चितवनमा सवारी दुर्घटना : २० जना घाइते, ७ गम्भीर
चितवन : पूर्व पश्चिम राजमार्गअन्तर्गत चितवनको टिकौली जंगलमा कलेजको बसले बोलेरोलाई ठक्कर दिँदा २० जना घाइते भएका छन्।
भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना १ क ६१३१ नम्बरको अक्सफोर्ड कलेजको बसले बुधबार पौने १२ बजे भरतपुर महानगरपालिका- ९ टिकौली जङ्गलमा मोटरसाइकल, स्कुटर र शव बोकेको गाडीलाई ठक्कर दिएको हो। दुर्घटनामा घाइते भएकामध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ।
उक्त कलेजको बसले विपरित दिशाबाट आउँदै गरेको ना २ च ८४४६ नम्बरको शव बोकेर देवघाट जाँदै गरेको बलेरोलाई ठक्कर दिई बा.प्र.०६-००१ प ९९८१, बा.प्र.०३-००५ प ९७, ना ६२ प ६०३२, बा.प्र.०३-००१ प ४१४७ मोटरसाइकलहरु र बा.प्र.०६-००१ प २२९४ र बा.प्र.०३-००२ प ४१९८ नम्बरको स्कुटरसहित सवारी साधनहरु एक आपसमा ठक्कर खाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजय पण्डितले बताए।
दुर्घटनामा चितवनको खैरहनी नगरपालिका- ४ का ६५ वर्षीय कृष्णबहादुर तामाङ, खैरहनी-१ का ८२ वर्षीय जितबहादुर तामाङ , रत्ननगर नगरपालिका-१४ का ५५ वर्षीय कुशुम बहादुर राना, ३८ वर्षीय सुरेश श्रेष्ठ, रत्ननगर- ९ का ३५ वर्षीय किशोर तामाङ, मकवानपुर हेटौंडा उपमहानगरपालिका-१४ का ६५ वर्षीय मोहन तामाङ, ५५ वर्षिय डोल बहादुर कार्की गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
घाइतेहरुको भरतपुर सरकारी अस्पताल र नयाँ मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बस चालक नवलपुर गैडाकोट नगरपालिका-९ का २६ वर्षीय आशिष परियार प्रहरीको नियन्त्रणमा छन्।