अनुदान मल महँगोमा बेच्नेलाई जरिबाना

पोखरा : अनुदानको मल बढी मूल्यमा बिक्री गर्ने व्यवसायी र सहकारीलाई पोखरामा कारबाही गरिएको छ। नेपाल सरकारले अनुदानमा उपलब्ध गराएको मल बढी मूल्यमा बिक्री वितरण गरेका पोखराको अमरसिंह चोकको सुलभ कृषि सामग्री पसल र शिवालय चोकमा रहेको उपभोक्ता सहकारी संघलाई २०÷२० हजार रुपैयाँ जरिबाना गरिएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए।
सुलभ पसलमा रहेको मल जफत गरिएको छ। अनुदानको मल बिक्री गर्ने अनुमतिसमेत नभएको सुलभ पसलमा रहेको युरिया २५, डीएपी ६ र पोटास ५ बोरा जफत गरिएको महानगरको कृषि महाशाखाले जनाएको छ। जफत गरिएको मल साल्ट ट्रेनिङ कर्पाेरेसनमा फिर्ता गरिएको छ। यस पसललाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार २० हजार जरिबाना गरिएको महाशाखाले जनाएको छ।
अनुगमनका क्रममा अनुदानको मल तोकेको मूल्यभन्दा १५ रुपैयाँ बढीमा बिक्री गरेको पाइएपछि त्यस्ता पसललाई कारबाही गरिएको हो। अनुदानको मल तोकेको मूल्यभन्दा बढी मूल्यमा बिक्री गरेको, आफ्नो कार्य क्षेत्रभन्दा बाहिर बिक्री गरेको आधारमा उपभोक्ता सहकारी संघलाई कारबाही गरिएको कृषि महाशाखा प्रमुख कडरियाले जानकारी दिए।
पोखरा महानगरपालिका मल वितरण व्यवस्थापन समितिका संयोजक महानगर उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वको टोलीले अनुगमन गरेको थियो। कास्कीका प्रमुख जिल्ला अधिकारीसहित बसेको बैठकले दुवै पसल र सहकारीलाई २०/२० हजार रुपैयाँका दरले जरिबाना गर्ने निर्णय गरेको थियो। पोखरा महानगरले सहकारी संघको अनुदान मल बिक्रेता अनुमति खारेज गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस !
