कोसी प्रदेश : भ्रमणको विवरण दिँदैन मुख्यमन्त्री कार्यालय, जिम्मेवारीबाट पन्छिदै सूचना अधिकारी

कोसी प्रदेश : भ्रमणको विवरण दिँदैन मुख्यमन्त्री कार्यालय, जिम्मेवारीबाट पन्छिदै सूचना अधिकारी
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

सूचनाको हकका अभियन्ता राजु श्रेष्ठका अनुसार मागकर्तालाई सहज ढंगले सूचना उपलब्ध गराउनुपर्ने नियमको धज्जी उडाउँदै कर्मचारीले सूचना लुकाउनु कानुनको ठाडो उल्लंघन हो ।

विराटनगर : कोसी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भ्रमण एवं अनुगमनसँग सम्बन्धित विवरण सहज ढंगले उपलब्ध गराउन अस्वीकार गरेको छ । सूचनाको हक प्रयोग गरेर आर्थिक वर्ष २०७९/०८० मा कर्मचारीको भ्रमण एवं अनुगमनसँग सम्बन्धित विवरण सीडीमा माग गर्दा कार्यालयले दिन नमानेको हो । 

सूचना मागकर्तासँग अस्वभाविक हिसाबले प्रस्तुत हुँदै सूचना अधिकारी दिनेश ढुंगाना जिम्मेवारीबाट पन्छिन्छन् । प्रचलित कानुनको ठाडो उल्लंघन गर्दै उनले ‘तपाईंहरूले भने जसरी सूचना दिन्न,जहाँ गएर जे गर्दा पनि हुन्छ,'भन्दै चुनौती दिन्छन् । 

प्रदेशका सबै मन्त्रालयको नेतृत्व गर्ने निकाय मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भ्रमणको विवरण लुकाउन सक्रिय रहेको ढुंगानाको शंकास्पद व्यवहारले प्रष्ट हुने सूचनाको हकका अभियन्ता राजु श्रेष्ठले बताए । उनका अनुसार भ्रमणका नाममा भ्रष्टाचार गरिएकाले विवरण लुकाइएको हुनसक्छ । प्रदेश सरकार पारदर्शी हुन नसकेको तथा अनियमितता बढेको भनेर सर्वत्र आलोचना भइरहेको छ । 

गत आर्थिक वर्षको भ्रमण र त्यसवापतको खर्चको पूर्ण विवरण माग गर्दै मुख्यमन्त्री कार्यालयमा असार १३ गते पहिलोपटक सूचना माग गरिएको थियो । सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ७ को सूचना प्राप्त गर्ने कार्यविधि बमोजिम आर्थिक वर्ष २०७९/०८० मा कर्मचारीले गरेको भ्रमणको विवरण,सहभागी कर्मचारीको नामावली, भ्रमणको मिति, भ्रमण गरिएका स्थान, भ्रमण गरिएको जम्मा दिन र भ्रमणमा भएको खर्चको प्रमाणित प्रतिलिपि इमेलमार्फत् माग गरिएको हो । तर,समयमा सूचना उपलब्ध भएन । 

सूचना उपलब्ध नभएको भनेर प्रमुख सचिव तथा सूचना अधिकारीलाई सम्बोधन गर्दै असार ३१ गते उजुरी गरियो । त्यसमा भ्रमण आदेश, अभिलेख खाता, अन्तर प्रदेशसहित सबै खाले भ्रमणका प्रतिवेदन, खर्चको विस्तृत विवरण, कर्मचारीलाई दिइएको भुक्तानी तथा गाडी, इन्धन र होटलबासमा भएको खर्चको विवरण, भ्रमणका बिल भौचर एवं भ्रमणका लागि छुट्याइएको बजेटको प्रमाणित प्रतिलिपि, भ्रमणमा गएको कार्यालय र कामको विस्तृत तथा छुट्टाछुट्टै विवरण माग गरिएको थियो । 

अनियमितता ढाकछोप गर्न कार्यालयले अर्को अनौठो निर्णय पनि गरेको छ । भ्रमणको बिल भौचर माग गरिएपछि व्यक्तिगत गोपनीयताको हकलाई कारण देखाउँदै कर्मचारीको स्थायी ठेगानालगायतका विवरण उपलब्ध गराउन नसकिने भनेर निर्णय गरेको हो ।

