आईटीएफका पदक विजेता खेलाडीलाई विराटनगरमा सम्मान
विराटनगर : भारतमा सम्पन्न ७ औं दक्षिण एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगिताका पदक विजेता खेलाडीलाई बिहीबार विराटनगरमा सम्मान गरिएको छ।
नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघ कोसी प्रदेशले एक कार्यक्रमको आयोजना गरेर पदक जित्ने खेलाडीलाई सम्मान गरेको हो। प्रतियोगितामा कोसी प्रदेशबाट १० खेलाडी सहभागी भएका थिए। खेलाडीहरूले ७ स्वर्ण, ६ रजत र ६ कास्य गरी १९ वटा पदक जितेका थिए।
मोरङकी कुसुम राजवंशीले २ स्वर्ण, सविना मगरले १ स्वर्ण र १ रजत, सोमबहादुर राजवंशीले १ स्वर्ण र १ रजत, केरिषा आचार्यले १ स्वर्ण र २ रजत, नितेश खवासले २ कास्य पदक जितेका हुन्।
त्यस्तै झापाका रोशन मगरले १ स्वर्ण र १ कास्य, श्यामप्रसाद बास्कोटाले १ कास्य, भोजपुरका वीरबहादुर तमाङले १ कास्य, सजिना तमाङले १ स्वर्ण, १ रजत र १ कास्य तथा पाँचथरका आलोक राईले १ रजत पदक जितेका थिए।
भारतको हैदरावादमा अगस्त ४ देखि ६ तारेखसम्म सञ्चालित प्रतियो नेपालबाट ४५ जना खेलाडीले प्रतिनिधित्व गरेका थिए। जसमा १० जना कोसी प्रदेशका थिए। खेलाडीहरूलाई कोसी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले बोर्ड सधैं खेल र खेलाडीको विकासमा सक्रिय रहेको उल्लेख गरे।
उनले आफू सदस्यसचिव भएपछि प्रदेशमा खेलकुदलाई चलायनमान बनाउँदै प्रदेशभर खेलकुदका विभिन्न प्रतियोगिता आयोजना गरिएको जानकारी दिए। खेलकुद बोर्डले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गर्नुका साथै उनीहरूको स्वास्थ्य बिमासमेत गर्दै आएको र आगामीमा दिनमा पनि यसलाई निरन्तरता दिने वाग्लेले बताए।
सदस्यसचिव हंसराज वाग्लेसहित आईटीएफ तेक्वान्दो महासंघका केन्द्रीय अध्यक्ष प्रवीणकुमार कार्की, विराटनगर महानगरपालिकाका वडाध्यक्षहरू जितेन थापा, बासु बस्नेत, तीर्थेन्द्र न्यौपाने, श्याम घिमिरे, सूर्यनारायण महतो, तेक्वान्दो संघका केन्द्रीय सदस्य चतुरलाल चौधरी, तेक्वान्दो संघका प्रदेश सचिव नवीन तामाङ र कोषाध्यक्ष ओमकुमार श्रेष्ठलगायतले खेलाडीलाई सम्मान गरेका हुन्।