सार्थक मृत्यु

सार्थक मृत्यु

जन्मसँगै मृत्युको बीजारोपण भइसकेको हुन्छ भन्ने सत्यलाई महत्तव दिँदैनौ। त्यसरी नै मृत्युलाई कसरी सार्थक बनाउने भन्नेतिर त ध्यान गएको हुँदैन।

मृत्यु शाश्वत सत्य हो। सबै प्राणीको जन्मजस्तै मृत्यु निश्चित छ। जन्म र मृत्युबीचको समय जीवन हो। मृत्यु जीवनको अभिन्न अंग हो। त्यसो हो भने के मृत्युलाई सार्थक बनाउन सकिन्छ ? सकिन्छ भने कसरी ?

मृत्यु भनेको जीवलाई कायम राख्ने सबै जैविक कार्यको अपरिवर्तनीय समाप्ति हो। सामान्यतया सास फेर्न र मुटुको धड्कन बन्द हुनुलाई मृत्युको रूपमा परिभाषित गरिन्छ। जबकि मस्तिष्क भएका जीवहरूका लागि सम्पूर्ण मस्तिष्कको कार्यको अपरिवर्तनीय समाप्तिको रूपमा परिभाषित गर्न सकिन्छ। मस्तिष्क मृत्युलाई कहिलेकाहीँ मृत्युको कानुनी परिभाषाको रूपमा प्रयोग गर्ने गरेको पाइन्छ।

कुनै व्यक्तिको मस्तिष्क मरिसकेको तर सास र मुटु भने चलिरहेको अवस्थामा ऊ प्राविधिक रूपमा मृत तर सामाजिक रूपमा जीवित मानिन्छ। यसको तात्पर्य के हो भने सास फेरेको देखिञ्जेल आफन्त वा अरू जोकोही उसलाई मृत मान्न तयार हुँदैनन्। तर विज्ञानले यो कुरा स्वीकार्दैन। मस्तिष्क मृत्युपश्चात् पूरै शरीर चेतनाविहीन हुन्छ। केही अपवादबाहेक यो प्रक्रिया मानवसहित प्रायःजसो सबै जीवमा हुन्छ। मानिसको मृत्यु बुढ्यौली भएर हुन सक्छ वा कारणवश अकालमा पनि हुन सक्छ।

विश्व मृत्यु घडीका अनुसार विश्वमा प्रतिसेकेन्ड दुईजनाको मृत्यु हुने गर्छ। मृत्यु विभिन्न कारणबाट हुनसक्छ, जुन व्यक्ति, समय र परिस्थितिअनुसार फरकफरक हुनसक्छ। भूकम्प, आँधी, बाढी, ज्वालामुखी, पहिरो आदिजस्ता प्राकृतिक कारणले निम्त्याउने दुर्घटना वा विभिन्न किसिमका सर्ने र नसर्ने रोगले मानिसको मृत्यु हुन सक्छ। कतिपय मानिस आत्महत्याको बाटोसमेत रोज्छन्। मदिरा वा लागू पदार्थको दुव्र्यसन, समयमा उपचार नपाउनु, कठोर जीवनशैली, कमजोर स्वास्थ्य प्रणाली आदि पनि मृत्युको कारण हुन सक्छन्। यी सबै कारणलाई केलाउँदा, मृत्युको पछाडि कुनै एउटै कारण हुँदैन भन्ने प्रष्ट हुन्छ। चिकित्सा विज्ञानमा भएको प्रगतिले मृत्युको घडीलाई निकै हदसम्म पछाडि धकेल्न सम्भव भएको छ, स्वस्थ र सुरक्षित जीवनशैलीले पनि मृत्युको आगमनलाई ढिलो बनाइदिन्छ। 

जन्मसँगै मृत्युको बीजारोपण भइसकेको हुन्छ भन्ने सत्यलाई महŒव दिँदैनौ। त्यसरी नै मृत्युलाई कसरी सार्थक बनाउने भन्नेतिर त ध्यान गएको हुँदैन। तसर्थ यस विषयमा विवेचना गर्नुभन्दा पहिले जीवन र मृत्युलाई बुझ्ने केही प्रसंगहरू उल्लेख गर्नु सान्दर्भिक हुन्छ। यसै सन्दर्भमा एउटा हिन्दी भनाइबाट जीवन र जगत्लाई बुझ्ने यत्न गरौं। त्यो भनाइ हो ‘मौत को युँ ही बदनाम करते हैं लोग, तकलिफ तो जिन्दगी देती है’। यो भनाइ हास्य प्रसंगमा प्रयोग गरिए तापनि यसले जीवन र मृत्युलाई बुझ्न सजिलो बनाएको छ।

