साप्सु सुसाउने...
ग्रामीण सभ्यतामाथि खतराका घण्टी बजिरहेछन्। प्रकृतिको सुरम्य तालमा लीन भएर उठेको गोठालेगीत झैं लोकभाकामा नग्न संस्कृतिका काला बादल मडारिइरहेछन्।
अरुण सुसाउने
कहाँ बिसाउने
अरुण तरेर उकालो चढ्दा थिएँ, कानमा यस्तै गोठाले गीतका गेडाहरू गुञ्जिन थाले। नदीले तिर्खामात्र मेटाउँदैन। बोटबिरुवा, बालीनाली, सिञ्चनमात्र गर्दैन। नदीले सभ्यता पनि विकास गर्छ। नदी सिर्जना एवं जीवन दर्शनको झलक हो। नदी अर्थात् पानीको असीम स्वरूप। नदी अर्थात जीवन उत्सवको रचनात्मक यात्रा। जो मानिस नदीका पानी झै सलल बगे, तिनीहरू नै सफल बने। नदीकै कारणले सभ्यता बनेको छ। बस्ती बसेको छ जब हामी समस्याले घेरिन्छौं तब यिनै नदीरूपी आमाको सामु गएर सुख, शान्ति, चैन खोज्न थाल्छौं। संसारका जति पनि सभ्यताहरू छन््, ती सबै नदी किनारामा नै विकास भएका छन््। सभ्यताभित्र समाज हुन्छ। संस्कृति हुन्छ। रिवाज हुन्छ। प्रथा र परम्परा हुन्छ र लोकभाका यी सबथोक नदीको पारदर्शी जल झै सलल बगेको हुन्छ। यस्तै पूर्वी पहाडको सभ्यता बोकेको गीत हो– गोठाले।
यहाँ लोकगीतलाई झ्याउरे भनेर अलि हेय र उपेक्षाको भावले हेरिन्छ तर महात्मा गान्धीले देवेन्द्र सत्यार्थीको लोकगीतको खोजको सम्मान गर्दै भनेका थिए– सत्यार्थीले गाउँगाउँमा गएर भारतको आत्माको खोजी गरिरहेका छन्। यदि मेरो र नेहरूको भाषणलाई एकापट्टी तुलोमा र सत्यार्थीको खोजलाई अर्कोेपट्टी तुलोमा जोख्ने सत्यार्थीको खोज नै भारी हुन्छ। नोबेल पुरस्कार विजेता विश्व कवि रवीन्द्रनाथ टैगोरले पनि सत्यार्थीको सम्मान गर्दै भनेका थिए– जुन काम मैले गर्न खोजेको थिएँ, त्यो तपाईंले गरेर देखाउनु भयो।
गान्धीले भने झैं लोकगीत समाजको आत्माको उज्ज्वल प्रतिविम्ब हो। यसको क्षेत्र विस्तृत छ। यसमा मानव जीवनको जन्मदेखि मृत्युसम्मका संस्कार जोडिएका हुन्छन्। कुनै पनि देशको लोकगाथा, लोकगीत त्यो देशको सभ्यता, संस्कृति, लोकमानसको भावना, राग, द्वेष, हर्ष, विस्मात आदिको साझा दर्पण हो। जबदेखि मानिस समूहमा बस्न थाले। मानिसमा चेतनाको विकास भयो तबदेखि नै मनका भावना व्यक्त गर्नलाई लोकगीत जन्मिए। लोकगीत वा गाथा आम जनजीवनको भावनाको उन्मुक्त स्थिति हो, जसमा अधिक मौलिकता भेटिन्छ।
हामी जुन समाजमा बस्छांै। त्यो समाजमा दुई वर्ग छ– शोषक वर्ग र शोषित वर्ग। ती वर्गहरूको आफ्नै आफ्नै भाषा छ। शिक्षाको पहुँच पुगेका शोषक वर्गहरूले शास्त्रीय साहित्यमार्फत आफ्ना अभिव्यक्ति उजागर गर्छन््। जुन वर्गहरू निरक्षर छन्, शिक्षाको अवसरबाट वचित छन् र थिचोमिचोमा परेका छन्, तिनको अभिव्यक्ति लोकगीत बनेर उजागर भएका छन्। लोकमानस समाजको त्यो वर्ग हो जो अभिजात्य संस्कार, शास्त्रीय र जडसूत्रवादी चिन्तनदेखि शून्य छ। लोक साहित्यमा ती समस्त बोली र भाषागत अभिव्यक्ति जसमा आदिम संस्कृतिको अवशेष हुन्छ।
