प्राचीनकालदेखि यी र यस्तै किसिमका कालजयी, अर्थपूर्ण गीतहरू सुदूरपश्चिम र कर्णालीको गाउँबस्तीमा लाखौं जनले गाउँदै आएका थिए।
बारीको खेत् बगाई लैग्यो पारिका खोलाले
(ओ वाज झुम्य्रौली वाज)
२०३४ कात्तिक १४ गते रेडियो नेपालको भाषाभाषीको कार्यक्रम फूलबारीमा पंक्तिकारले गाएको गीत हो यो। उक्त गीतले धेरै अर्थ बोकेको र लय पनि प्राचीनकालदेखि मौलिकपन झल्काएको हुँदा निकै चर्चित र कालजयी बन्यो। हजुरबुवा पुस्तादेखि नाति पुस्तासम्मले पनि धेरै पटक देउडा गीत समारोहमा गाउँदै आएकाले जनजनको जिब्रोमा ‘ओ वाज झुम्य्रौली वाज’ झुन्डिएको छ। हरेक देउडाखेल प्रायः यही लय (भाक्या)बाट सुरु हुन्छ र गोलबद्ध रूपमा खेलाडी हातमा हात समातेर पैताला मिलाउँदै डेढी कदममा गीतको लयअनुसार देउडा खेलेर संस्कृतिको बचाउ गर्ने गर्छन्।
नेपालका नदी, खोला र गाडहरूले वर्षामासमा के कति क्षति पुर्याएका हुन्छन्, सबैलाई जगजाहेर नै छ। बर्सेनि बाढीका कारण कयौं मानिसको ज्यान गएको हजारौं हेक्टर जमिनमा लगाएको अन्नबाली नष्ट भएको दुःखद् खबर सुन्दै र भोग्दै आएका छौं। खोलामा आएको बाढीका कारण राधाकृष्ण (प्रेमी–प्रेमिका)बीच पनि भेट हुन सकेन। प्रकृतिमाथि कसैले पनि विजय हासिल गर्न सक्दैन। बाढी, पहिरो रोक्न, भूक्षय कम गर्न रुख रोपौं भन्ने सन्देश पनि दिएको छ गीतले। जहाँ बाँझ (कडा खालको रुख) र उत्तिस रोपेका हुन्छन्, त्यो ठाउँमा पहिरो जाँदैन भन्ने सन्देश पनि दिलाएको छ यो गीतले।
प्राचीनकालदेखि यी र यस्तै किसिमका कालजयी, अर्थपूर्ण गीतहरू सुदूरपश्चिम र कर्णालीको गाउँबस्तीमा लाखौं जनले गाउँदै आएका थिए। आफैंले पितापुर्खा पुस्ताले बचाउँदै आएका कारण वर्तमानमा गाउन पाएका छौं। त्यसबेला सञ्चारको माध्यम थिएन। जंगलमा गाइने ती गीतहरू, वनपाखा, पर्वत, पखेराका सार्वजनिक सम्पत्ति थिए। जंगलमा घासदाउरा काट्दाको अवस्थामा दैविक दुर्र्घटना भएको खण्डमा रैवार (खबर) बनिदिने भएकाले देउडा गीतहरू रैवारका पुलिन्दा पनि थिए, त्यसबेला।
समाज अशिक्षित थियो। पढ्नलाई विद्यालय थिएनन्। ‘अवारो’ (पेट् पाल्न चामल, पिठो, नुन, तेल उठाउनू) उठाएर गाउँगाउँमा गुरुले बालबालिकालाई सिकाउने चलन थियो। गुरुकुलीय शिक्षा थियो गाउँमा। धुलौटो (काठको सानो फल्याक)मा रातो माटो राखेर क, ख, अ, आ लेख्नुपथ्र्याे। अंक पहाडा (१, २, ३, ४) पनि लेखेर जोडले गुरुलाई सुनाउनु पथ्र्याे। गुरुलाई मास्टर्जी भन्नुपथ्र्याे। सबैजना विद्यार्थीले जुनसुकै जातको गुरु भए पनि पाउ समातेर श्रद्धापूर्वक ढोग्नु पथ्र्याे।