मृत्युपछि मानव शरीरको सम्पूर्ण ज्ञानेन्द्रियहरूले मस्तिष्कमा कुनै पीडाको सन्देश पु¥याउन सक्दैनन्, अर्थात् पूरै शरीर संज्ञा शून्य भएकाले मानिसलाई पीडाको अनुभूति हुँदैन। तसर्थ मानिसले दुःखसुखको जे जति अनुभूति गर्ने हो। ती सबै जिउँदो रहँदासम्म मात्र गर्ने हो। मानिसहरू मृत्युलाई यत्तिकै बदनाम गर्छन्। वास्तवमा मानिसलाई शारीरिक वा मानसिक पीडा त जिउँदो हुँदासम्म मात्र हुने हो।

जीवन र जगत्लाई बुझ्न अंग्रेजी भाषाको लोकप्रिय भनाइको भावार्थलाई मनन् गर्नु प्रासंगिक देखिन्छ। ‘पहिले, म हाइस्कुल सकेर कलेज सुरु गर्न मरिरहेको थिएँ। अनि कलेजको पढाइ सकेर काम सुरु गर्न मरिरहें। त्यसपछि विवाह गर्न र बच्चाहरू जन्माउन मरिरहेको थिएँ। त्यसपछि सन्तान हुर्काएर स्कुल पठाउन मरिरहें ताकि काममा पूर्णरूपमा समर्पित हुन सकुँ। त्यसपछि सेवानिवृत्त हुन मरिरहेको थिएँ। अब, म मर्दैछु ! अचानक महसुस भयो कि म त बाँचेकै रहेनछु।’

मानिस बाल्यकालदेखि बुढेसकालसम्म गर्नुपर्ने कामप्रति यसरी समर्पित हुन्छ कि आफूले बाँचेको अनुभूति नै गर्न नपाउँदै मर्ने बेला आइसकेको हुन्छ। जीवनभरि गर्नु पर्ने कामहरू गर्दा बाँचेको अनुभूति हुने गरी गर्नुपर्छ। मृत्यु सार्थक बनाउन जीवन सार्थक बनाउनुपर्ने हुन्छ। सार्थक मृत्यु एक अवधारणा हो, जसले जीवनलाई सार्थक बनाउन प्रत्येक पलको आनन्द लिनुपर्छ भन्ने शिक्षा दिन्छ। जीवनलाई सार्थक बनाउन सबै प्रकारका व्यावसायिक र व्यक्तिगत लक्ष्यहरू राख्नुपर्छ। त्यसलाई प्राप्त गर्न कडा मेहनत गर्नुपर्छ। लक्ष्यहरू प्राप्त गरेपछि हुने मृत्यु अर्थपूर्ण हुन्छ। सार्थक मृत्यु भनेको आफ्नो जीवन पूरा गरेर सन्तुष्टि भएर जीवनका प्रत्येक पलको आनन्द र महŒवलाई महसुस गरेर मृत्युलाई सहर्ष अँगाल्नु हो।

जीवन यात्रा हो, जसले विभिन्न अनुभव, सफलता र असफलताहरू, सुख र दुःखहरू समेट्छ। सार्थक मृत्युको अवधारणाले मृत्युबाट भयभीत हुनुभन्दा जीवनको उद्देश्यलाई अर्थपूर्ण ढंगले हासिल गर्नुसँग सम्बन्धित छ। जीवनका उद्देश्यहरू हासिल गर्ने क्रममा आनन्दपूर्वक जीवन बाँच्नुपर्छ। कार्यहरू इच्छा अनुरूप गर्नुपर्छ। जीवनलाई सार्थक बनाउन व्यावसायिक जीवन र व्यक्तिगत जीवनबीच सन्तुलन हुनुपर्छ। व्यावसायिक जीवनप्रति बढी समर्पित हुँदा व्यक्तिगत जीवन बिग्रेको देखिन्छ। त्यसैगरी व्यक्तिगत जीवनप्रति बढी समर्पित हुँदा व्यावसायिक जीवन सफल नभएको देखिन्छ। सन्तुलन मिलाएर सार्थक जीवन बाँच्नेहरूकै मृत्यु पनि सार्थक हुन्छ।

दुर्घटना र महामारीजस्ता कारणले हुने असामयिक अकाल मृत्युलाई न्यूनीकरण गरेर जीवनलाई सार्थक बनाउन सकिन्छ। यसका लागि व्यक्तिगत स्तरमा स्वस्थ र सुरक्षित जीवनशैली अपनाउन सकिन्छ भने राज्यले निवारक र उपचारात्मक उपायहरू अवलम्बन गरेर नागरिकको जीवन सार्थक बनाउने कार्यमा योगदान गरी उत्तरदायित्व पूरा गर्न सक्छ। सामान्यतया अल्पायुमा हुने मृत्यु सार्थक हुन सक्दैन। यद्यपि मुलुकका लागि सहिद हुनेहरूले उच्चतम लक्ष्य हासिल गरिसकेको हुनाले त्यस्तो मृत्यु अकाल मृत्यु भएर पनि सार्थक मानिन्छ। भनिन्छ, तानाशाहहरूको अधीनमा बाँच्नुभन्दा तिनीहरूको विरुद्धको लडाइँमा वीरगति प्राप्त गर्नु श्रेष्ठकर हुन्छ। समग्रमा मृत्यु दुःखद् नै हुन्छ। यो दुःखको सबैभन्दा ठूलो कारण चाहिँ आफन्तजनसँगको बिछोड हो।