सहज अभिव्यक्ति क्षमता र संक्षेपीकरणका कारण लोकसाहित्यले सधैं शास्त्रीय साहित्यलाई टक्कर दिइरहेको हुन्छ। प्राय: शास्त्रीय साहित्य सत्ता, वैभव, शक्ति सम्पन्न, वर्गीय व्यवस्थाका पक्षधरहरूद्वारा पालितपोषित हुन्छ। लोकसाहित्य आम जनताका जीवन जिउँदा भोगेको संघर्ष, अनुभव, ऊहापोह, आरोह, अवरोह, सहज र सरलताले परिपूर्ण हुन्छ। शास्त्रीय साहित्य नियम, अनुशासन, रीतिले बाँधिएको हुन्छ भने लोकसाहित्य भावनाको मुक्त र स्वच्छन्द स्थिति हो। लोकगीत यसै कारणले मधुर हुन्छ कि यसको निर्माण लोकमानसद्वारा लोकको निम्ति प्रकृतिको सुरम्य वातावरणमा रचिएको हुन्छ। जसमा जीवनको यथार्थ हुन्छ। सादगी र सादापन हुन्छ। प्रेम, निष्ठा हुन्छ। इमानदारिता हुन्छ। दु:ख, पीडा हुन्छ। त्यो दु:खसँग जुझ्ने संकल्प हुन्छ। मूलत: लोकको उदात्त चरित्र हुन्छ जुन शिष्ट साहित्यमा दुर्लभ हुन्छ।
यो सधंै प्रतिपक्षीको साहित्य हुन्छ। बहुसंख्यकको भावनाको प्रतिनिधित्व गरेको हुन्छ। श्रुति र मौखिक परम्पराको कारण यसको रचनाकार अज्ञात हुन्छ। यसको उद्देश्य भनेको सत्यको निकट पुगेर आत्मशक्तिको आनन्द प्राप्त गर्नु हो। बागमती पूर्व कोसी प्रदेशमा प्रचलित गोठाले गीत यही कसीमा राखेर बुझ्नु जरुरी छ।
गोठालो ती श्रमजीवी वर्गहरू हुन्, जो बस्तुभाउ पालेर जीवनयापन गर्छन्। बस्तुभाउको उचित रेखदेख गर्छन्। अनेकौ जीवजन्तुलाई सुरक्षा दिन्छन्। तिनीहरू नै असल गोठालामा पर्छन्, जसले आफूूले पालेका पशुपक्षीलाई हरियो खर्क र शान्त पानीको छेउमा डोहोर्याउँछन्। अनेकौं लोककथा, पुराणका कथा आदिमा गोठालोको ठूलो महŒव दर्शाइएको छ। कतिपय धर्मग्रन्थले त ईश्वरलाई नै गोठालोको प्रतीकको रूपमा व्याख्या गरेको छ। एकै ठाउँमा बसेर बस्तुभाउ हेर्दा पट्यार लागेर आउँछ। मनमा थरीथरीका कुरा खेल्न थाल्छन्। मन चञ्चल भएर, चकचक लागेर कहाँ जाउँ के गरौं जस्तो हुन्छ। घरका अभाव, समस्या आदिले मनमा विरह चल्छ।
यसरी मनका चकचक, तुलबुल, विरह, वेदना, कल्म, क्लेश आदिलाई भगाएर मनमा ताजगी र स्फुर्ति भर्न गोठालाहरूले खोलाका सुसाइ, चराचुरुंगीका चिरबीर आदिको तालमा गीत बनाएर गाउन थाले। त्यो गोठाले लयको गीतको रूपमा चर्चित भयो। यही गोठाले लयको गीत घाँस, दाउरा, पानी पँधेरो, मेलापात आदिमा गाउन थालियो। पूर्वीपहाडमा गोठाले गीतको रूपमा चर्चित भयो।
हाइकु, तान्का, चोका, सेदेको, टुक्का कविता शैलीको गोठाले गीत जीवनमा आएका दु:ख, कष्ट, विरह, वेदना, हर्ष, उल्लास, शोक, प्रतिरोध आदि व्यक्त गर्नलाई न कुनै शब्द आडम्बरको बुट्टा भर्नुपर्छ, न कुनै वाद्ययन्त्र आवश्यकता पर्छ। न त भव्य मञ्च, स्टुडियो नै चाहिन्छ। ती घाँस दाउरा, उकाली ओराली, मेलापात गर्दागर्दै, भारी बोक्दाबोक्दै, खोला, खोल्सी तर्दा तर्दै, चौतारीमा थकाइ मार्दामार्दै पनि अभिव्यक्त गर्न सकिन्छ। वसन्ती राईको स्वरमा रहेको गोठाले गीतका गेडाले यहि आशय प्रकट गर्छ :–
साप्सु सुसाउने
यो मनको बह
कहाँ बिसाउने ?
