नदी साँघुरिए, निकास खोज्दै सहर पसे
‘४० मिमि मात्रै पानी परे पनि काठमाडौंका बालाजु, कपनजस्ता क्षेत्रमा घरघरमा पानी पस्छ।’
काठमाडौं : मंगलबार बिहानैदेखि राजधानीका नदी किनारका दर्जनौं स्थानमा बाढी पस्यो। बागमती, विष्णुमती, धोबीखोला, हनुमन्ते, मनहरालगायतका नदीमा पानीको सतहले खतराको स्तर पार ग¥यो। करिडोरका सडक, बस्ती, सर्वसाधारणका घर डुबानमा परे।
देशकै राजधानी बर्सेनि बाढी र डुबानको समस्या बेहोर्न बाध्य छ। किन त ? विज्ञको जवाफ छ, ‘नदी, खोला अतिक्रमणमा परे। साँघुरिँदै गएपछि निकास खोज्दै सहर पसे।’
जल तथा मौसम विज्ञान विभागका अनुसार पनि पछिल्लो २४ घण्टामा राजधानीमा परेको पानी ‘धेरै’ होइन। विभागका अनुसार मंगलबार बिहान ८ बजेसम्म ६४ दशमलव ३ मिलिमिटर (मिमि) मात्रै वर्षा भएको हो। तर, बाढी तथा डुबानको पछाडि जलाधार क्षेत्र दोहन तथा अतिक्रमण नै मुख्य कारण बनेको विज्ञहरूको तर्क छ। उक्त मात्राको पानी विगतमा पनि पर्ने गरेको भए पनि यसपालि अति नै भएको हो।
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक सुरेश मरहठ्ठाका अनुसार विभागले ६४.३ मिमि भनेको भएता पनि औसतमा ८० मिमि पानी परेको छ। जसकारण प्रायः नदीमा पानीको ‘ओभरफ्लो’ भएको छ। उनले भने ‘पानी पर्ने अवधि र बाढी निकास हुने अवधिबराबर जस्तै भयो। त्यसैले गर्दा एकचोटी ठूलो बाढी देखियो।’ मंगलबारको बाढीलाई मरहठ्ठाले ‘सामान्य’ भनेका छन्।
नदीहरू अतिक्रमणमा परेका छन्। खोलाहरू साबिकको भन्दा आधामा खुम्चिएका छन्। भूउपयोग फेरिएको छ। खुला जमिन ढलान भएका छन्, पानी सोस्ने ठाउँ छैन। ढलानबाट पानी बगेरै जान्छ।
काठमाडौं उपत्यकाको हकमा बाघद्वार उद्गम बिन्दु भएको बागमतीको पानी चोभारसम्म पुग्ने अवधिलाई ‘टाइम अफ कन्सन्टे«सन’ भनिन्छ। यो अवधिभर वर्षा भएमा नदीमा पानीको मात्रा अत्यधिक हुन्छ। सबैतिरको पानी एकैपल्ट नदीमा पुग्दा जलस्तर बढ्छ। त्यस्तो अवस्थामा पानी नदीबाट ओभरफ्लो भएर बस्ती र अन्यत्र जान्छ। मंगलबार पानी पर्ने अवधि ‘टाइम अफ कन्सन्टे«सन’भन्दा लामो रहेको मरहठ्ठाको भनाइ छ।
बस्तीहरूमा बाढी पस्नुमा मानवीय त्रुटि हो। नदीका दुवैतिरै तटबन्ध लगाएपछि समस्या थपिएको हो। कतिपय नदीका किनारमा बालुवा थुप्रिएका छन्, त्यसले नदी झन् साँघुरो बनेको छ। विगतमा भने बाढी निकास हुनका निम्ति नदीका बहावका क्षेत्र फराकिला थिए। ‘५० वर्ष पहिला यतिकै मात्रामा पानी पर्दा काठमाडौंमा यस्तो बाढी आउँदैनथियो,’ मरहठ्ठाले भने, ‘खेत र जमिनमुनि पानी सोसिन्थ्यो। नदीहरू खुल्ला थिए, मजाले बगेर जान्थ्यो।’ मरहठ्ठाका अनुसार मंगलबारको जति पानी औसतमा साढे दुई देखि तीन वर्षको अन्तर परिरहन्छ, सोही अन्तरमा यत्रै बाढी आइरहन्छ। सन् २०२० मा पनि अहिलेको जस्तै बाढी आएको थियो उनको अनुभव छ।
