काठमाडौं : सिमली लेउ खानुभएको छ ? छैन भने चाख्नुहोला– ट्राउट माछाको जस्तै स्वाद पाउनुहुनेछ। तिहारका बेला त यसको बेग्लै महत्त्व हुन्छ। दिदीबहिनीले तेलमा तारेर पापड जस्तै गरी दाजुभाइलाई दिने चलन छ। त्यति मात्र होइन, यो खायो भने नसा र पिसाबसम्बन्धी रोग पनि निको हुने विश्वास गरिन्छ। पनौती–२ को रोशी खोलामा मात्र पाइने यो लेउ आजभोलि भने संकटमा पर्दै गएको छ।
ढुंगाखानीका कारण रोशीको पानी प्रदूषित हुँदै जाँदा विशिष्ठ प्रकारको ‘सिमली लेउ’ संकटमा पर्दै गएको हो। यो लेउ लोप हुने अवस्थामा पुगेको वनस्पति विभागका वरिष्ठ अनुसन्धान अधिकृत रमेशबहादुर बस्नेत बताउँछन्। खानीबाट ढुंगा निकाल्दा पानी धमिलो हुने लगायतका समस्याले परम्परागत लेउ हराउँदै गएको उनले बताए। ‘विशिष्ठ मौलिक वातावरणमा मात्रै हुने भएकाले सानो अवरोधले पनि सिमली लेउको वासस्थान हराउँदै गएको छ,’ उनले भने, ‘यसको वृद्धिविकासका लागि सफा, निरन्तर बग्ने र चिसो पानी चाहिन्छ।’
पनौती–२ का ५६ वर्षीय गणेश शाहीका अनुसार सिमली लेउबाट बनेको परिकार विशेषगरी भाइटीकामा प्रयोग हुने गर्थे। ‘विशिष्ट परिकारका रूपमा हेरिने यस लेउको स्वाद ट्राउट माछाको जस्तै हुने र स्थानीयले चिउरासँग खान्छन्,’ शाहीले भने, ‘सिमली लेउ खाँदा नसा र पिसाबको समस्या निको हुने विश्वास छ।’ रोशी खोलाको लेउ कुनै बेला नारायणहिटी राजदरबारसम्म पुग्थ्यो रे भनेर आफूलाई हजुरआमाले सुनाएको शाहीले बताए। ‘बाल्यकालमा मैले देखेको भन्दा रोशीखोलाको लेउ ७० प्रतिशत त हराइसक्यो,’ शाहीले भने।
सडक निर्माण, बाढीपहिरोले खोलाका धार परिवर्तन र लेउको बासस्थान भएको ढुंगा निकाल्ने गरिएकाले पनि लेउ हराउँदै गएको हो। माछा मार्न प्रयोग हुने रसायन, कृषिजन्य र घरेलु फोहोरले पानी प्रदूषित हुँदा पनि लेउ संकटमा पर्ने गरेको वरिष्ठ अनुसन्धान अधिकृत बस्नेतले बताए।
अध्ययनका क्रममा गोदावरीमा पनि सिमली लेउ फेला परेको थियो। तर, गोदावरी खोलाको पानी खानेपानी तथा सिँचाइका लागि संकलन गर्न थालिएपछि सिमली लेउ हराएको थियो। सिमली लेउको वृद्धिविकासका लागि सूर्यको प्रकाश चाहिन्छ। तर, गोदावरीमा झाँडीले सूर्यको प्रकाश छेकेको छ। बस्नेतले भने, ‘लेउका बासस्थान भएका ढुंगाहरू निकाल्दा पनि गोदावरीबाट सिमली लेउ लोप भएको हो।’
दुई दशकदेखि सिमली लेउको विषयमा अध्ययन गर्दै आएका बस्नेतले गोदावरीका खोलामा पहिलाको अवस्थामा फर्काउन प्रयास गरे पनि सफल नभएको बताए। उनले भने, ‘लेउ पलाउने ढुंगाहरू ल्याएर दुईचार पटक परीक्षण गरेँ, पानीमा भएको प्रदूषणले लेउ पलाउन दिएन।’ जलीय पारिस्थितिक प्रणालीलाई संरक्षण गर्दै यस्ता वनस्पतिको संरक्षण गर्न सके खाद्यस्रोतको रूपमा विकास गर्न सकिने उनको भनाइ छ। यस्ता महत्वपूर्ण चिजहरू लोप हुँदै जाँदा त्यहाँको पहिचान र सभ्यता पनि मासिने बस्नेत बताउँछन्।
विभागका, वरिष्ठ अनुसन्धान अधिकृत बस्नेतका अनुसार सिमली लेउमा पोषणहरू प्रोटिन, कार्बोहाइडेड, बोसो, रेशा, फलाम आदि पाइन्छन्। वनस्पति विभागले ल्याबमा परीक्षण गर्ने, प्रवद्र्धन गर्ने लगायतका काम गरिरहेको छ। अन्य वनस्पतिभन्दा १० देखि ३० प्रतिशत बायोमास बढी हुन्छ। यसबाट औषधि, जैविक इन्धन, जैविक मल, सौन्दर्यका सामग्रीहरू बनाउन प्रयोग हुने बस्नेतले बताए।
उनका अनुसार नेपालमा ९ सय ९८ प्रकारका लेउहरू पाइन्छन्। उक्त नम्बर विश्वमा पाइने लेउहरूको २.५ प्रतिशत हो। विश्वमा ३५ प्रजातिका लेउहरू वैज्ञानिक रूपमा स्वीकृत भएका छन्। सिमली लेउ रोशी खोलाको मुहानदेखि २ सय मिटर तलसम्म थोरै मात्रामा पाइन्छ। दसैंपछि जब खोलाको पानी सफा हुन्छ त्यसपछि लेउ संकलन गर्ने गरिन्छ।
लेउले कसरी उत्सर्जन घटाउँछ ?
