विमान चार्टड गरेर ७०० बंगलादेशी नेपालमा

जुर्मुराउँदै पर्यटन

विमान चार्टड गरेर ७०० बंगलादेशी नेपालमा

काठमाडौं : पर्यटकीय र धार्मिक क्षेत्रहरूमा विशेष पहिचान बनाएको नेपाल विदेशी पर्यटकको घुम्ने सूचीमा अग्रस्थानमा पर्छ। धेरैले नेपाल रोज्छन्। विज्ञ भन्छन्, ‘नेपालले पर्यटनलाई प्राथमिकतामा राखेरमात्रै पनि काम गरे आर्थिक रूपमा सम्पन्न मुलुक बन्न सक्छ ।’ यही भनाइलाई पुष्टि गर्दै इतिहासमै पहिलो पटक सबैभन्दा बढी बंगलादेशी पर्यटक नेपाल भित्रिएका छन्। त्यो पनि विमान चार्टर्ड नै गरेर। शुक्रबार ३ सय बंगलादेशी नेपाल आए भने शनिबार पनि थप करिब ४ सय गरी ७ सय बंगलादेशी नेपाल आउनेछन्। 

शुक्रबार बिहान आएका पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आर्लिंदा नेपाल पर्यटन बोर्ड र पर्यटन व्यवसायीहरूले भव्य स्वागत गरे। कोभिड पछाडि नेपालको पर्यटन लयमा फर्किरहेको व्यवसायीहरू बताउँछन्। दक्षिण एसियामा बंगलादेशको अर्थतन्त्र सबैभन्दा छिटो बढी रहेको हुँदा घुम्न जाने नजिक गन्तव्यको रूपमा नेपाल पर्न सक्ने बोर्डका निर्देशक मणिराज लामिछाने बताउँछन्। 

भारतमा सहज रूपमा भिसा नपाइने भएकोले पनि नेपाल सस्तो र सहज गन्तव्य हुन सक्ने भन्दै गत वर्षबाट नै बोर्डले कार्यक्रमहरू गर्दै आएको उनले बताए ।

बंगलादेशको एकेआईजे गुप्रका ७ सय कर्मचारीलाई बंगलादेशको माउन्टेन टुर क्लब र सम्राट् ट्राभल नेपालले संयुक्त रूपमा नेपाल ल्याएको हो। विमान बंगलादेश र हिमालयन एयरलाइन्स चार्टर्ड गरी कम्पनीले नै आफ्ना कर्मचारीलाई घुमफिरका लागि (इन्सेन्टिभ गु्रप) नेपाल पठाएको नेपाल एसोसियसन्स अफ टुर एन्ड ट्राभल एजेन्ट्सका पूर्वअध्यक्ष सीएन पाण्डेले बताए। यो भ्रमण सफल भए आगामी दिनमा दुई लाख कर्मचारीलाई नेपाल घुम्न पठाउने कम्पनीको भनाइ रहेको पनि उनले सुनाए ।

नेपालमा कति आइरहेका छन् विदेशी पर्यटक ? 

नेपाल घुम्न आउने कुल पर्यटकमा बंगलादेशी पर्यटक मुख्य १० स्रोत बजारमा नै पर्छ। सन् २०२२ मा नेपाल घुम्न आएका कुल पर्यटकमध्ये बंगलादेशी पर्यटकको हिस्सा करिब ४ प्रतिशत छ। नेपालको राष्ट्रिय पर्यटन रणनीतिक योजना २०१६–२०२५ ले सन् २०२५ सम्ममा वार्षिक २५ लाखभन्दा बढी पर्यटकहरूको भ्रमण गराउने लक्ष्य लिएको छ। 

यद्यपि, यस अवधिमा स्थलमार्गबाट आउने भारतीय पर्यटकबाहेक वार्षिक औसत ७ लाख ३४ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन्। कोभिड–१९ महामारीका कारण सुस्ताएको पर्यटन क्षेत्रले पछिल्लो समयमा गति लिँदै गएको छ। स्थलमार्गबाट आउने भारतीय पर्यटकबाहेक सन् २०१९ मा करिब १२ लाख पर्यटकको आगमन भएकोमा कोभिड–१९ महामारीका कारण सन् २०२० र सन् २०२१ मा पर्यटक आगमन संख्या क्रमशः २ लाख ३० हजार र १ लाख ५१ हजारमा सीमित रहन पुगेको थियो। यद्यपि, सन् २०२२ मा भने पर्यटक आगमनमा उल्लेख्य वृद्धि भई ६ लाख १४ हजार ८ सय ६९ पुगेको छ। 