४० मिमि पानीमात्रै परे पनि राजधानीका बालाजु, कपनजस्ता क्षेत्रमा घरघरमा पानी पस्छ। त्यस क्षेत्रमा खोलाको प्राकृतिक बहाव साँघुरोमात्रै छैन, खोलामाथि ढलानले ढाकिएको पनि छ। उनले भने ‘हाल बनेका खोलाको करिडोरहरू नदीको बहाव क्षेत्र हुन्। हाम्रा संरचनाहरूका कारण आगामी दिनमा झनै बाढीको तीव्रता बढ्नेछ।’ विपत्बाट बच्न ‘रियल टाइम डेटा’ चाहिन्छ। जसले पानी परी सकेपछि कुन ठाउँमा बाढी कति बेला पुग्छ भन्ने अनुमान लगाउन सकिन्छ।
मंगलबार सुन्दरीजलमा ९६.८ मिमि, बूढानीलकण्ठमा ८४.४ मिमि, कीर्तिपुरमा ४४.६ मिमि, नगरकोटमा १०३ मिमि, धाप ड्याममा ६७ मिमि, ककनीमा ७१ मिमि, गोदावरीमा ४५.४ मिमि र लेले ७१.८ मिमि पानी परेको छ। सामान्यतयाः चौबीस घण्टामा १४० मिमि पानी परेमा त्यसलाई भारी वर्षा भनिन्छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाईंका अनुसार काठमाडौंमा ६४.३ मिमि वर्षा भएको थियो। बाढी तथा डुबान हुनुमा काठमाडौंमा निकास प्रणाली राम्रो नभएको हुमागाईंको तर्क छ।
विभागले मनसुन सुरु हुनुभन्दा पहिला नै यसपटक सरदर भन्दा कम वर्षा हुने जानकारी दिएको थियो। पूर्वानुमानअनुसार नै नेपालका सम्पूर्ण तराईले सोमबारसम्म खडेरी सामना गरिरहेको थियो। तर, देशैभरि मनसुन सक्रिय अकस्मात भएको छ। मनसुन अवधिभरि नै कहिल्यै सक्रिय, कहिले कमजोर हुन्छ। कहिलेकाहीँ ब्रेक पनि लाग्छ। ब्रेक लाग्दा खडेरी हुन्छ। यो सामान्य प्रक्रिया हो।
कतिपयले यसो हुनुलाई जलवायु परिवर्तनको असर भन्छन्। हुमागाईं जलवायु परिवर्तनले जलवायुजन्य विपत्ति ल्याएको र वर्षाको तीव्रता बढाएको दाबी गर्छन्। ‘तर, वर्षाको प्याटर्न भने सधंै उस्तै हुँदैन,’ उनले भने, ‘अहिले काठमाडौंमा धेरै पानी पर्न थालेको होइन। वर्षाको मात्रा पहिलाको जस्तै छ। तर वर्षा हुने प्रक्रियामा फेरिएको हुन सक्छ।’ हुमागाईंका अनुसार लामो समयमा त्यति नै वर्षा हुँदा विपत्ति ल्याउँदैन। तर छोटो अवधिमा ठूलो वर्षा हुँदा सहर बाढीले बगाउँछ, डुबाउँछ। निकास र जमिनले सोसेर जाने ठाउँ नहुँदा पानी ह्वात्तै बगेको र ओभरफ्लो भएको उनले बताए।
जलाधरविज्ञ मधुकर उपाध्यायले वर्षामापन गर्ने विभागको प्रक्रियाले सबै ठाउँको प्रतिनिधित्व नगर्ने बताउँछन्। ‘बालाजुमा नापेर त्यसले रामकोटको प्रतिनिधित्व नगर्न सक्छ। एकपटक धोबीखोलातिर भयंकर असिना आयो तर टंगालतिर थिएन,’ उपाध्याय भन्छन् ‘त्यसैले पनि मापन केन्द्रहरू पर्याप्त हुनुपर्छ। घण्टागत तथ्यांक चाहिन्छ।’
