गौरामा देउडा
शिवजीलाई पति पाउन पार्वतीले तपस्या गरेको र शिवजी प्रसन्न भएर पार्वतीसँग विवाह गरेको सन्दर्भ पाइन्छ। हिमालयपुत्री पार्वती र शिवजीको धार्मिक गाथासँग जोडिएको कथामा आधारित छ, गौरापर्व।
सुदूरको गौरापर्व देउडा खेलिहाल
गीतांगी कमल खत्रीले २०५८ सालमा काठमाडौंको टुँडिखेलमा गौरापर्वमा गाएको गीत हो यो। पेसाले वकिल भए पनि उनी देउडामा झुम्मिन्छन्। खेलौडा भएकाले प्रतिस्पर्धीसँग दोहोरो खेल खेल्न उनी रुचाउँछन्। तारा चन्द पनि गीत रचना गर्न सवाल–जवाफ गर्न सिपालु छन्। यस्ता सयौं संस्कृतिकर्मी स्रष्टालाई सुदूर र कर्णाली प्रदेशको भूमिले जन्माएको छ। प्रतिभा देखाउन यिनलाई भाद्रमा पर्ने गौरा र वैशाखमा पर्ने बिसु पर्व पर्खनु पर्छ।
कर्णाली अञ्चलकी सम्पदा शाही पनि गीतमा अब्बल थिइन्। केही वर्षसम्म यिनै प्रतिभाले गौरा र बिसुमा लोकेन्द्रबहादुर चन्द, शेरबहादुर देउवा, भीम रावल, दीलेन्द्रप्रसाद बडू, एनपी साउद, डीपी भण्डारीलगायत विशिष्ट व्यक्तिलाई मार्मिक देउडा गीत सुनाए। देउडा संस्कृतिमा आत्मीयता बोध गराए। पछिल्लो समय बझाङका लक्ष्मण अधिकारी, बैतडीका भानुभक्त जोशी, दार्चुलाका रामदत्त पन्त, कालीकोटकी कमला विष्टजस्ता सयौं आँसुकविले राजधानीमा देउडा संस्कृतिलाई सिंगारेका छन्।
गौरा सुदूरको विशेष पर्व हो। शिवजीलाई पति पाउन पार्वतीले तपस्या गरेको र शिवजी प्रसन्न भएर पार्वतीसँग विवाह गरेको सन्दर्भ पाइन्छ। हिमालयपुत्री पार्वती र शिवजीको धार्मिक गाथासँग जोडिएको कथामा आधारित छ, गौरापर्व। यो महिला विशेष पर्व हो, नेपालीको महान् पर्व तीजजस्तै। तर, गौरापर्व तीज पर्वभन्दा संस्कृति र शैलीमा फरक छ। गौरापर्व केवल सुदूरपश्चिम र कर्णालीका पहाडी जिल्लामा र भारतको कुमाउ, गडवाल क्षेत्रमा मात्र किन मनाइन्छ ? यसको विधि के हो ? आदिबारे छर्लंग्याउन जरुरी छ।
संक्षिप्तमा अहिले यतिमात्र जानकारी गराउँ कि– गौरामाता पाँचवटा बीज, वनस्पतिद्वारा निर्माण गरिन्छ। कुश, काँस, सौं, तीतेपाती र दुबो मिसाएर गौराको मूर्ति बनाइन्छ। पाँचवटा बीज– गहत, केराउ (कला), मस्याङ, गुराँस र गहुँलाई पञ्चमी तिथिमा तामाको भाडामा भिजाएर प्रतिदिन फलफूल, दूध र यिनै पाँचथरी बीजले गौरादेवीको पूजा गरिन्छ। यी पञ्च अन्नलाई ‘विरुणा’ भनिन्छ। विरुणा गौराको मूल प्रसाद हो। गौरादेवीलाई महाकालीमा डालोमा र सेती अञ्चलका पहाडी जिल्ला बझाङ, बाजुरा र कर्णालीका हुम्लामा डोलामा राखेर गाउँमा भिœयाइन्छ। ५÷६ दिनसम्म श्रद्धापूर्वक व्रतालु महिलाले पूजा गर्ने गर्छन्। साइत हेरेर बिर्सजन गर्ने गर्छन्।
