जिल्ला अस्पताल फाप्लुमा एक सुत्केरीको मृत्यु
सोलुखुम्बु : सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुमा एक सुत्केरीको मृत्यु भएको छ। माप्यदुधकोशी गाउँपालिका- ३ खास्तापकी ३१ वर्षीया रुष्मा राईको मृत्यु भएको अस्पतालकी निमित्त प्रमुख सानी शेर्पाले जानकारी दिइन्।
उनका अनुसार बुधबार बेलुका ६ बजेर ४५ मिनेटमा सफल अप्रेसनमार्फत छोरीलाई जन्म दिएकी राईको राती करिब २ बजे मृत्यु भएको हो। अप्रेसनमा संलग्न चिकित्सक डा.सुरेन्द्र शाक्यका अनुसार सुत्केरी राईमा एम्नोटिक फ्लुइड इम्बोग्लिजमका कारण फोक्सोमा समस्या आएर ज्यान गएको हो। आमाको पेटभित्रै दिशा सेवन गरेका कारण आकस्मिक अप्रेसनमार्फत निकालिएको शिशुको पनि छातीमा समस्या देखिएको डा. शाक्यले बताए।
जिल्ला अस्पताल फाप्लुमा अप्रेसनपछि सुत्केरीको ज्यान गएको यो पहिलो घटना भएको अस्पताल प्रशासनले जनाएको छ। मृतकको शव आज बिहान परिवारले बुझेका छन् भने शिशुको अस्पतालमै उपचार भइरहेको जनाइएको छ।