पहिलो निवेदन परेको १५ दिनभित्रमा सूचना उपलब्ध गराउनुपर्ने नियम छ । त्यसअनुसार नभए कार्यालय प्रमुखलाई सम्बोधन गरेर उजुरी गर्नसक्ने व्यवस्था सूचनाको हकमा छ । उजुरीको सम्बोधन ७ दिनभित्रमा हुनुपर्छ । सम्बोधन नभएमा, तथ्यलाई तोडमोड गरिएमा, पूर्ण सूचना नदिए वा सूचना लुकाएमा राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गर्न पाउने व्यवस्था छ । कानुनको परिधिभित्र रहेर सूचना उपलब्ध गराउन दिएको निर्देशन पालना नगरेमा सार्वजनिक निकायका पदाधिकारीलाई आयोगबाट ऐनको दफा ३२ अनुसार कारबाही हुन्छ । 

सार्वजनिक निकायको प्रमुख वा सूचना अधिकारीले बदनियतपूर्वक सूचना दिन इन्कार गरेमा,आंशिक रुपमा वा गलत सूचना दिएमा वा सूचना नष्ट गरेमा १ हजारदेखि २५ हजार रूपैयाँसम्म जरिवाना र विभागीय कारबाही हुने व्यवस्था छ । सार्वजनिक निकायको प्रमुख वा सूचना अधिकारीले ऐनमा उल्लिखित समयभित्र सूचना नदिएमा जति दिन ढिलाई गरेको हो प्रति दिन २ सय रुपैयाँको दरले जरिवाना हुने व्यवस्था छ । 

राष्ट्रिय सूचना आयोगले गरेका आदेश तथा निर्णयहरुको पालना नगर्ने व्यक्तिलाई आयोगले १० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्छ । जरिवाना सम्बन्धित अधिकारीले आफ्नो तलव वा व्यक्तिगत सम्पत्तिबाट तिर्नुपर्ने हुन्छ । सूचना माग गरिएको पहिलो निवेदनलाई बेवास्ता गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उजुरीको भने सम्बोधन गर्दै सूचना तयार भएको जानकारी गरायो । सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ को उपदफा ३ खण्ड (ङ) आकर्षित हुने बाहेकका अन्य सूचना प्रवाह गर्ने निर्णय भएको हुँदा अन्य सम्बन्धित सूचनाहरुको प्रमाणित प्रतिलिपि तयार भएकाले सूचनाको हक सम्बन्धी नियमावली २०६५ को दफा ४ बमोजिम लाग्ने दस्तुर बुझाई सूचना प्राप्त गर्न सकिने व्यहोराको पत्र साउन ५ गते सूचना अधिकारी ढुंगानाले पठाएका थिए । 

अनियमितता ढाकछोप गर्न कार्यालयले अर्को अनौठो निर्णय पनि गरेको छ । भ्रमणको बिल भौचर माग गरिएपछि व्यक्तिगत गोपनीयताको हकलाई कारण देखाउँदै कर्मचारीको स्थायी ठेगानालगायतका विवरण उपलब्ध गराउन नसकिने भनेर निर्णय गरेको हो । त्यस सम्बन्धी टिप्पणी उठाएर आदेश नै उठाएर सदर गरिएको छ । बिलमा कर्मचारीको स्थायी ठेगाना खुलेको हुन्छ । 

भ्रमण तथा अनुगमनको विवरण माग गरिएको उजुरीलाई आधार बनाउँदै सूचना अधिकारी ढुंगानाले टिप्पणी र आदेश तयार गरेर साउन ४ गते प्रदेश सचिव माधवप्रसाद पोखरेलसमक्ष पेस गरेको पाइएको छ । त्यसलाई कार्यालयका प्रवक्तासमेत रहेका सचिव पोखरेलले आदेश हुन मनासिव देखिएको भन्दै प्रमुख सचिव डा. दीपक काफ्लेसमक्ष निर्णायार्थ पेस गरेका थिए । 

सूचना अधिकारी ढुंगानासहित प्रदेश सचिव पोखरेल, उपसचिव नायक, अधिकृत पराजुलीलगायतका कर्मचारीले भ्रमणका नाममा विभिन्न स्थानमा गएको देखाएर गैरकानुनी हिसाबले भत्ता बुझेको स्रोतले बतायो ।

त्यसपछि साउन ५ गते कानुन महाशाखाका अधिकृत राजेन्द्र पराजुलीले कर्मचारीको स्थायी र बसोबास गरेको ठेगानासमेतको विवरण सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ को उपदफा ३ खण्ड (ङ) आकर्षित हुने हुँदा सो विवरणबाहेकका सूचना उपलब्ध गराउन मनासिव हुने भन्दै निर्णायार्थ पेस गरे । फेरि त्यसलाई कानुन महाशाखाका उपसचिव गणेश नायक हुँदै प्रदेश सचिवमार्फत पुर्‍याइएपछि प्रमुख सचिवले सदर गरिदिएका हुन् । 