प्राचीन ग्रन्थ र जनश्रुतिअनुसार गौरापर्वमा माँगल र फाग गाइन्छ। महिलामय पर्व भएकाले उनीहरू आपसमा जम्मा भएर गाउँघरमा माँगल, धारुवाले, चाँभाई, फागहरू गाउने गर्छन्। पुरुषहरू देउडा गीतमा रमाउँछन्। देउडा गीतमार्फत सुख–दुःख, घटना–परिघटना सुनाउँछन्। बडो रोचक ढंगले सवाल–जवाफ गर्ने हुँदा दर्शक–श्रोताले भरपूर मनोरञ्जन लिन्छन्। पछिल्लो अवस्थामा देउडा गीत र खेलले (नृत्य) राजनीतिक विषयमा प्रवेश पाएकाले अझ रोचक र घोचक हुन्छ। संस्कृतिकर्मी यसैमा आनन्द मान्छन्।
यै रानीवनका दौरा हात् लायाले भाग्दा
जोइ चेला पराया हुन्छन् राजनीतिका लाग्दा।
देउडा खेलको समूहबाट खेलौणाले सुनाउने गर्छ माथिको गीत। हुन पनि वर्तमान अवस्थामा परिवारको मानिसको राजनीतिक आस्था फरकफरक हुन्छ। आमा, बाबु एउटा पार्टी, छोराबुहारी अर्कै पार्टीमा। भातभान्सा राजनीतिक आस्थाका कारण फरक पनि हुन्छ। यस्ता घटना गाउँघरमा प्रशस्तै देख्न पाइन्छ। अझ द्वन्द्वकालका बेलाका घटना सम्झने हो भने कैयौं छोराछोरी परिवारबाट अलग भएर बसेका पनि देखियो। यी कुरा खेलाडीले देउडामा घोचपेचका रूपमा सुनाउँछन्।
धान् बिग्य्रा पलेटो हुन्छ, मान्छे बिग्य्रा नेता
नेताका मन् हुन्छन् काला लुगामात्र सेता।
चुनावका बेला मत खसाल्ने तर राजनीतिमा सक्रिय भएर लागि नपर्ने सामान्य मतदाता र सामान्य नागरिकको अभिव्यक्ति हो यो गीत। गीतले बताएजस्तै नेताहरू सेतो लुगा लगाएर समारोहहरूमा देखा परेता पनि उनीहरूको मन सदैव कालोजस्तै देखिन्छ। परिणाम जनतालाई आश्वासन दिन्छन्, सार्वजनिक कामहरू नगरेर भ्रष्टाचार गर्छन् भन्ने आशयको गीत हो यो। हुन पनि सुनकाण्ड, भुटानी शरणार्थीलगायत सयौं काण्डले भ्रष्टाचार प्रतिदिन मौलाएको देखिन्छ।
गौरा र देउडा खेल (नृत्य)को सम्बन्ध नङ–मासुको जस्तै छ। राजधानीको खुल्लामञ्चमा मनाइने गौरापर्वमा देउडा खेलाडीहरू तँछाडमँछाड गर्दै गोलाकारमा घुम्छन्। खेलमा दुई पक्ष हुन्छ। जुन सवाल–जवाफमा आधारित हुन्छ। पाइतला प्रधान भएकाले प्रत्येकले डेढ कदममा देब्रेबाट दाहिनेतर्फ घुम्नु पर्छ। घुमेर मात्र पुग्दैन, गीतहरू पनि खेलको लयअनुसार गाउँदै जानुपर्छ। एकातिर पाइताला मिलाउन जान्नुपर्छ भने अर्कोतर्फ गीत बुझेर गाउँदै घुम्नुपर्छ। सबैका पाइताला र गीत मिलेपछि दर्शकलाई पनि भरपूर मनोरञ्जन हुन्छ। हातमा हात मिलाएर कुम पनि जोडेर, स्वरमा स्वर मिलाउँदा वास्तवमा मौलिक संस्कृति सुदूरपश्चिम र कर्णालीमा पो रहेछ भन्ने बोध हुन्छ।