फूल फुल्यो बुकी
को छ र होला
म जस्तो दु:खी...।
ढाकरमा भारी बोकेर हाट बजार भर्न, हिउँदे बर्खे किनमेल गर्न, नुनका भारी खेप्न जाँदा गाइने गीत भएकोले कतैकतै यो ढाक्रे गीतको नामले पनि चर्चित छ। गीतको यी गेडाहरूले यही तथ्यलाई इंगित गर्छ :–
ढाकरलाइ तोक्मा
के भोग्नु पर्यो
यो नरलोकमा...।
बाह्रैमास गाउन सकिने सर्वकालिक गोठाले गीतका शब्द संरचना स्वच्छन्द र उन्मुक्त हुन्छन््। यो कुनै शास्त्रीय नियमले बाँधिएको हुँदैन। कतिपय गीतहरू बनावट हेर्दा कताकता टुक्का कविता, जापानी शैलीका हाइकु र चोका जस्तै हुन् कि जस्तो लाग्छ। अरुण उपत्यकाको संकलनमा रहेको गोठाले गीतका गेडाहरू हेर्दा यही झल्को आउँछ :–
सलल खोला
हितैको माया
कहाँ पुग्यो होला ?
भुइँ बादलुले
मन उडाई लग्यो
जोर मादलुले।
गोठाले गीतमा प्राकृतिक सौन्दर्य, प्रेमतŒवको प्रधानता पनि त्यति नै पाइन्छ। अरुण उपत्यकाको संकलनमा रहेको यो गीतका गेडामा प्रकृतिको अभूतपूर्व सौन्दर्य, धर्तीको रुमानी चित्र र प्रेम प्रणयका भावहरू छताछुल्ल भएर पोखिएका छन्् :–
केटा : फूल फुल्यो सेतै
लाउने भए माया
आउनु है यतै।
केटी : पानी छायाँ छ
नबोले के छ
बोले माया छ।
तर विचारणीय यो छ कि गोठालाहरूको निम्ति प्रकृति सधैं बरदानमात्र छैन। उनीहरू आर्थिक विषमता, वर्गभेद, उत्पीडन आदिले सताइएका छन््। फलत: उनीहरू प्रकृति सुन्दर हुँदाहुँदै पनि खुसी हुन सकेका छैनन्। गोविन्द इमसोङ र उषाकिरण अधिकारीको स्वरमा रहेको यी गेडाहरूले यही भाव प्रकट गर्छ :–
केटी : छबिस रिन छ
सम्झेर ल्याउँदा हउ
छाती चिरिन्छ।
केटा : ज्यान चरी रुन्छ
सम्झेर मनमा हउ
कि पहिरो जान्छ। यद्यपि यसमा टुक्का, हाइकु, चोकामा झै विशेष नियम र रीतिमा बाँधिनुपर्छ भन्ने जरुरी छैन। यो एउटा खोलो हो, बाढी आएपछि यसले कुनै पनि बेला नियम तोड्न सक्छ। यो गीत कहीँ एकल, कहीँ दोहोरी र कतै सामूहिक रूपमा पनि गाइन्छ। विशेषत: दोहोरीको रूपमा गाइने गीतमा प्रेम, प्रणय, रतिराग, हास, परिहास, व्यंग्य विनोदको सम्मिश्रण हुन्छ। माधव दाहाल र साथीहरूको प्रस्तुति रहेको ओखलढुंगातिर प्रचलित यी गेडामा यही आशय प्रकट भएका छन् :–
केटी : ए लै लै
जोरपिपल जोरपात
मायाले गर्दा नि
जिन्दगी बर्बाद।
केटा : ए लै लै
पानी ट्यांकीमा
जाने भए लान्छौ है
उड्ने पंखीमा।
विविध संरचनाको गोठाले गीत