भ्रमण खर्चको बिल उपलब्ध नगराउने नियतका साथ कार्यालयले त्यस्तो निर्णय लिएको एक कर्मचारी बताउँछन् । विराटनगर घर भएका कर्मचारीले विराटनगरमै काज लिएर ४/५ दिनसम्मको भत्ता बुझेको जानकारी आएपछि भ्रमण आदेश, प्रतिवेदन र बिल माग गरिएको थियो । 

कानुन अनुसार सूचना इमेलमै पठाइदिन वा १० पेजभन्दा बढी हुँदा सीडीमा उपलब्ध गराएमा कानुन बमोजिम लाग्ने दस्तुर तिर्ने भनेर दिएको निवेदनलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले अस्वीकार गर्‍यो । सूचना १ हजार १ सय ५२ पेजको रहेकाले दस्तुर (५ हजार ७ सय ६० रूपैयाँ) तिरेर लैजान भनियो । जबकि कानुनले सूचना मार्गकर्तालाई सहज हुने गरी सूचना उपलब्ध गराउनुपर्ने व्याख्या गरेको छ । 

कानुनअनुसार सीडीमा सूचना उपलब्ध गराउँदा मागकर्तालाई मूल्य कम (५० रूपैयाँ मात्रै) पर्न जान्छ । तर, धेरै पेज देखाएर बढी पैसा तिर्नुपर्नेभन्दै मागकर्तालाई हच्काउने र सूचनाबाट विमुख बनाउने काम भएको छ । पेज नै लिँदा एउटाको ५ रूपैयाँका दरले शुल्क लाग्छ । 

उजुुरीपछि कार्यालयले कर्मचारीको नाम,पद, भ्रमणका खटिएको स्थान, मिति र भ्रमण गरिएको जम्मा दिन मात्रै उपलब्ध गरायो । खर्चलगायतका अरु विवरण समेटेर सीडीमा सूचना तयार गर्न समय लाग्नेभन्दै मागकर्तालाई सूचना अधिकारी ढुंगानाले फर्काइदिएका थिए । फेरि उनले सूचना तयार भएकोले लाग्ने दस्तुर तिरेर लैजान भन्दै साउन २३ गते अर्को पत्र पठाए । 

स्रोतका अनुसार अनुगमन, भ्रमण र काज भनेर काम नै नगरी तथा फिल्डमै नगइकन रकम कुम्ल्याउने एवं दोहोरो तथा अधिक सुविधा लिने, अनुगमन भनेर घरपायक काज मिलाउँदै घरमा बसेर भत्ता लिने र प्रतिवेदन सार्वजनिक नगर्नेजस्ता बेथिति मौलाएको छ ।

सीडीमा सूचना उपलब्ध गराइदिन माग गर्दै सूचनाको हक सम्बन्धी नियमावली २०६५ को नियम ४ उपनियम १ (ग) बमोजिम लाग्ने दस्तुर (५० रूपैयाँको हुलाक टिकट टाँस गरेर) तिरेर मंगलबार (साउन ३० गते) निवेदन दिइएको थियो । सूचना अधिकारी ढुंगानाले टिकटलाई सदर गरिदिए । तर, नियमावली बमोजिम दस्तुर बुझाई सूचना प्राप्त गर्नु हुनभन्दै उनले उक्त निवेदनलाई कानुनविपरीत दरपिठ गरे । टिकटलाई सदर गरेपछि सीडीमा सूचना उपलब्ध गराउनुपर्ने नियम छ । तर, ढुंगानाले ठाडै अस्वीकार गरेका हुन् । 

‘सीडी बराबरको रकम बुझेर सीडीमा सूचना उपलब्ध गराइन । त्यो रकम नियम अनुसार फिर्ता हुनुपर्छ,’सूचनाको हकका अभियन्ता श्रेष्ठले भने, ‘कि सीडीमा सूचना दिनुपर्छ । नत्र सूचना अधिकारीलाई विभागीय कारबाहीको माग गर्छौं ।’ उनका अनुसार धेरै पेज देखाएर पैसा बढी तिर्न बाध्य पार्दै सूचना मागकर्तामाथि दबाब सिर्जना गर्नु कानुनविपरीत हो । 