सवाल–जवाफमा आधारित हुने हुँदा हारजित पनि हुन्छ। गौरापर्वमा सुदूरपश्चिमको सम्पूर्ण भूमि देउडामय हुने गर्छ। हरेक जिल्लाका गाउँबस्तीमा देउडाका नामुद खेलाडी र दर्शक गौरापर्वको प्रतीक्षामा हुन्छन्। देउडा संस्कृतिमा मानिसको दिनप्रतिदिन मोह यति बढ्दै छ कि उनीहरू खानपान छोडेर देउडा खेल्न तम्सिन्छन्।
रातदिन घुमीघुमी खेलिरहेका हुन्छन्। यसको आकर्षणको मुख्य विषय भनेको गीत नै हो। देउडा गीतले दिएको भावार्थ, गीतको शैली, विषयवस्तुप्रतिको प्रस्तुति पस्कन सक्ने खुबी भएको व्यक्ति र समूह नै सफल गायक र देउडा कलाकार मानिन्छन्। ठूला चौर या पटाङ्गिनीहरूमा केटा–केटाको समूह, केटा–केटीको समूह, केटीकेटीको समूह बनाएर देउडा खेल खेल्छन्।
वास्तवमा उनीहरू नै देउडा संस्कृतिका रक्षक हुन्, देउडा गीतका हकदार हुन्। गौरा र देउडा फरकफरक विषयका मौलिक संस्कृति हुन्। गौरा धार्मिक र संस्कृतिसँग जोडिएको पर्व हो, देउडा सामाजिक परिवेशसँग मिलन गराउने लौकिक र अलौकिक सम्पदा हो। यी दुवैका विशेषता फरकफरक रहेता पनि संस्कृतिकर्मीले दुवैको मिलन गराएका छन्। त्यसैले गौरापर्व र देउडा खेल गीत एकअर्काका पूरक बनेका छन्, वर्तमान अवस्थामा।
म पारी तरन्या छिया तरन्या नाउ छैन
परानीमा सञ्चो छैन देखिन्या घाउ छैन।
समुद्रपारिका मुलुक जापान, कोरिया, अस्ट्रेलिया, मलेसिया, खाडीमुलुक र अमेरिकामा बसेर काम गर्ने सुदूरपश्चिमको भूमिमा जन्मेका युवाको गौरापर्व र बिसु पर्वमा जन्मघर फर्कन नपाउँदाको गीत हो यो। यसैगरी गौराको सम्झना गर्दै गीतांगीहरूले गाएका देउडाका थप गीत यस्ता पनि छन्–
को लाग्यो चैतका लेक को लाग्यो कुर्लन
कर्णाली छाल हान्या जसो मन् लाग्यो उर्लन।।
आज उँदै भोलि उँदै काँ बग्छै पानीय
झल्कना झलना न लाई नौला सुन् खानीय।।
नेपाल संसारकै अथाह संस्कृतिको सुन्दर मन्दिर हो। मेची–महाकालीको विविध संस्कृतिले पोतिएको यो मुलुकमा कतै धान नाच, झिंझिया नाचको फूलबारी भेटिन्छ।
कतै कौडा र सरौं, घाँटु नाचको बगंैचा देख्न पाइन्छ। पूर्वको मारुनीले लगाएको मोहनी गौरापर्वमा खेउडा खेल (नृत्य)ले मितेरीको बलियो साइनो गाँसेको पनि देख्न पाइन्छ।
विरलै यस्तो विविध संस्कृति देख्न र सुन्न पाइन्छ अरू छिमेकी मुलुकहरूमा।