विशेषत: यो गीतको निम्ति कुनै बाजागाजाको आवश्यकता पर्दैन। गोठालो, दाउरा, घाँस जाँदा पिपिरेको पात बजाएर खोलाको सुसाइ, चराचुरुंगीको कलरव, गाईबस्तुको आवाज आदिको तालमा गाइन्छ। ह ह राते, आइज नि भनेर गाईबस्तु धपाउँदा नै संगीत सिर्जना भइरहेको हुन्छ। भानु ओलीको स्वरको यो गोठाले झ्याउरे गीतले यही आशय प्रकट गर्छ :–
केटा : धनकुटा जिल्ला राजारानी
खाउँ माइली आउ है खाजा पानी
बरी बसौं चौतारी
हवै रातु।
केटी : पहेंली मकै पन्धै हार
ल्याइदेऊन माइला चन्द्रैहारा
बरी बसौ चौतारी
हवै रातु।
कतै गीतलाई द्रुत लयमा गाइएको पाइन्छ भने कतै विलम्बित लयमा गाइएको पाइन्छ। प्राय: यी गीतका संरचना टुक्का, हाइकु, चोका शैलीको देखिने भए पनि कतिपय स्थानमा भने अर्कै संरचनाको पनि गाइएको पाइन्छ। सुनकोसी पूर्व गोठालो जाँदा
गाइने फणीन्द्र सुवेदीको स्वरमा रहेको यी गीतको संरचना पूर्णत: फरक छ :–
बैंस चढेको जोबन, ढल्की सक्यो
नगर दोमन
वर डाँडा पारी, ए मेरी प्यारी
सिकार खेल्ने वन
पहरो रसाउँथ्यो, फूल भए बास आउँथ्यो
निष्ठुरी तिम्रो मन।
एकातिर बेंसी, औलोतिर यस्ता रागका गोठाले गीत घन्किन्छन्् भने अर्कोतिर लेकका भेडीचरणमा अर्कै रागका गोठाले गीत रन्किन्छन््। एकातिर भालुको डर छ। अर्कातिर भीर, पखेराबाट चिप्लिएला र खर्पासमा खसिएला भन्ने डर छ। खाने अन्नको पनि चरम अभाव छ। मकैको गेडीले छाकलको भोक टार्नु पर्ने अवस्था छ। रसुवा, सिन्धुपाल्चोक, दोलखा आदि स्थानबाट छर्लंग देखिने देउढुंगा अर्थात् भेडीका चरण क्षेत्रका गोठालाहरूको अर्कै व्यथा छ। अरुण उपत्यकाको संकलनमा रहेको गोठाले गीतमा यही वास्तविकता झल्किन्छ :–
बिहानी र पख त्यै झुल्के घाम, पहेंली चरण
देउढुंगा खर्क किन देऊ आमा, भेडीलाई शरण
लेकैमा फुल्ने लै लालीगुराँस, बेंसीमा टोटाला
कोहोमा कोहो नभन आमा, म भेडी गोठाला
बार ज्युको पाँच सय भेडी, घुमायो फेरीले
छाकलको भोक टारे नि आमा, मकैको गेडीले।
भेडी चरण तातोपानी, खासा, चुगुणागढी आदि स्थानको वर्णन गरिएको टंक केसी र साथीहरूको स्वरमा रहेको अर्की भेडी गोठाले गीतमा गोठालाहरूका विरह वेदनाका, वियोगका स्वरहरू पोखिएको पाइन्छ।
आङ्दांगे डाँडा लहरे वर
ए नि लै लै भुइँ कहिले छोला नि
मनुष्य चोला मरेर जाला
पूर्वी पहाडमा गोठाले गीत सुन्दा कताकता सुदूरपश्चिम र कर्णालीतिर प्रचलित ठाडी भाका झै लाग्छ। त्यतातिर पनि ठाडी भाकाहरू गोठालो
