तीन दिन पहाडी भूभागमा पहिरो र सहरी क्षेत्रमा डुवानको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौं : शनिबारदेखि सोमबारसम्म देशका सातवटै प्रदेशमा भारी वर्षा हुने भएको छ। जसका कारण पहाडी भूभागमा पहिरो र सहरी क्षेत्रमा डुवानको जोखिम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले शुक्रबार विशेष बुलेटिन जारी गर्दै तीन दिन देशको पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, सहरी क्षेत्रहरूमा डुवानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने जनाएको छ।
दैनिक जनजीवन तथा सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायलाई महाशाखाले अनुरोध गरेको छ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेको छ। यसका साथै भारतको विहारको उत्तर पश्चिम भू-भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ। आगामी केही दिनसम्म मनसुनको न्यून चापीय रेखा अझै नेपाल नजिक सर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।