एकै ठाउँमा खाँदिएर परेको पानीलाई अहिलेको नाप्ने यन्त्र व्यवस्थाले खासै प्रतिनिधित्व नगरेको उनको भनाइ छ। ‘भक्तपुरको हनुमन्ते क्षेत्रमा बाढी आउँदा बालकोट माथि वा कटुन्जेतिर पनि पानी परेको हुन सक्छ। तर, विभागले त्यहाँको नाप्दैन,’ उनले भने।
उपत्यकामा बाढी तथा डुबान हुनमा सहरीकरण तथा जलवायु परिवर्तनको आ–आफ्नै प्रकारको योगदान छ। तर, एकैठाउँमा धेरै पानी पर्ने र त्यहाँ कति पानी प¥यो भनेर मापन गर्नेहरूले बताउन नसक्दा झनै समस्या थपिएको छ। पानी पर्ने परिवर्तनशीलताको शैलीले कहाँ, कति पर्छ भन्ने अनुमान गर्न कठिन भएको उपाध्यायले जनाए। यो जलवायु परिवर्तनले गर्दा भएको हो। नदी बहावका क्षेत्र दोहनका कारण पनि विपत्को जोखिम बढेको छ। भक्तपुरकै कुरा गर्दा पहिला हनुमन्ते खोलाको जलाधार क्षेत्रमा बालुवाका ढिस्का धेरै थिए। अहिले ती सबै उत्खनन् भए, घडेरी बने।
उपाध्याय भन्छन्, ‘हनुमन्ते क्षेत्र डुबाउनुको कारण बालुवाको ढिस्को उत्खनन् तथा वर्षाको तीव्रताले नै भएको हो।’ यसैगरी भक्तपुरको राधेराधे क्षेत्रमा पहिला खेती गरिन्थ्यो र त्यहाँ विगतमा पनि बाढी पस्थ्यो। त्यो ठाउँमा बस्ती बनेपछि घरभित्रै पानी पसेको छ। बालुवाले पानी सोस्थ्यो, कंक्रिटले सोस्दैन। खोला गल्ली झैं सानो बाटोमा हिँड्छ। यसैगरी चाँगुनारायण क्षेत्रमा पनि बस्ती विकासको नाममा सम्याएर बालुवाको ढिस्को तथा प्राकृतिक रूपमा पानी थेग्ने जलाधार र संरचना मासिएका छन्।
बल्खु कुलेश्वरमा डुबान पर्नुको कारण थानकोटतिर बढी पानी पर्नु हो। उपाध्यायका अनुसार कपनको कथा फरक छ। ‘कपनको खोला होइन, खहरे हो। धेरै पानी पर्दा आकस्मिक बहाव आउनु सामान्य हो।’ तर, मंगलबारको जस्तो घटनाले आगामी दिनका लागि पाठ सिक्नुपर्ने हुन्छ भन्दै उनले अन्यथा योभन्दा ठूलो पानी परेमा अझै धेरै डुबान तथा धेरै संरचनामा क्षति हुने बताए। त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक मरहठ्ठाले सहरी क्षेत्रमा प्राकृतिक विपत्तिको जोखिम बढेको र संरचनाहरू विपद्मैत्री नभएको बताउँछन्। सहरी क्षेत्रमा बाढी आउनेबित्तिकै बत्ती काटिन्छ, टेलिफोन र इन्टरनेट अवरुद्ध हुन्छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुनी वायुको साथै बंगलादेशको उत्तरी भूभाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेकाले वर्षा भएको हो। अहिले मनसुनकोे न्यून चापीय रेखा नेपाल नजिक रहेकाले मनसुन सक्रिय भएको छ। मौसममा बुधबारदेखि क्रमिक सुधार आउने महाशाखाको भनाइ छ।