इनरुटको मौसमी जानकारी कहिले ?

इनरुटको मौसमी जानकारी कहिले ?
सुन्नुहोस्

काठमाडौं : नेपालमा हुने धेरै दुर्घटनाहरू बाटो (इनरुट)को मौसमी जानकारीको अभावमा हुने गरेका छन्। छिनछिनमा नै परिवर्तन हुने मौसम र डाँडाकाँडा नै विमान दुर्घटनाका कारण हुन्।

अमेरिकाको सिकागो कन्भेन्सनमा विश्वको हवाई सुरक्षासम्बन्धी १९ मध्ये एनेक्स ३ ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रलाई आवश्यक मौसमी जानकारी (मौसम विज्ञान) दिनुपर्ने उल्लेख छ। नेपालमा उड्डयन क्षेत्रलाई आवश्यक मौसमसम्बन्धी जानकारी जल तथा मौसम विज्ञान विभाग (डीएचएम)ले दिने गरेपनि विभागले इनरुटको भन्दा पनि विमानस्थल वरपरको मात्र मौसमसम्बन्धी जानकारी दिने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुल बताउँछन्। उनका अनुसार नेपालमा ३४ विमानस्थल सञ्चालनमा छन्। ती विमानस्थलमा विभागको नेटवर्क करिब ११ मा मात्रै रहेको छ। 

दुर्गमका जिल्ला विमानस्थलमा विभागको नेटवर्क विस्तार हुन नसकेको भुल बताउँछन्। ट्रंक रुट (तराईका जिल्ला) लाई भन्दा पनि स्टल रुट (पहाडी तथा हिमाली जिल्ला) को इनरुटको मौसमी जानकारी आवश्यक हुन्छ। डाँडाका कोप्चाबाट अकस्मात निस्किने बादल नै नेपालको हवाई क्षेत्रको चुनौतीको रूपमा रहेको छ। विमानस्थल वरपरको जानकारीभन्दा पनि इनरुटको मौमसी जानकारी आवश्यक छ। दुर्घटनापछि गठन हुने जाँचबुझ आयोगले पनि विमान रुटमा मौसमी जानकारी दिने यन्त्र राख्नुपर्ने सुझाव दिँदै आएको छ। तर, सबै हवाई रुटमा मौसमीयन्त्र जडान गर्न नसकेको जल तथा मौसम विभागले स्वीकार्छ। 

उडान भर्नुपूर्व सम्बन्धित विमान कम्पनीका अधिकारी गन्तव्य विमानस्थल तथा रुटको मौसमी जानकारी लिन विभाग पुग्ने गर्छन्। तर, उनीहरूले इनरुटको भन्दा पनि उडान र अवतरण गर्ने विमानस्थलको मात्र मौसमी जानकारी पाउँछन्। आन्तरिक उडान भर्ने विमान तथा हेलिकप्टर औसत उडान उचाइ १२ हजार फिट हुन्छ। तर, विभागले भने २१ हजार फिट माथिको मौसमी जानकारी दिने गरेको समिट एयरका प्रबन्ध निर्देशक मनोज कार्की बताउँछन्। बादलभन्दा माथि सधैं घाम नै लाग्छ भने वायुको चाप पनि कम हुन्छ र पानी पनि पर्दैन। तर, आन्तरिक उडान भर्ने विमानले लिने उचाइमा भने बादल नै बढी देखापर्ने हुन्छ र यसले भिजिबिलिटीमा असर गर्छ। 

  •     मौसम विज्ञान विभागले इनरुटको भन्दा पनि विमानस्थल वरपरको मात्र मौसमसम्बन्धी जानकारी दिने
  •     ३४ विमानस्थल सञ्चालनमा भए पनि विभागको नेटवर्क करिब ११ मा मात्रै