प्रोफेसर हु जिस्याङ लेउको विषयमा अनुसन्धानरत छन्। अमेरिकाको मिजुरी राज्यमा रहेको मिजुरी विश्वविद्यालयमा सिभिल एन्ड इन्भारमेन्टल इन्जिनियरिङ विभागमा उनले दशकौंदेखि लेउहरूले कसरी पारिस्थितिक प्रणालीलाई स्वस्थ्य बनाउँछ भन्ने विषयमा अध्ययन गर्दै आएका छन्। लेउहरूको विषयमा विभिन्न तरिकाबाट अध्ययन गरिरहेका उनले वातावरणीय फाइदा खोजिरहेको बताए। हुले अन्नपूर्णसँग भने, ‘वातावरणमा लाखौं वर्षदेखि भण्डारण रहेको कार्बनलाई कसरी घटाउने त्यो खोजिरहेका छौं। कार्बन उत्सर्जन न्यूनीकरणमा लेउको भूमिका अध्ययन गरिरहेका छौं।’
लेउ उत्पादनका लागि प्रोफेसर हुलगायत अन्य वैज्ञानिकहरू प्रदूषित पानी शुद्धीकरणमा लागेका छन्। उनीहरू प्रदूषित पानीलाई स्वच्छ बनाएर त्यहाँ लेउ उत्पादन गर्दै आएका छन्। प्रदूषित पानी स्वच्छ बनाउन त्यहाँ लेउ उत्पादन गर्ने र त्यो पानीलाई नदीमा पठाउने गर्छन्। उनले भने, ‘स्वभावले पनि लेउको वृद्धिविकास सूर्यको प्रकाशबाट हुन्छ। यसले हावामा भएको कार्बन सोसेर आफे वृद्धि गर्छ। त्यसैले लेउ उत्पादनले वातावरणमा भएको कार्बनको मात्रा घटाउन मद्दत गर्छ।’
प्रोफेसर हुका अनुसार हाल कोलम्बिया सहरको नगरपालिका, विद्यालय, कलेजलगायतका संस्थाहरूबाट निस्किने फोहोर पानीको प्रशोधन भइरहेको छ। अझै ठूलो मात्रामा शुद्धीकरण गर्ने र वातावरण स्वच्छ बनाउने लक्ष्य रहेको उनले जनाए। विकसित देशमा प्रत्येक व्यक्तिले दैनिक ६० देखि १ सय ग्यालेन पानी खपत गर्छ। उक्त मात्रा धेरै भएको र त्यसले जलाशयहरू मात्रै नभएर, पूरै पारिस्थितिक प्रणालीलाई दूषित बनाइरहेको हुको दाबी छ। तर, त्यस्ता पानीलाई शुद्धीकरण गर्दै लेउ उत्पादन गर्न सके अन्य खालका फाइदा पनि लिन सकिने उनले बताए।
लेउ अत्यन्त राम्रो पोषणको स्रोतको रूपमा लिइन्छ। प्रोफेसर हुले उनका छोराले दैनिक लेउबाट बनेको पाउडर खाँदै आएको प्रसंग पनि सुनाए। लेउबाट बनेका पाउडरले पाचन प्रक्रिया, शारिरीक शक्ति बलियो बनाउने तथा स्वास्थ्यमा हुनसक्ने जोखिम घटाउने विश्वास छोराले गर्दै आएको हुले बताए। तर, नेपालका हकमा यस्ता विषयमा उचित अनुसन्धान भएका छैनन्। परम्परागत मूल्यमान्यता बोकेका लेउहरूको पनि संरक्षण भएको छैन।
वनस्पति विज्ञान केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालयका प्रोफेसर डा. चित्रबहादुर बानियाँ भन्छन्, ‘यस्ता लेउमा वातावरणीय प्रभाव अत्यन्त परेको छ। पनौतीमा पाइने सिमली लेउको प्रसंग कोट्याउँदै उनले भने, ‘पनौतीको सिमली लेउ सोल्टी होटलमा बेच्थे भन्ने पनि सुनिन्थ्यो। लेउ संकटमा परेसँगै त्यहाँका मानिसका रोजिरोटी पनि खोसियो।’