जसले खोले १ बिघामा सिनेमा थिएटर
चिकित्सा पेसा गरिरहेको व्यक्तिलाई लग्जरी सिनेमा हल बनाउने सोच कहाँबाट आयो ?
म धेरै चलचित्र हेर्दिनँ। बुवा (वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा.विनोद थापा) भने कलेज पढ्दा धेरै सिनेमा हेर्नुहुन्थ्यो। मैले थिएटर बनाउन थालेपछि धेरैले यही प्रश्न गरे। मेरो एक मात्र उद्देश्य नेपालगन्जमा केही नयाँ काम गरेर बेन्चमार्क बनाउने हो। थिएटर बनाउने कुरासँग भारत भ्रमणको एउटा प्रसंग जोडिएको छ। १५ वर्ष अघि भारतको जयपुर घुम्न गएको थिएँ। त्यहाँ घुम्दा धेरैले राजमन्दिर हलमा सिनेमा हेर्न सुझाव दिए। यो कुरा सुनेर मलाई अचम्म लाग्यो। त्यहाँ के विशेष छ भनेर गएँ।
पर्यटकका लागि ऐतिहासिक, धार्मिक, पर्यटकीय क्षेत्रजस्तै सिनेमा हल पनि हुने रहेछ। नेपालगन्जमा त ‘क्रस बोर्डर टुरिजम हब’ बनाउन सकिन्छ भन्ने लाग्यो र लग्जरी सिनेमा थिएटरको काम सुरु भयो। जयपुरमाजस्तै नेपालगन्ज आउने हरेक व्यक्ति सिनेरोयल थिएटरमा पुगुन् भन्ने छ। सञ्चालनको दुई दिनमै एक हजार बढीले ६ वटा सिनेमा हेरेका छन्। जसमा ३० प्रतिशत त भारतीय नै छन्।
नेपालगन्जमै किन सिनेमा हल बनाउनु भयो ?
सिने थिएटर भनेको छुट्टै इमोेसन आउने ठाउँ हो। जहाँ हरेक पटक जाँदा फरक फरक अनुभव हुन्छ। चाहे त्यो हरर मुभी होस् वा कमेडी मुभी, दर्शकले फरक आनन्द पाउँछन्। नेपालगन्जमा पनि त्यस्तै रिफ्रेस सेन्टरकोे खाँचो थियो। दिनभर काम गरेपछि कहाँ जाने ? यही प्रश्नले गर्दा नै नेपालगन्जमा केही नयाँ गरौं भनयो क्षेत्रमा लागेको हो। चार वर्ष लगाएर इन्टरनेसनल स्ट्यान्डरको सिने थिएटर बनाउन सफल भएको छु।
अहिले बनेजस्तै सिने थिएटर बनाउने योजना थियो ?
थिएन। हामीले अरु सिने थिएटरको लागत हेर्दा सातदेखि नौ करोडमा बनाउने लक्ष्य राखेका थियौं। भारतको मुुम्बईमा पुगेर पनि हेर्यौं। त्यहाँ इन्टरनेसनल स्ट्यान्डरको लग्जरी सिने थिएटर बनाउने इराना एग बोटेलाई भेट्यौं। उहाँले इन्टरनेसनल स्ट्यान्डरको बनाउने भए काम गर्छु भन्नुभयो। उहाँको मुम्बई र दुबईमा कार्यालय रहेछ। विश्वभर १४०० भन्दा बढी सिने थिएटर डिजाइन गरिसक्नु भएको रहेछ। एरा आर्टेटेक्टले नेपालकोे डेकोरेन डिजाइनसँग मिलेर हाम्रो प्रोजेक्टमा काम गरे। विश्वमा भएका सबै टेक्नोेलोजी खोज्दैै गयौं। जे जे नयाँ र राम्रो थियो। ल्याउँदै गयौं। काम गर्दै जाँदा लागत बढेर २५ करोडसम्म पुगेको हो।
थिएटरमा के–के इन्टरनेसनल स्ट्यान्डर प्रयोग भएको छ ?
सिने थिएटरमा सिट, स्क्रिन, प्रोजेक्टर र साउन्ड सिस्टम हुन्छन्। हाम्रोमा अमेरिकाबाट आयातित सबै अडिटोरियममा नेपालकै पहिलो जेबीएल एटमोस साउन्ड सिस्टम छ। बेल्जियमबाट २० हजार लुमेन्स बारको प्रोजेक्टरहरू ग्यालालाइट मिराज ३.२ थ्री डी प्रिजम सिल्भर स्क्रिन र हङकङबाट ३ बीम गेट–डी थ्री डी प्रणाली जडित छ। जसले एक उत्कृष्ट गुणस्तरको पिक्चर र रंग संयोजन प्रदान गर्दछ। यो पनि नेपालकै पहिलो प्रयोग हो।
नेपालमै पहिलो पटक मलेसियाबाट आएको स्पेक्ट्रम सिटिङसँगै सिटिङ कम्फर्टलाई प्राथमिकता दिइएको छ। यहाँ प्रयोग भएका अधिकांश प्रविधि विश्वस्तरका र विदेशबाटै मगाइएका छन्। सिने रोयलले अत्याधुनिक अग्नि सुरक्षा प्रणाली र पूर्णरूपमा अग्नि–प्रतिरोधी अडिटोरियमका साथ सबै अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड पालना गर्दछ। थिएटरले नेपालको पहिलो स्वचालित जीडीसी थिएटर व्यवस्थापन प्रणाली पनि प्रयोग गर्दछ।
सिनेरोयलमा कस्तो अग्नि नियन्त्रणको कस्तो सिस्टम छ?