जाँदा नै गाइन्छ। यस्ता गीत गाउँदा पूर्वमा झै लस्काएर लेग्रो तानिन्छ। फणीन्द्र सुवेदीको संकलनमा रहेको ठाडीका गेडाहरू यस्ता छन् :–
बाजा राम्रो बाँसुरी स्वर राम्रो चर्खाको
फूल टिपी ल्याइहाल्ने थियो फूलबारी अर्काको
पूर्वाञ्चलमा प्रचलित गोठाले गीतमा विविधता पाइन्छ। अरुण वारि यसलाई द्रूत लयमा गाइन्छ। अरुणपारि लेग्रो तानेर, लस्काएर विलम्बित लयमा हाकपारे शैलीमा गाइन्छ। कहीँकहीँ यसलाई हाकपारे गीत पनि भनिन्छ तर लिम्बू जातिमा प्रचलित हाकपारे साम्लो र यो गीतमा भने अलि फरक छ। हाकपारे साम्लो र गोठाले हाकपारे एउटै होइन। अरुण वारिका गीतहरूमा श्रमजीवी महिला, आदिवासी, दलित, परदेशी आदिहरूले भोग्नु दु:ख, कष्ट, विरह, वेदना आदिका सुस्केरा पाइन्छ। शारदा भट्टको स्वरमा रहेकामध्ये विलम्बित लयका यी गेडाहरूले यही यथार्थलाई उजगार गर्छ :–
ए लै लै
पानी तिर्सना
सकिनँ मैले
तिमीलाई बिर्सन।
लोकगीत गाउने अधिकांश गाउँका महिला हुन्छन् । यो ग्रामीण जनताहरूको मार्मिक भावना हो। उनीहरू कोरा कल्पनामा मात्र सीमित नभएर गीतहरूलाई आफ्ना दैनिक जीवनको यथार्थसँग पनि जोडेका हुन्छन्। प्राय: यस्ता गीतहरूमा गाउँ, इलाकामा चल्ने बोलीचालीको भाषा, थेगो आदिको प्रयोग गरिएको हुन्छ। मूलत: गोठाले गीत त्यहाँको जनजीवन, विचार, आदर्श, अनुभूतिको यथार्थ चित्रण हो।
प्राचीन संस्कार एवं समाजको सामन्ती व्यवस्थाको द्योतक हो, जसमा महिला पुरुषलाई समान रूपमा स्विकारिएको हुन्न। नारी जीवनलाई हेयको रूपमा लिइएको हुन्छ। महिलाद्वारा रचित गीतमा अमानवीय क्रूरता, उत्पीडन, हिंसा, बुहार्तन आदिको वर्णन हुन्छ। जनवादी गायक जेबी टुहुरेको स्वरमा रहेको गीतका अन्तरामा गोठाले लय रहेको यी गेडाहरूमा यस्तै भाव झल्किन्छ :–
चेली : ए लै लै
डढेलो खरमा
जिउ मात्र यहाँ
मन पुग्छ घरमा
हउ माइती राजा मन पुग्छ घरमा।
माइती : ए लै लै
फूलै फलेंदो
सम्झिँदा खेरी
छिन्छ कलेजो
हउ चेलीबेटी छिन्छ कलेजो।
जसरी आधुनिक साहित्यमा फूललाई प्रेम, त्याग, बलिदान आदिको बिम्बको रूपमा प्रस्तुत गरिन्छ। फूलको कुराले जसरी आधुनिक साहित्यलाई सिँगारेको हुन्छ, त्यसरी नै गोठाले गीतमा पनि प्रेम, प्रणय, बिछोड आदिको चर्चा गर्दा टोटालो, बुकी, गुराँस आदिको चर्चा गरिएको हुन्छ भन्ने भाव यी गेडाहरूमा झल्किन्छ :–
ए लै लै
फूल टोटालोले
मन उडाई लग्यो
गाई गोठालाले।
