाई सबैतिर उत्पादन गर्न सकिँदैन। यसलाई किराले खासै बिगार गर्दैन। तर यसमा डँडुवा र मरुवा रोग भने देखिएको उनले बताए। 

संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठन (एफएओ) मा कार्यरत प्राविधिकविज्ञ अरुण जीसी आगामी दिनमा कोदो प्रमुख अन्न बन्न सक्ने बताउँछन्। ‘विश्वमै भोकमरी र खाद्य असुरक्षा बढिरहेको छ, जीसी भन्छन्, ‘जलवायु परिवर्तनले खाद्यान्नको उत्पादनमा असर परेको छ। कम फल्ने र फलेकोमा क्षति पुर्‍याउने क्रम बढिरहेको छ। तर, कोदोले चरम मौसमी अवस्थासमेत सहने भएकाले भोलिका लागि प्रवद्र्धन गर्न आवश्यक छ।’ बढ्दो खाद्यान्नको माग कोदोले पूर्ति गर्न सक्ने उनको भनाइ छ। 

कोदोको पाँच हजार वर्षको इतिहास छ। नेपाली संस्कृति, जनजातिहरूसँग जोडिएको छ। जीसीले तर अन्य बालीको तुलनामा कोदोको बारेमा धेरै अध्ययन नभएको बताए। ‘ढिँडो हिजो गरिबको खाना थियो। अब धनीको खाना भयो। स्वास्थ्यमा संवेदनशीलहरूले कोदो खान खोजिरहेका छन्’  जीसीले भने ‘हिजो हेलाँ गरिएको  थियो। आज करोडौंको आयात हुन थालेको छ।’ ‘कु’ अन्नबाट ‘श्री’ अन्न बनेको कोदोको महत्त्व बुझदै पाँचतारे होटलमा समेत कोदोको परिकार बन्न थालेको उनले सुनाए। 

इन्स्योरेन्स क्रप

कोदोलाई इन्स्युरेन्स क्रप पनि भनिन्छ। अन्य बालीसँगै मिसाएर रोप्न मिल्छ। मकै र कोदो एकै पटक लगाउँदा मकै फलेन भने कोदो फल्छ र इन्स्योरेन्सको काम गर्छ। अन्य बाली पूरै फेल भएको बेला कोदो फल्न सक्ने जीसीले बताए। 

२०१२ बाट कोदोलाई  ‘फ्युचर स्मार्ट फुड’ को ब्यानर बनाएर प्रवद्र्धन सुरु गरिएको हो। नेपालमा १२ वटा कोदोजन्य बालीहरू रहेको नार्कले जनाएको छ। नार्कअन्तर्गतको पहाडी बाली अनुसन्धान कार्यक्रमका प्रमुख बरालका अनुसार हावापानी र तापक्रमअनुसार कोदोको सिफारिस गरिन्छ। तराई र मध्यपहाडको लागि डल्ले कोदो, उच्च पहाडको लागि शैलुङे कोदो, जुम्ला सरहको हावापानीमा रातो कोदो सिफारिस भएका छन्। ती सबै रैथाने बिउ हुन्।

डल्ले कोदो तराई, भित्री मधेसदेखि मध्यपहाडसम्म हुन्छ। यसले तातो तापक्रम सहन्छ। तर चिसो सहँदैन।  शैलुङे कोदो उच्च पहाडमा हुन्छ। समुद्री सतहबाट तीन हजार मिटरसम्म कोदो खेती हुन्छ भन्ने हो। 

कोदोको ७७ प्रतिशत खेती मध्यपहाडमा हुन्छ। त्यहाँको जीवनस्तर, खाद्यसुरक्षा तथा आर्थिक हिसाबले पनि कोदो महत्त्वपूर्ण छ। विशेषगरी मनाङ र मुस्ताङमा उत्पादन न्यून हुन्छ। तर गण्डकी प्रदेशमा सबैभन्दा धेरै छ। कोसी प्रदेशमा उत्पादन र क्षेत्रफल राम्रो, बागमती प्रदेशमा पनि उत्पादन राम्रै छ। मधेस प्रदेशमा न्यून छ। कर्णाली, सुदूरपश्चिम र लुम्बिनीका पहाडी जिल्लामा थोरै मात्रामा खेती गरिन्छ। 

चामलमा भन्दा तीन सय गुणा बढी क्याल्सियम

बरालका अनुसार पौष्टिकताको हिसाबले कोदो अन्य बालीभन्दा सयौं गुणा फाइदाजनक छ। यसमा क्याल्सियम बढी हुन्छ। मधुमेह, कब्जियत हुनेको लागि कोदो राम्रो हुन्छ। यसमा धेरै फाइबर हुन्छ। फाइबरले शरीरमा रगत शुद्धीकरण गर्छ। आइरनको मात्रा धेरै हुन्छ। यसले रक्तअल्पता भएका, सुत्केरी तथा बच्चालाई क्याल्सियम उपलब्ध गर्छ। आइरन, जिंन्क, पोटासियम, प्रोटिन पाइन्छ। एमिनो एसिड, हुनबाट बचाउनुका साथै मुटुको समस्या, कोलस्ट्रोल, उच्च रक्तचाप तथा पेटको स्वास्थ्यका लागि फाइदाजनक छ। खाद्य सुरक्षाको हिसाबले धान, मकै, गहुँभन्दा पौष्टिक हुन्छ। 

उत्पादनको हिसाबले कम उर्बरा भएको माटो, सिँचाइ नचाहिने, रोगसँग लड्न सक्ने, भिरालो जमिनमा पनि खेती गर्न सकिन्छ। अन्य कुनै बालीलाई लामो समय भण्डारण गर्न सकिँदैन। तर कोदोलाई १० वर्षसम्म पनि राख्न सकिन्छ। त्यसकारण कोदो अनिकालको बाली मानिन्छ। त्यसैले हिजोआज सुपर फुड भन्न थालिएको बरालको भनाइ छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.