मृत्युशय्यामा रहेको मानिसलाई आफ्ना लालाबाला वा संरक्षणमा रहेकाहरूको बिजोग होला कि भन्ने चिन्ता हुन्छ, जुन स्वाभविकै हो। त्यसो हो भने के गर्ने त ? उमेर छँदै आफ्ना बालबच्चालाई जिम्मेवार बनाएर यो चिन्ता कम गर्न सकिन्छ। बुढ्यौली भएर मृत्यु हुने सन्दर्भमा चिन्ता कम गर्न समय व्यवस्थापन गर्न सकिन्छ। अकालमा असामयिक रूपमा हुने मृत्युको सन्दर्भमा यो प्रायः असम्भव हुन्छ तर केही हदसम्म प्रयास गर्न सकिन्छ।

इच्छ्याइएका असल कार्यहरू पूरा गरेर जीवनलाई सार्थक बनाउन सकिन्छ। त्यसैगरी, जीवनलाई थप सार्थक बनाउन मृत्युपछि आँखादान वा शरीरका अन्य अंगको दान गर्न सकिन्छ। यसरी मृत्युपछि पनि आँखा वा अन्य अंग अरूको शरीरमा जीवित रहन सक्छन्, जसले अरूलाई जीवनदानसमेत दिएको हुन्छ। मृत्युपश्चात् अरूको जीवन बचाउनमा मद्दत गरेर आफ्नो मृत्यु र अरूको जीवनलाई सार्थक बनाउन सकिन्छ। सार्थकतापूर्वक बाँचेपछिको मृत्यु पनि सार्थक हुन्छ नै। मृत्युसम्बन्धी चर्चा, परिचर्चा हुने गरेको कमै पाइन्छ। अझै मृत्युबारे कुरा गर्नु हुँदैन भन्ने मन्यतासमेत रहेको पाइन्छ। वास्तवमा यसबारे व्यापक छलफल हुनुपर्छ। गम्भीरतापूर्वक मनन् गर्नुपर्छ र मृत्युका लागि तयारी गर्नुपर्छ। 

समयमै तयारी गरी मृत्युलाई समेत सार्थक बनाउन सकिन्छ।

सार्थक मृत्युको प्रसंग आउँदा राष्ट्रकवि माधव घिमिरेको गीत ‘त्यसरी होस् मरण’ को चर्चा गर्नु सान्दर्भिक हुन्छ। उद्देश्यपूर्ण जीवन बाँच्नु भएका उहाँले आफ्नो मृत्युपछि बजाइने गीत निधन हुनु ६१ वर्षअघि नै लेख्नु भएको थियो। उहाँको निधन हुनुभन्दा दुई वर्षअघि गायक कर्णदासको स्वरमा उक्त गीत गोप्य रूपमा रेकर्ड गरिएको थियो। कविवरले आफूलाई उक्त गीत नसुनाउनु भनेकाले उहाँको निधनपश्चात्मात्र गीत सार्वजनिक भयो। सार्थक मृत्युलाई बुझ्न तीन अन्तराको उक्त गीतको यहाँ प्रस्तुत एउटा अन्तरा नै पर्याप्त छ:

सुन्दर सृष्टि निहारी, सुखैले चिम्लुँ नयन
बिहानीपख रातको, कुसुम पारिजातको
जसरी जान्छ झरेर, भुइँमा बिना पवन
त्यसरी होस् मरण !

सबैले राष्ट्रकविले जस्तै जीवन र मृत्युलाई जोड्ने भावको गीत लेख्न सक्दैनन्। तर उहाँले मृत्युपश्चात् पनि मानिसले खुसीसाथ सार्थक मृत्यु रोज्नुपर्छ भनेर दिनुभएको सन्देशलाई त आत्मसात् गर्न सकिन्छ, सक्नुपर्छ। तसर्थ धार्मिक र साम्प्रदायिकलगायतका अतिवादबाट मुक्त भई असल मन, वचन र कर्मले अरूप्रतिको द्वेष त्यागेर असल नियतले देश र समाजप्रति उत्तरदायी भएर जीवनलाई सार्थक बनाएमा मृत्यु पनि सार्थक हुन्छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.