सन् २०२२ मा विभिन्न उद्देश्यले नेपाल भ्रमणमा आएका विदेशी पर्यटकबाट संकलन भएको विदेशी मुद्रा १९० प्रतिशतले बढेर कुल ४६ अर्ब ७६ करोड पुगेको छ। नेपालका पर्यटकीय गन्तव्यमध्ये लुम्बिनी प्रमुख पर्यटकीय गन्तव्यको रूपमा रहँदै आएको छ कोभिड–१९ को असर कम हुँदै गएसँगै लुम्बिनी भ्रमण गर्ने आन्तरिक र बाह्य पर्यटकको संख्यामा उत्साहजनक वृद्धि भएको छ। सन् २०२२ मा लुम्बिनी भ्रमण गर्नेमध्ये नेपाली ६ लाख ४९ हजार, भारतीय २ लाख ३१ हजार र अन्य मुलुकका २४ हजार गरी ९ लाख ४ हजार रहेका छन्। नेपाल भ्रमण गर्ने कुल पर्यटकमध्ये सबैभन्दा बढी ६४.७ प्रतिशत पर्यटकले बिदा÷मनोरञ्जन÷यात्राको लागि भ्रमण गरेका थिए। यसैगरी, १२.९ प्रतिशत तीर्थयात्रा, १०.० प्रतिशत पर्वतारोहण÷साहसिक यात्रा र १२.४ प्रतिशत अन्य उद्देश्यले नेपाल भ्रमण गर्ने गर्छन् ।

सन् २०२२ मा आएका पर्यटकमध्ये भारत ३४.५ प्रतिशत अमेरिका १२.५ प्रतिशत बेलायत २.३ प्रतिशत, अस्ट्रेलिया ४.४ प्रतिशत, बंगलादेश ४.१ प्रतिशत र अन्य मुलुकका ३७.६ प्रतिशत रहेका छन्। 
 
यस अवधिमा नेपाल आएका पर्यटकमध्ये भारत, अमेरिका, बेलायत, अस्ट्रेलिया र बंगलादेशबाट आएका पर्यटक ६२.४ प्रतिशत रहेका छन्। यस अवधिमा पर्यटकको औसत बसाइ १३.१ दिन रहेको र प्रतिपर्यटक प्रतिदिन औसत खर्च ४०.५ अमेरिकी डलर रहेको छ। सन् २०२० र सन् २०२१ मा पर्यटकको बसाइ अवधि औसत क्रमशः १५.१ दिन र १५.५ दिन रहेको थियो ।

सन् २०२३ को ७ महिनामा नेपालमा पर्यटकको संख्या ९८ प्रतिशतले सुधार भएको छ। कोभिड—१९ को महामारी यता सन् २०२३ मा पर्यटक संख्याको ग्राफ सुध्रिँदोे क्रममा नै छ। सन् २०२३ को ७ महिनासम्म भने कुल पर्यटक संख्या ५ लाख ३४ हजार २ सय ७ पुगेको नेपाल पर्यटन बोर्डको तथ्यांक छ। सन् २०२३ को जुलाई महिनामा हवाई मार्गबाट नेपालमा आउने पर्यटकको संख्या ५७ हजार ७ सय २६ पुगेको छ। सन् २०१९ को सोही महिनामा ५८ हजार ८ सय ११ पर्यटक नेपाल आएका थिए। सन् २०२३ मा १० लाख पर्यटक भिœयाउने सरकारी लक्ष्यमा अहिलेसम्म करिब ५० प्रतिशत पर्यटक आएका छन्। लक्ष्य प्राप्तिका लागि आगामी पाँच महिनामा पाँच लाखभन्दा बढी पर्यटक आउनुपर्ने देखिन्छ। 

सेप्टेम्बर, अक्टोबर र नोभेम्बरलाई पर्यटकीय सिजनको रूपमा हेरिने हुँदा लक्षित पर्यटक संख्या पुग्नेमा बोर्ड विश्वस्त छ। सरकारले सन् २०२३ मा १० लाख पर्यटक भिœयाउने लक्ष्य लिएको छ। जुन, जुलाई र अगस्ट जहिले पनि अफ सिजन भएकोले पर्यटक संख्यामा अन्य महिनाको तुलनामा कम नै हुने गरेको बोर्डका निर्देशक लामिछाने बताउँछन् ।