गुरुकुलीय पाठशालामा छोरीलाई पढाउने प्रचलन थिएन। उनीहरूको काम वनजंगलमा घाँस दाउरा काट्ने, गाईबस्तु चराउने थियो। उनीहरू समूहसमूह बनाएर वनजंगलमा एकान्तमा गीतहरू निकै गाउने गथ्र्ये। कसैले न सुनुन् भन्नाका लागि डाँडाले छेकिने भूभागमा एकल, दोकल र समूहमा गीत गाउने गथ्र्ये। विशेषगरी उनीहरू ठाडीभाका गाउने गर्थे। अहिले पनि यो क्रम जारी छ। कानमा हात राखी एकनासले विरही वेदनाका शब्द गीतमा मिसाएर गाउनुलाई ठाडीभाका भनिन्छ।
देउडा गीतको संरक्षण गर्ने पहिलो समूह त चेलीबेटी र हाम्रा आमा, भाउज्यूहरू हुन्, वनजंगल गीतका पाठशालाहरू हुन् भन्छु म त। अति नै कर्णप्रिय लाग्दछन् ती कर्णप्रिय भाकाहरू।
यदि गीत गाएको थाहा पाएको खण्डमा घरमा गाली पनि पाउने गथ्र्ये उनीहरू। छोर्याट्टा (केटाहरू)ले घरमा क, ख सिक्थ्ये, छोर्याट्टी (केटीहरू)ले वनपाखामा गीत गाउथ्ये। त्यसैले देउडा गीतको संरक्षण गर्ने पहिलो समूह त चेलीबेटी र हाम्रा आमा, भाउज्यूहरू हुन्, वनजंगल गीतका पाठशालाहरू हुन् भन्छु म त। अति नै कर्णप्रिय लाग्दछन् ती कर्णप्रिय भाकाहरू। ठाडी भाकाको देउडा गीतमा वेग्लै पहिचान छ, सर्वाधिक
लोकप्रिय छन् यी गीतहरू।
गौं जौं का हरिया नल टुपा लाग्यो फल
प्यारीलाई सियाको चोलो लैझा गंगीजल।
विविध अर्थ बोकेको यो गीतले नेपाल कृषि प्रधान मुलुक हो। मौसमअनुसारको बालीनाली उब्जनी हुन्छ, देशको माटो मलिलो भएकै कारण। कृषि उत्पादनका लागि उर्वराभूमि होे हाम्रो देश भन्ने बुझाउँछ। यति हुँदाहुँदै पेटप ाल्न बिदेसिनुपर्ने बाध्यता छ र लाहुर जानुपर्छ भन्ने सन्देश पनि बोकेको छ गीतले। परदेसिएको लाहुरेले प्रियशीको सम्झना गर्दै हिमालबाट बगेर आउने गंगानदी (कोसी, कर्णाली, सेती र महाकाली)लाई प्रियशीलाई भनी सिलाएको चोलो लगिदिन अनुरोध गर्दछ। जनसमक्ष ल्याएर यी र यस्तै अनेकथरी अर्थ बोकेको गीतहरू व्यापक रूपमा प्रचारप्रसार गर्नु आवश्यक थियो। माटी र महतरी (आमा)का आशीर्वादले सो कामको अभिभारा सर्वप्रथम यो पंक्तिकारलाई जुर्न गयो।
सानोमा स्कुल पढ्दा अतिरिक्ति क्रियाकलापमा पनि धेरै गीत गाएको थिएँ। एकताका जिल्लाको ठूलो कार्यक्रममा प्रजिअसामु देउडा गीत गाएर रु. ५ पुरस्कार पाएको याद छ। २०२९÷३० सालतिरको कुरा हो यो। सानो छँदा यसरी गीत गाउँदा हप्कीदप्की (डर देखाउनु) न खाएको कहाँ हो र ? तर वरिष्ठ साहित्यकार रमेश विकलको अमरकृति अविरल बग्दछ इन्द्रावती भने झैं गीतहरू गाउँघरबाट सदरमुकाम, त्यहाँबाट राजधानीस्थित रेडियो नेपालको स्टुडियोसम्म पुर्याएँ। रेडियो नेपालबाट झर्राे खालको देउडा गीतहरू प्रसारण भएपछि समाजमा गीतका बारे विस्तारै चर्चा हुन थाल्यो। कुनै कुनैले पंक्तिकारलाई भाँड र वादी जातिको संज्ञा पनि दिएका थिए। जुन उपमालाई चुपचाप स्वीकारें।