लोकगीतमा प्रकृति र स्थानीय परिवेशको पनि त्यति नै महŒव हुन्छ। लोकमानसले सुख, दु:ख, प्रेम, मिलन, बिछोड हर्ष, विस्मात, क्रन्दन रोदन, शोक, प्रतिरोध आदिलाई प्रकृति एवं परिवेशलाई एकाकार रूपमा प्रस्तुत गर्छन्। प्रकृतिले नै लोकगीतको पृष्ठभूमिको रूपमा काम गरेको हुन्छ। यो पढ्नमा भन्दा पनि सुन्नमा आनन्द आउने खालको हुन्छ। श्रुतिमाधुर्य नै यसको प्रमुख विशेषता हो। भरत कुलुङको संकलन राजेशपायल राई, कला राईको स्वरमा रहेको गोठाले गीतका गेडाहरूले यही तथ्यलाई इंगित गर्छ :–
केटा : ए नि लै
घाँस लहराले
मायालाई छेक्यो नि लै
भिर पहराले।
केटी : ए नि लै
डाँडा पाखाले
छेकिन्न खोलेर हेर
मनको आँखाले।
लोकगीतमा प्रतीक्षाले विशेष भूमिका खेलेको हुन्छ। आफ्ना खसम परदेश गएका प्रियसीहरू आँगनको डिल, पहिरा टापु, देउराली, भन्ज्याङ आदिमा बसेर प्रियजनको बाटो हेरेको कुरा लोकगीतमा अधिक चर्चा हुन्छ। सुजाता केसीको स्वरमा रहेको बागमती र बागमती पूर्वको पहाडी भूभागमा प्रचलित गोठालो जाँदा गाइने गीतको गेडामा गोठाल्नीको मनोदशा छ :
माली गाईको चरणै रानीवन
रसाएन निष्ठुरी तिम्रो मन
गोठालोले घाँस काट्यो पैयुँ साल
आसै छुट्यो छुटेन माया जाल
गयौ तिमी यही मुटु लिएर
पर्खी बस्छु देउराली कुरेर।
अरुण पारिको हाक्पारे शैलीको कविता आलेको स्वरमा रहेको अति चर्चित लोकगीतका यी गेडाहरूमा दूर देशमा बस्न बाध्य चेलीहरूका माइती देशलाई सम्झिएर भक्कानिएका असह्य पीडाहरू छताछुल्ल भएर पोखिएका छन् :–
चुरौटे दाइले चुरा है ल्यायो
गाउँभरि डुलायो
बिरानो देशमा बस्ने मन थिएन
मन के ले भुलायो।
लोकगीतको अर्को महŒवपूर्ण पाटो हो– आञ्चलिकता। जसमा स्थानीय रंग, बोलीचालीको भाषा, लवज र त्यो स्थानको परिचय हुन्छ। माधव दाहाल र साथीहरूको प्रस्तुति रहेको उदयपुर र सोलुखुम्बुतिर चल्ने लोकगीतका गेडाहरूमा उक्त जिल्लाका स्थानको चर्चा पाइन्छ। यसरी गोठाले गीतहरूमा लोकजीवनका विविधता पाइन्छ। सदियौंदेखि चल्दै आएका यस्ता गीतहरू गीत मात्र नभएर तत्कालीन समाज व्यवस्थाको चित्र पनि हुन्।
यसको छुट्टै समाज शास्त्रीय महŒव पनि छ। मनोरञ्जनको दुनियाँमा पनि यसको छुट्टै महŒव छ। यी गीतहरू गाउनलाई छुट्टै साधनाको आवश्यकता पर्दैन। यी गीतहरू साधारण लोकबाजा मुरली, कर्ताल आदिको तालमा गाउन सकिन्छ। हिजोको समाज कस्तो थियो, त्यो चियाउनलाई लोकगीत जस्तो सरल आँखीझ्याल अर्को हुनै सक्दैन।