माधव नेपाललाई इंगित गर्दै ओलीले भने- दक्षिणपन्थी स्वार्थ बोकेका झोले हुन्
काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले यथास्थितीवाद र वामपन्थको कहिल्यै पनि मेलमिलाप नहुने बताएका छन्। मंगलबार पार्टीको बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले वामपन्थी चिन्तनलाई यथास्थितिवादीले सुन्न नचाहने भएकाले यथास्थितीवाद र वामपन्थको कहिल्यै पनि मेलमिलाप नहुने बताएका हुन्।
'वामपन्थले त्यसमा सुधार चाहन्छ। परिवर्तन चाहन्छ। चाहे संख्यात्मक होस चाहे गुणात्मक होस्,'उनले भने,'वामपन्थी चिन्तलाई यथास्थितिवादीले सुन्न चाहदैन। यसैले मेलमिलाप हुँदैन।'
ओलीले जुन बाटोले परिस्थितलाई इजाजत दिन्छ कम्युनिष्ट आन्दोलन पनि त्यही बाटोमा जाने बताए। अध्यक्ष ओलीले जनता समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाललाई इंगित गर्दै दक्षिणपन्थी स्वार्थको झोले भएको टिप्पणी गरे।
नेपालले एमालेमै हुँदा पनि वामपन्थी दुई तिहाइको सरकार ढाल्नका लागि दक्षिणपन्थी सरकार बनाउनका लागि भोट हालेको आरोप लगाए। नेपालले युवा आन्दोलनलाई समाप्त पार्नका लागि अदालतसम्म पुगेको उनको भनाइ छ।
'हामीलाई पनि भन्छन् झोले । तर,खास वामपन्थी भनेका दक्षिणपन्थीको स्वार्थ बोक्ने झोले हुन्,' उनले भने, 'नामका वामपन्थी, साइनबोर्ड वामपन्थी,स्वार्थहरूको झोला बोकेका छन्। दक्षिणपन्थीको स्वार्थको झोला बोक्नेहरू हुन् झोले। शब्द नराम्रो लागेपनि मिलाएर बुझ्नुहोला।'