अर्घाखाँची अस्पतालमा भाइरल ज्वरोका बिरामी बढे
सन्धिखर्क : अर्घाखाँची अस्पताल सन्धिखर्कमा पछिल्लो समय भाइरल ज्वरोका बिरामी बढेका छन्। बिगत दुई सातादेखि अर्घाखाँची जिल्ला अस्पताल तथा सरकारी निजी स्वास्थ्य संस्थामा भाइरल ज्वरो र स्क्रब टाइफाइसका बिरामी बढेका अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर जगन्नाथ तिवारीले बताए।
ओपिडीमा दैनिक डेढ सय बिरामी आउने गरेकोमा अहिले बढेर साढे तीन सय पुगेका उनको भनाइ छ। 'अहिले डेंगीका बिरामी पनि देखा परेका छन्। साउन महिनामा मात्र जिल्लाभरमा ३५ जनालाई डेंगी संक्रमण पुष्टि भएको छ। जसमा १५ जनालाई अस्पतालमा परीक्षण गर्दा पुष्टि भएको हो', उनले भने, 'स्क्रब टाइफसका बिरामी पनि बढेका छन्। गत साल स्क्रब टाइफाइसका कराण अर्घाखाँचीमा २ जनाको ज्यान गएको थियो।'
सामान्य ज्वरो देखिए पनि जचाउन र समयमै उपचार गर्न अस्पतालले सबैलाई आग्रह गरेको छ। रुघाखोकी जस्तो सामान्य देखिए पनि डेंगी र स्क्रब टाइफाइस समेत हुने भएकाले सचेत हुन पर्ने स्वास्थ्यकर्मीको भनाइ छ।
पछिल्लो समयमा अर्घाखाँची अस्पतालमा आखाका बिरामी अर्थात कन्जेक्टिभ भाइरसका बिरामी देखा परेका छन्। अस्पतालको आँखा उपचारक कक्षमा आँखाका बिरामीको चेक जाँच गर्दा दैनिक २५ देखि ३० जना आखाका बिरामी अर्थात कन्जेक्टिभ भाइरसका बिरामी देखिएका छन्।