भूराजनीतिक चपेटामा देश
नेपाल भूराजनीतिक भुँमरीमा पर्दैछ। नेपाललाई भूराजनीतिक भार थेग्न गाह्रो पर्ने देखिँदैछ। नेपाल भूराजनीतिक मात्र होइन, भूरणनीतिक चेपुवामा पनि फस्दैछ।
नेपाल भूराजनीतिक भुँमरीमा पर्दैछ। नेपाललाई भूराजनीतिक भार थेग्न गाह्रो पर्ने देखिँदैछ। नेपाल भूराजनीतिक मात्र होइन, भूरणनीतिक चेपुवामा पनि फस्दैछ। त्यसका पछिल्ला उदाहरण हेरौं।
नेपालमा अहिले भारत, चीन र अमेरिका द्विपक्षीय र बहुपक्षीय आर्थिकदेखि सुरक्षासम्मका रणनीतिक कार्यक्रमका साथ अस्वस्थ र शत्रुतापूर्ण प्रतिस्पर्धामा छन्, जसका लागि नेपाल प्रोक्सिल्यान्ड बन्दैछ। सन् २०१७ मेमा बीआरआईको अंग बन्यो, सेप्टेम्बरमा एमसीसीको। अमेरिका बीआरआई कार्यान्वयन् नहोस् भन्ने र लविङ गर्ने, चीन एमसीसीलाई पान्डोरा बक्स भन्दै त्यसलाई अस्वीकार गरोस् भन्ने। अमेरिकाले नेपाल आईपीएसको अंग भयो भन्ने, चीनले जीएसआईको सदस्य बन्न दबाब दिने। सरकार आईपीएसको अंग बन्न खोज्ने, जीएसआई नमान्ने, जबकि यी दुवैमा नेपाल जानै सक्दैन।
अमेरिका नेपाललाई प्रयोग गरेर चीनलाई रोक्ने, चीनले आफ्नो छिमेकमा बढेको प्रतिस्पर्धीको क्रियाकलाप रोक्ने। बरु भारतले विगतको तुलनामा आन्तरिक मामिलामा दक्खल दिएको अलि देखिँदैन। यद्यपि उसले पनि आफ्ना उद्देश्य प्राप्तिका लागि प्रयास गरिरहेकै छ। नेपाल चीन र अमेरिकाको शक्ति संघर्षको छद्मभूमि बनिसक्यो। यस्ता थुप्रै गतिविधि नेपालमा बढेका छन्, जसको केन्द्रमा नेपालको हित छैन, हामीलाई उनीहरूका निहित स्वार्थपूर्तिका लागि रणनीतिक रूपमा प्रयोग गरिएको छ।
छिमेकी र पश्चिमाको निशानामा नेपालका दुई क्षेत्र परेका छन् यतिबेला। पहिलो, नेपालको अपार प्राकृतिक स्रोत, जसमाथि नियन्त्रणको प्रयास जारी छ। दोस्रो, प्रजातान्त्रिक भनिएका सबै संस्थाहरूलाई तहसनहस पारेपछि राष्ट्रिय सुरक्षाको जिम्मा लिएको नेपाली सेनालाई पनि विवादित बनाउँदै समाप्त पार्ने भन्ने छ। सेनालाई कमजोर बनाउन सकियो भने बेरोकटोक आफ्ना घरेलु खेताला र पपेटमार्फत रणनीतिक लक्ष्य हासिल गर्न सकिन्छ भन्नेमा उनीहरू छन्। यी सबैमा नेपाली भूमि प्रयोग भइरहेको छ। यो सरकार पनि त्यसमा प्रयोग भइरहेको छ वा त्यसलाई नै आमन्त्रित गरिरहेको छ।
तर विदेशीलाई दोष थोपरेर हुँदैन, हाम्रो देश बनाउने हामीले हो। हामीले सोच्ने हो, उनीहरूले आफ्नै स्वार्थ हेर्छन्। हामीले हाम्रो स्वार्थ हेर्र्ने हो। हामीले हाम्रो भूराजनीतिक संवेदनशीलता हेर्नुपर्छ, यो संवेदनशीलतालाई महसुस गरेर। तर नेपालको राष्ट्रिय स्वार्थलाई प्रधान मानेर अघि बढ्नुपर्छ भनेर थाक्ने गरी बोल्यौं।
सायद आज विदेश नीति र परराष्ट्र सम्बन्धवारे सबैभन्दा बढी उच्चारण गरिएको वाक्यांश भूराजनीतिक संवेदनशीलता हो। तर यसैलाई सत्ता प्राप्ति र निहित व्यक्तिगत, पार्टीगत स्वार्थको साधन बनाइँदैछ। जस्तो– नेपाल विश्वका दुई उदीयमान अर्थतन्त्र भएका देश चीन र भारतको बीचमा रहेको छ। उनीहरूको तुलनामा सानो तर करिब दुई देशलाई हेर्दा मध्यम आकारको राष्ट्र हो नेपाल। संसारले चीन र भारतसँग विकासदेखि रणनीतिमा सहकार्य गर्दैछन्। तर नेपालका पार्टी र जनमत विशाल छिमेकीप्रति विभाजित छ।
- खनाल, परराष्ट्र मामिला विश्लेषक हुन्।