श्रेष्ठ सूचना तयार भएको भनेर पत्र पठाएपछि पटकपटक मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पुगेको बताउँछन् । ६ पटकसम्म पुग्दा पनि सूचना उपलब्ध नगराइकन रित्तो हात फर्काइएको जानकारी उनले दिए । भ्रमणको बेथिति सार्वजनिक हुने डरले भरसक सूचना नलैजाउन् भन्ने योजना मुताबिक दुःख दिने नियत राखिएको उनको भनाइ छ । श्रेष्ठका अनुसार मागकर्तालाई सहज ढंगले सूचना उपलब्ध गराउनुपर्ने नियमको धज्जी उडाउँदै कर्मचारीले सूचना लुकाउनु कानुनको ठाडो उल्लंघन हो ।

उनले सूचना उपलब्ध गराउने जिम्मेवारीमा बसेका अधिकारीमाथि कारबाही हुनुपर्ने पनि बताए । सूचना अधिकारी ढुंगानासहित प्रदेश सचिव पोखरेल, उपसचिव नायक, अधिकृत पराजुलीलगायतका कर्मचारीले भ्रमणका नाममा विभिन्न स्थानमा गएको देखाएर गैरकानुनी हिसाबले भत्ता बुझेको स्रोतले बतायो । नायक यसअघि आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा कार्यरत थिए । 

अनुगमन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउनुपर्ने व्यवस्था छ । भ्रमण अभिलेख खाता सार्वजनिक ठाउँमा सबैले देख्ने गरी टाँस गर्नुपर्ने वा सार्वजनिक गर्नुपर्ने व्यवस्थालाई कर्मचारीले चुनौती दिइरहेका छन् ।

अभियन्ता श्रेष्ठ बदमासीपूर्ण ढंगले निर्णय गरेर भ्रष्टाचार ढाकछोपको प्रयास गरिएको बताउँछन् । जनताले तिरेको कर खर्च गरेर राज्यमाथि ब्रह्मलूट मच्चाउने कर्मचारी सूचना लुकाउन सक्रिय रहेको उनले बताए । त्यसविरुद्ध कानुनी उपचार खोज्दै प्रदेश सरकारका मन्त्रालयमा भ्रमणका नाममा भइरहेको अनियन्त्रित खर्च र भ्रष्टाचार रोक्न आवश्यक देखिएको उनले बताए । उनका अनुसार सूचना बाहिर आउँदा अनियमितता सार्वजनिक हुने डरले प्रचलित कानुनको अपव्याख्या गर्दै भ्रमणसँग सम्बन्धित महत्वपूर्ण विवरणलाई ‘गुपचुप’ राखिएको छ । 

सबै खर्चको विवरण प्रत्येक महिना वेभसाइट वा सूचना पार्टीमार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । कर्मचारीकै मिलेमतोमा मासिक खर्चको फाँटवारी सार्वजनिक नगरिकन लुकाउने गरिएको हो । अनुगमन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउनुपर्ने व्यवस्था छ । भ्रमण अभिलेख खाता सार्वजनिक ठाउँमा सबैले देख्ने गरी टाँस गर्नुपर्ने वा सार्वजनिक गर्नुपर्ने व्यवस्थालाई कर्मचारीले चुनौती दिइरहेका छन् । अनुगमन एवं भ्रमणका तथ्यलाई बाहिर ल्याएर पारदर्शी बनाउन प्रत्येक ४ महिनामा सार्वजनिक सुनुवाइ गर्नुपर्ने हुन्छ ।

हालसम्म एउटा पनि सार्वजनिक सुनुवाइ भएको छैन । भ्रमण र अनुगमनका नाममा मनमौजी खर्च गरेर अनियमितता गरेकै कारण विवरण लुकाएर नागरिकप्रति जवाफदेही हुनबाट कर्मचारी पछि हटेको आशंका छ । स्रोतका अनुसार अनुगमन, भ्रमण र काज भनेर काम नै नगरी तथा फिल्डमै नगइकन रकम कुम्ल्याउने एवं दोहोरो तथा अधिक सुविधा लिने, अनुगमन भनेर घरपायक काज मिलाउँदै घरमा बसेर भत्ता लिने र प्रतिवेदन सार्वजनिक नगर्नेजस्ता बेथिति मौलाएको छ । वित्तीय अनुशासनविपरीतका यस्ता कार्यले सार्वजनिक खर्चमा मितव्ययीता अपनाउने सरकारको नीतिलाई ठाडै चुनौती दिइरहेको छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव एवं प्रवक्ता माधवप्रसाद पोखरेलले सूचना उपलब्ध गराउन कुनै समस्या नरहेको दाबी गरे । ‘नियम पूरा गरेर आउँदा सूचना दिन समस्या छैन । हामी पारदर्शी छौं,’उनले भने । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.