अडिटोरियम भनेको सलाईको डब्बाजस्तै हुन्छ। आगो लाग्यो कि एकै पटकमा सबै स्वाहा हुन्छ। आगलागीबाट सबैभन्दा बढी क्षति पनि सिने थिएटर नै भएका छन्। हामीले दर्शकलाई सुरक्षित बनाउन झन्डै अढाइ करोड रुपैयाँ अग्नि सुरक्षा सिस्टमका लागि मात्रै खर्च गरेका छौं। एक लाख २५ लिटर क्षमताको अन्डरग्राउन्ड पानी संकलन गर्ने प्रणाली जडान जडित छ। आगो लाग्यो भने फायर सिस्टमले नै आगो निभाउन सक्छ। हामीले प्रयोग गरेका प्लाइ, कार्पेट, सिटको कपडा आगो लागिहाले पनि नफैलिने खालका छन्। जहाँ आगो लाग्छ, त्यही निम्छ। हाम्रो जस्तो प्रविधि नेपालमा अरु कतै प्रयोग भएको छैन।
सिने रोयलको खास विशेषता के छ ?
यसले नेपालका सिनेमा घरहरूप्रतिको वर्तमान धारणालाई परिवर्तन गरेको छ। अत्याधुनिक प्रविधि, आलीशान सिटिङ, इमर्सिभ साउन्ड र भव्य वातावरणका कारण सिने रोयलले नेपालमा सिनेमा थिएटरले अभूतपूर्व बेन्चमार्क स्थापित गरेको छ। एक बिघा क्षेत्रफलमा फैलिएको सिने रोयलको कुल सिट क्षमता ५६० छ। हामीले तीन वटै थिएटरलाई अपाङ्गमैत्री बनाएका छौं। अपाङ्गमैत्री शौचालय पनि छ। हामीसँग कम्तीमा पनि एक सय गाडी र तीन सय मोटरसाइकल अटाउने पार्किङ छ। यहाँ रेस्टुरेन्ट र डिपार्टमेन्ट स्टोरको काम पनि भइरहेको छ।
अरु नयाँ अभ्यास के के छन् ?
इन्टरनेसनल स्ट्यान्डरको थिएटरमा ग्यासको प्रयोग गर्न पाइँदैन। हाम्रो किचन पनि पूरै इलेक्ट्रिक किचन हो। हामीले उपभोक्तालाई ताजा बर्गर खुवाउँछौं। पपकर्न बनाउने मेसिन अमेरिकाको गोल्ड मेडल कम्पनीको हो। लबीमा राखिएको झुमर पनि इटलीबाट ल्याएका हौं।
आर्थिक संकटका बेला यति ठूलो लगानीमा सिनेमा घर बनाउनु भयो। आर्थिक मन्दीको असर पर्दैैन ?
आर्थिक मन्दीले सबैतिर तनाव नै तनाव छ। हामीले कोभिड अघि नै थिएटरको निर्माण सुरु गरेका थियौंैं। पहिलो लकडाउनमा त सबैैभन्दा पहिलो बन्द गर्ने भनेकै सिनेमा घर थियो।
कोभिडको प्रभाव कहिलेसम्म रहन्छ भन्ने पनि थाहा थिएन। हामीले डेढ वर्ष काम रोक्यांै। कतिले क्यासिनो बनाउन सुझाव दिए। तर, समाजलाई प्रत्यक्ष फाइदा नहुने बिजनेसमा हाम्रो रुची गएन। दोस्रो लकडाउनपछि काम नरोकौं भनेर बनाउन लाग्यौं।
दर्शकलाई कसरी राहत हुन्छ त ?
ब्यस्त जीवनशैलीले धेरै जना तनावमा छौं। जति तनाव भए पनि थिएटर भनेको ‘स्टे«स फ्री’ हुने ठाउँ हो। पहिले पहिले म पनि धेरै सिनेमा हेर्दैनथें। नेपाली चलचित्र त निकै कम हेरेको छु।
हल खुले यता ६ वटा चलचित्र हेरिसकें। बुबा पनि हरेक दिन सिनेमा हेर्नुहुन्छ। दर्शकलाई पनि हामीले लागतभन्दा निकै सस्तोेमा सेवा दिइरेका छौं। हप्तामा दुई दिन र हरेक दिनको बिहानी शो आधा शुल्कमा हेर्ने व्यवस्था गरेका छौं।
- प्रस्तुति : शंकरप्रसाद खनाल