हवाई दुर्घटनाको कारण बादल उठेको थाहा नहुने र बादलभित्र छिर्दा भिजिलिटी कम भएर डाँडामा ठोकिने हो। अहिलेसम्म विभागले इनरुटको मौसमी जानकारी दिन लगानी नगरेको सम्बन्धमा सम्बन्धित निकायको ध्यानाकर्षण हुन जरुरी रहेको कार्कीको भनाइ छ। अहिले इनरुटको मौसमी जानकारी लिनका लागि ठाउँठाउँमा वायुसेवा कम्पनीले प्रतिनिधि राखेको र उनीहरूले जे देख्छन् त्यो खबर दिने गरेको बताउँछन्। null

मौसम विभागको नेटवर्क नभएको ठाउँमा प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर (एटीसी)को माध्यमबाट मौसमी जानकारी प्रदान गर्दै आएको बताउँछ। एटीसीको तालिमको क्रममा मौसमी जानकारीको सम्बन्धमा पनि सिकाइएको हुन्छ। त्यो तालिमको आधारमा एटीसीले मौसमको अवलोकन गरेर भन्न सक्ने सहप्रवक्ता ज्ञानेन्द्र भुल बताउँछन्।  

प्राधिकरण र जल तथा मौसम विज्ञान विभागबीच उडानका लागि आवश्यक मौसमी जानकारी दिने सम्बन्धमा सम्झौता भएको हुन्छ। त्यसको आधारमा प्राधिकरणले प्रत्येक एउटा पूर्ण उडान (उदाहरणः काठमाडौं–पोखरा–काठमाडौं) का लागि आवश्यक मौसमी जानकारी लिन १० अमेरिकी डलर लिने गर्छ। त्यो रकम सम्झौताअनुसार एकमुष्ट विभागलाई दिने गरेको भुल बताउँछन्। विभागले दिने मौसमी जानकारी भनेको विमानस्थलको वरिपरिको १० किलोमिटरभित्रको जानकारी दिने हो।तर विमान दुर्घटना हुँदा बाटो (इनरुट)को मौसमी जानकारीको अभावमा दुर्घटना भएको देखिन्छ। यस्तोमा इनरुटको मौसमी जानकारी दिनुपर्‍यो भन्दा विभागसँग त्यो क्षमता छैन। प्राधिकरणले २००९ देखि विभागसँग इनरुटको मौसमी जानकारी मागेको भुल बताउँछन्। सन् २०११/१२ तिर नै जापानी संस्था जाइकाको सहयोगमा तारा र सीता एयरले वेदर क्यामरा राखे। 

नेपाल नागरिक उड्डयन प्राधिकरणले २०७९ जेठमा जोमसोममा तारा एयरको विमान दुर्घटनापछि इनरुटको मौसमी जानकारी बिना उडान नगर्न निर्देशन नै जारी गर्‍यो। तर, इनरुटमा मौसमी जानकारी दिने वेदर क्यामरा जडान गर्न नसकिएको विभागका वरिष्ठ मौसमविद् वरुण पौडेल बताउँछन्। उडान र अवतरण हुने विमानस्थलको वरपरको मौसमी अवस्थाको जानकारी दिने गरेको तर, हवाई बाटोको सबै ठाउँमा मौसम कस्तो छ भन्ने जानकारी दिन अझै विभाग सक्षम नभएको पौडेलको भनाइ छ। 

प्राधिकरणले राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता गरी पोखरा–जोमसोम रुटमा ६ वेदर क्यामरा जडान गरेकोे छ। यसले इनरुटको जानकारी पोखरा र जोमसोम टावरबाट लिन सकिने भएको छ। अब सिमिकोटलगायतका क्षेत्रमा पनि विस्तार गर्ने योजना प्राधिकरणको छ। अहिले विभागले पनि वेदर क्यामरा जडानलाई प्राथमिकतामा राखेको मौसमविद् पौडेल बताउँछन्। आगामी ३ वर्षभित्र थप १७ पहाडी स्थानमा वेदर क्यामरा जडान गरिने बताइएको छ।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.