लगानीभन्दा पर्यटक लक्ष्य कम

सरकारले सन् २०२३ को पर्यटक लक्ष्य १० लाख पर्यटक संख्यालाई मानेको छ। जबकि सन् २०१९ मा नै करिब १२ लाख पर्यटक नेपाल आइसकेका छन्। कोभिडपछि पर्यटन पूर्वाधारमा भएको वृद्धिले तत्काल नै २५ लाख पर्यटकलाई सेवा दिन सक्छन्। कोभिडयता समग्र पर्यटन क्षेत्रमा करिब ४ खर्ब लगानी थपिएको अनुमान पर्यटनविद् दीपकराज जोशीको छ। ठूला चेन होटलदेखि विविध पर्यटकीय गतिविधि बढिरहेको जोशीको भनाइ छ। पाँचतारे होटलमात्रै करिब १७ छन्। दुषित थानी र दुषित प्रिन्सेस गत महिनामात्रै सञ्चालनमा आएका छन् भने होटल सेराटन, शिन्तामणिलगायतका चेन होटल निर्माणाधीन छन् ।

अझ कोभिडपछि प्राकृतिक गन्तव्यमा पर्यटक जान रुचाउने भएकोले पनि नेपाल उनीहरूका लागि उपयुक्त हुने विज्ञ जोशीको भनाइ छ। पर्यटक आकर्षकको केन्द्र बिन्दु पनि भएकोले र पूर्वाधार पनि तयार भएकोले सरकारले लक्ष्य लिन कन्जुस्याइँ गर्न नहुने उनको भनाइ हो। 

वार्षिक करिब ३५ लाख पर्यटकलाई सेवा दिने क्षमताका होटल सञ्चालन भए पनि सो अनुरूप पर्यटन बजार बढ्न नसकेको होटल संघ नेपालका अध्यक्ष विनायक शाह बताउँछन्। ‘होटलको संख्या धेरै छ, तर, सोअनुसारको पर्यटक आगमन बढेको छैन। ओभर सप्लाई भएको छ। अन्य पूर्वाधार जस्तै, विमानस्थल, सडकलगायतले पनि साथ दिएको छैन,’ शाह भन्छन्। अहिले एक चौथाइ क्षमतामा मात्र होटलहरू सञ्चालनमा रहेको अध्यक्ष शाह बताउँछन् ।

आर्थिक सर्वेक्षण २०७९÷०८० अनुसार डिलक्ससहित पाँचतारे होटल १ सय ७३ र अन्य होटल तथा रिसोर्टको संख्या १ हजार २ सय २८ छ। पाँचतारे होटलमा भएका शय्या संख्या १६ हजार ३ सय ३५ र होटल तथा रिसोर्टको शय्या संख्या ३७ हजार ३० पुगेको छ। होटल क्षेत्रमा थप लगानी बढी रहेकोले यसको व्यवस्थापन चुनौती बन्दै गएको संघ अध्यक्षको भनाइ छ। काठमाडौंमा मात्रै झन्डै नेपालमा ९ वटा तारे होटल निर्माणको चरणमा रहेको र करिब दुई वर्षभित्र सञ्चालनमा आउने उनी बताउँछन्। पर्यटक आउने सक्ने सम्भावना रहेकोले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण सञ्चालनसँगै सडक सञ्जाल पनि विस्तार गर्न उनी जोड दिन्छन्। 

पर्यटकीय नगरी पोखरा र चितवनमा पनि कोभिडपछि पर्यटक संख्या बढेको छ तर, होटलको संख्या पनि बढेकोले भागबन्डामा चलेको व्यवसायीहरू बताउँछन्। पर्यटन बोर्डले आगमनको तथ्यांक देखाएर बढेको भने पनि पर्यटकहरूको बसाइ बढ्न नसकेकोमा चासो नदिएको गुनासो गर्छन्। आर्थिक सर्वेक्षणका अनुसार पर्यटकको औसत बसाइ १३.१ र औसत खर्च प्रतिदिन ४०.५ अमेरिकी डलर छ। सन् २०२० मा भ्रमण वर्षको घोषणाका कारण पनि पर्यटन पूर्वाधारमा लगानी बढेको नेपाल ट्राभल एन्ड टुर्स एसोसियसनका पूर्वमहासचिव एवं पर्यटन व्यवसायी सुधीर उपाध्याय बताउँछन्। 