२०४३ सालमा रेडियो नेपालद्वारा आयोजित लोकगीत प्रतियोगितामा देउडा गीत गाएर प्रथम पुरस्कार प्राप्त गरें। २०४६ सालमा देउडा गीतको संग्रह ‘नन्दकृष्ण जोशीका लोकगीतहरू’ नामक गीति क्यासेट प्रकाशित गरें। कार्टुनमा राखेर सुदूरपश्चिमका व्यापारिक केन्द्र धनगढी, महेन्द्रनगर, गड्डाचौकी, टीकापुर डँडेलधुरा, डोटी, बैतडी, बझाङ, बाजुरा, अछामलगायतका ठाउँ र जिल्लामा पुगेर बिक्री वितरण गरे। नेपालगन्ज सुर्खेत, जुम्ला, दैलेख, जाजरकोट आदि जिल्लाका गाउँबस्ती पुगेर गीति क्यासेटमा रेकर्ड गरेका मौलिक गीतहरू सभा समारोहहरूमा सुनाउँदै गएँ। जनसमुदायले अत्यधिक रूपमा रुचाए।
२०४६ देखि २०६० सालसम्म देउडा गीतका २२ थरी गीति क्यासेट निजी रूपमा उत्पादन गरें। गाउँगाउँ ठाउँठाउँमा आफैं उपस्थित भई ती गीति क्यासेट बिक्री गरेर, सांस्कृतिक समुदायहरूबाट नयाँनयाँ भाकाहरू संकलन पनि गरें। तिनै भाकाहरू काठमाडौंमा आएर रेकर्ड गरें। २०३४ सालदेखि २०६० सालसम्म सांगीतिक र सांस्कृतिक अभियानले कर्णाली र सुदूरपश्चिम क्षेत्रमा साँच्चिकै सांस्कृतिक क्रान्ति ल्यायो। २०६२÷०६३ सालको आन्दोलनमा नागरिक आन्दोलनका तर्फबाट प्रतिगमन कदमको विरोध गर्दै ठूलठूला सभा समारोहहरूमा देउडा गीत ‘झ्याम्म झ्याम्म’ गाउँदै आए। हजारौं हजार जनसमुदायले देउडा गीतको यो लयलाई अत्यधिक मन पराए।
त्यही गीत गाएर २०६२/०६३ सालको जनआन्दोलनमा १७ पटक हिरासत र पाँच महिनासम्म नजरबन्दमा बस्नु पर्यो। यो सांगीतिक हलचलले देउडा गीतका ती कालजयी प्रिय भाकाहरू मान्छेको जिब्रोमा झुन्डिए, मनमस्तिष्कमा गडेर बसें। स्वदेशी व्यापारीहरूको व्यापार फस्टायो, वर्षाैंसम्म भारतमा कामको खोजीमा बसेर जन्मभूमि बिर्सेकालाई घर फर्कायो। आफ्नो संस्कृतिको पहिचान ती अजम्बरी देउडा गीतले दिलायो। संगीतमा पनि व्यापार सम्भव हुँदो रहेछ, देउडा गाएर कलाकारले पेट पनि पाल्न सक्दा रहेछन् भन्ने सम्भावना देखायो। पंक्तिकारले गरेको कठोर सांस्कृतिक क्रान्तिको मूल्यांकन गरेर होला, २५ वर्षदेखि जनजनले हार्दिक सम्मान दिइरहेछन्। जुन मेरो जिन्दगीको सबैभन्दा ठूलो नैतिक र सांगीतिक कमाइ हो।
वर्तमानमा देउडा गीतको महत्त्व बढ्दै गैराखेको छ। २०३६/०३७ सालताका सुदूरपश्चिम विद्यार्थी समाज गठन गरेर प्रत्येक साल ललितपुरको गोदावरीमा वनभोज कार्यक्रममा खेलिने देउडा खेल काठमाडौंको खुलामञ्च, राष्ट्रिय सभागृह, नेपाल प्रज्ञा प्रतिष्ठान आदिमा विस्तार गरियो। कुनै बेला बिसु पर्व र गौरा पर्वमा खेलिने खेल (सहरमा नृत्य पनि भन्ने गरिन्छ)। खेल वर्तमानमा अरू बेला पनि खेलिन्छ। वर्तमानमा हरेक महिनाजसो देउडा गीतबारे संस्कृतिकर्मीबीच हुने छलफल, विचारगोष्ठीले अबका दिनमा देउडा संस्कृतिले राष्ट्रिय बहस पाउनेछ भन्ने आशा गर्न सकिन्छ।
तल बग्न्या करनाली माथि बग्न्या रेवा
चिउणी समाई भलामली वाउली समाई सेवा।