कचनकवलमा खोलाले बगाउँदा वृद्धको मृत्यु
झापा : झापाको कचनकवलमा अदुवा खोलाले बगाउँदा एक वृद्धको मृत्यु भएको छ।
मृत्यु हुनेमा कचनकवल गाउँपालिका-१ निवासी ८० वर्षीय नरबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। प्रहरीका अनुसार बिहीबार दिउँसो साढे २ बजे खोलामा नुहाउन पसेका राईलाई खोलाले बगाएको थियो।
खोलाले बगाएर बेपत्ता बनेका उनको खोजीका लागि तत्काल सशस्त्र, नेपाल प्रहरी र स्थानीय परिचालन भएका थिए। खोजी गर्ने क्रममा उनको शव कचनकवल-१ घेराबारीको पुल नजिक साँझ ६:२० मा फेला परेको डीएसपी रिजालले बताए।
बेपत्ता राईको खोजीका लागि कोसी प्रदेश प्रहरी विपद व्यवस्थापन गुल्म भद्रपुरका प्रसनि टेकवीर बिकको कमान्डमा १३ जनाको टोली उद्धार सामग्रीसहित खटिएको थियो। डीएसपी रिजालले भने,'करिब ४ घण्टापछि शव फेला पर्यो, शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएका छौँ।'