हिंसा छाडेर शान्तिमार्गमा आएको हुँदा कहिलेकाहिँ आफूलाई सम्राट अशोकसँग तुलनासमेत गर्न भ्याउन प्रधानमन्त्रीले कम्तीमा आफ्नो त्यही वचन साँचो तुल्याउन पनि हिंसासँग जोडिएको व्यक्तिलाई काखी च्याप्ने भूल फिर्ता गर्नु हितकर नै हुनेछ।
तेस्रोपटक प्रधानमन्त्री नियुक्त हुँदा पुष्पकमल दाहाल 'प्रचण्ड'ले गरेको प्रतिबद्धता सुशासन हो। लुम्बिनी विकास कोषमा विवादास्पद छविका ल्हारक्याल लामालाई उपाध्यक्ष नियुक्त गरेर प्रधानमन्त्रीले प्रतिबद्धता विपरीतको कार्य गरेका छन्। ल्हारक्याल सामान्य विवादमा परेका व्यक्तिमात्रै होइनन्, लुम्बिनी जुन पवित्रता छ, त्यसको ठिक विपरीतकै पात्र हुन्। लुम्बिनी अहिंसाको पर्याय पनि हो, ल्हारक्यान भने बन्दुर बोक्ने मान्छे हुन्। गौतम बुद्धको जन्मस्थलको संरक्षण प्रवद्र्धनमात्रै कोषको काम होइन, समग्र बौद्धमार्गकै हित गर्ने पनि हो।
तर, बुद्धले भनेको पञ्चशीलको सिद्धान्त विपरीतको व्यवहार भएका व्यक्ति हुन्, ल्हारक्याल। झुठो नबोल्नु, नढाँट्नु र कसैलाई अपमान नगर्नु वा कसैको अहित नगर्नुजस्ता आवश्यक सामान्य मानवीय गुणविपरीत ल्हारक्याल करोडौं ठगीमा समेत मुछिएका व्यक्ति हुन्। गेरुवस्त्र धारण गरे पनि न पञ्चशील न अष्टशील पालनामा ल्हारक्यालको अनुशासन देखिन्छ। उनी त बौद्धमार्गको नेतागिरी र दादागिरीबाट आफूलाई सधैं शक्ति र सत्ताको नजिक रहेर उल्टोउल्टो बाटो हिँडिरहेका छन्।
नेपालमा बौद्धमार्गको हितमा लाग्ने अरू कोही नभएजस्तो गरी प्रधानमन्त्रीले मन्त्रिपरिषद्बाट ल्हारक्यालको नियुक्ति गरेर सच्चा बौद्धमार्गीको आत्मसम्मानमाथि नै पनि चोट पुर्याएका छन्। उनको नियुक्ति यस्तो बेला पनि भएको छ, जतिबेला प्रधानमन्त्रीले आफ्नै पार्टीको रूपान्तरणको अभियान पनि घोषणा गरेका छन्। तर व्यवहारमा भने ठिक उल्टो सुरुआत पनि त्यही बेला गरेका छन्। उच्च नैतिक चरित्र भएको हुनुपर्ने भन्ने सर्त सरकारी वा गैरसरकारी नियुक्ति वा पदाधिकारीका लागि आवश्यक हुन्छ भने लुम्बिनी कोषजस्तो बौद्ध धर्म, दर्शन र संस्कृतिको सबैभन्दा गरिमामय संस्थामा ल्हारक्याल कसरी सुहाउँथे ? ल्हारक्याल भने नैतिकताको कसीमात्रै कमजोर नभई आपराधिक गतिविधिमै संलग्नताको आरोपित भएको हुँदा कुनै पनि दृष्टि र कसीमा उनको नियुक्ति सही ठहरिन्न।
नागरिकता विवादमा समेत परेका ल्हारक्याल पैसाकै भरमा कहिले कांग्रेसबाट सरकारी नियुक्ति लिन सफल भए। कहिले एमालेबाट सांसद र मन्त्री भए अनि माओवादीको शरण परे। अवसरका लागि रंग फेरिरहने ल्हारक्यालको नियुक्ति जति लज्जास्पद छ, त्योभन्दा बढी अस्वीकार्य पनि। प्रधानमन्त्रीले उनको नियुक्तिलाई फिर्ता लिएर लाज ढाक्नमात्रै होइन, गल्ती सच्च्याउन हिच्किचाउनुपर्र्दैन। उच्च नैतिक चरित्र भएको राजनीतिकर्मीको गुण भनेको गल्ती सच्च्याउने तत्परता पनि हो। त्यो अपेक्षा प्रधानमन्त्रीसँग गरिनु स्वाभाविक छ।
हिंसा छाडेर शान्तिमार्गमा आएको हुँदा कहिलेकाहिँ आफूलाई सम्राट अशोकसँग तुलनासमेत गर्न भ्याउन प्रधानमन्त्रीले कम्तीमा आफ्नो त्यही वचन साँचो तुल्याउन पनि हिंसासँग जोडिएको व्यक्तिलाई काखी च्याप्ने भूल फिर्ता गर्नु हितकर नै हुनेछ।