यता, काठमाडौं उपत्यकामा मात्रै तीन हजार सानाठूला रेस्टुँरा सञ्चालनमा रहेको रेस्टुँरा तथा बार एसोसियसनको अध्यक्ष अरनिको राजभण्डारी बताउँछन्। अर्थतन्त्र सुध्रिए रेस्टुँराको व्यापार पनि सुध्रिने बताउँदै राजभण्डारीले पछिल्लो समयमा गफसफ, पारिवारिक जमघट र साना कार्यक्रम पनि रेस्टुराँ भने गर्ने प्रवृत्ति बढेको बताउँछन्। 

पर्यटक दशक कार्ययोजना कहिलेबाट ? 

कोभिड– १९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थान गर्न पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेर तत्कालीन पर्यटनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन दशकको रूपमा सन् २०२३–२०३२ लाई घोषणा गरे। अहिलेका पर्यटनमन्त्री सुदन किराँतीले पनि त्यसलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। तर, सन् २०२३ को सात महिना बितिसक्दा पनि सरकारले तयारी नथालेको व्यवसायीहरूको भनाइ छ। 

पर्यटन दशक कार्ययोजनालाई अघि बढाउन मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृति दिएकोले अब अघि बढ्ने पर्यटन मन्त्रालयका प्रवक्ता राजेन्द्र केसी बताउँछन्। अब कार्ययोजना बनाएर अघि बढ्ने तयारी मन्त्रालयको छ। सन् २०२३ लाई तयारीको वर्ष भनिएकोले पनि मन्त्रालय अघिल्लो चरणको तयारीमा रहेको केसीले पुष्ट्याए। 

कहिलेसम्म त्रिभुवन विमानस्थलले धान्ने ?

नेपालमा त्रिभुवन विमानस्थल एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल हो। बाह्यसँगै नेपालमा सबैभन्दा ठूलो आन्तरिक विमानस्थलको रूपमा पनि सेवा प्रदान गर्दछ। विमानस्थलमा अहिले आन्तरिक र बाह्य गरी सरदर साढे ३ सय उडान हुने गरेका छन्। यस्तै विमानस्थलले करिब २३ हजार यात्रुलाई दैनिक सेवा दिइरहेको छ। वार्षिक यात्रुको चहलपहल पनि करिब ७५ लाख पुगिसकेको छ। विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलको क्षमता वार्षिक करिब ३५ लाख छ। क्षमताभन्दा बढी नै सेवा विमानस्थलले दिइरहेको छ। सन् २०३० सम्ममा अन्तर्राष्ट्रिय टर्मिनलबाट ८६ लाख यात्रुले सेवा लिने प्रक्षेपण गरिएको छ ।

उडान संख्या पनि थपिएको र यात्रुको चहलपहल पनि बढेको हुँदा भइरहेको विमानस्थल साँघुरो बन्दै गएको छ। निजगढ बनिनसकेको अवस्था र भैरहवा तथा पोखरा विमानस्थल काठमाडौंको वैकल्पिक हुन सकिरहेको छैन। भैरहवास्थित गौतमबुद्ध विमानस्थल २०७९ जेठ २ गतेबाट र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०७९ पुस १६ गतेबाट औपचारिक उद्घाटन भएका हुन्। भैरहवामा केही अन्तर्राष्ट्रिय र चार्टर्ड उडान हुने गरेका छन् भने पोखरामा अहिलेसम्म अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। 

अन्तर्राष्ट्रिय विमानस्थल व्यावसायिक रूपमा चल्न समय लाग्ने भन्ने जवाफ बाहेक नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणसँग दुवै विमानस्थल सञ्चालनको व्यावसायिक योजना छैन। 

भूपरिवेष्ठित राष्ट्र भएकोले पनि पर्यटक संख्या बढाउन हवाई सञ्जाल बढाउनु विकल्प छैन। सरकारले पोखरा र भैरहवा विमानस्थल सञ्चालनका लागि पहल गर्नुपर्ने पर्यटन व्यवसायीहरूले माग गरेका छन् ।
०००
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.