वैधभन्दा अवैध रकम बढी देखिएपछि...
उनीविरुद्ध भ्रष्टाचार निवारण ऐनबमोजिम जरिवाना र कैद सजाय हुन र स्रोत नखुलेको सम्पत्ति जफत गर्ने प्रयोजनार्थ उत्तमदेवी श्रेष्ठलाई समेत प्रतिवादी कायम गरी २०७३ कात्तिक २९ मा विशेष अदालतमा मुद्दा दर्ता गरिएको थियो।
काठमाडौं महानगरपालिका कार्यालयका इन्जिनियर गम्भीरलाल श्रेष्ठले पदको दुरुपयोग गर्दै अकुत आर्जन गरेको खुलेको छ। श्रेष्ठले २०४३ असोज १६ देखि २०७१ साल माघ मसान्तसम्म सार्वजनिक सेवाको पदमा रहेर अकुत सम्पत्ति पनि आर्जन गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ।
यस अवधिमा उनले ४४ लाख ३६ हजार २८० बैधबाटोबाट आम्दानी गरेको भए पनि लगानी तथा खर्च १ करोड ७३ लाख ३७ हजार २७ रुपैयाँ गरेको देखिएको छ। यो अवधिमा आयभन्दा बढी खर्च गरेको १ करोड २९ लाख ७ सय ४७ रुपैयाँको स्रोत वैधानिक रूपमा पुष्टि हुन नसकेको देखिएको थियो।
उनीविरुद्ध भ्रष्टाचार निवारण ऐनबमोजिम जरिवाना र कैद सजाय हुन र स्रोत नखुलेको सम्पत्ति जफत गर्ने प्रयोजनार्थ उत्तमदेवी श्रेष्ठलाई समेत प्रतिवादी कायम गरी २०७३ कात्तिक २९ मा विशेष अदालतमा मुद्दा दर्ता गरिएको थियो। महानगर इन्जिनियर श्रेष्ठले पनि सफाइ पाएका छन्। २०७५ जेठ १७ गते विशेषका न्यायाधीशहरू बाबुराम रेग्मी, चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको इजलासले उनलाई सफाइ दिएको छ।
१६ वर्षमा १ करोड बढी अकुत
स्वास्थ्य मन्त्रालयअन्तर्गत मेडिकल सुपरिटेन्डेन्ट पदमा कार्यरत रही काम गरेका डा. रामशंकर ठाकुरले अकुत सम्पत्ति आर्जन गरे। उनी २०४३ असार ४ गतेमा सार्वजनिक सेवा प्रवेश गरेका थिए। २०४३ असार ४ गतेदेखि २०६९ असार मसान्तसम्मको जाँच अवधिको सम्पूर्ण आय र व्ययलाई समग्रतामा विश्लेषण गरी हेर्दा ठाकुरको बैध आयस्रोत बाहेकको वास्तविक स्रोत नखुलेको सम्पत्ति १ करोड १८ लाख २७ हजार १३ रुपैयाँ खुल्न आएको छ।
उनले राष्ट्रसेवक भएपश्चात के कस्तो स्रोतबाट सम्पत्ति आर्जन गरेको हो भन्ने प्रमाणहरूबाट पुष्टि गर्न नसकेको अख्तियारको प्रतिवेदनमा उल्लेख छ। उनले अकुत सम्पत्ति परिवारको सदस्यको नाममा लुकाएको देखिएको छ। चल अचल सम्पत्तिहरू जफतको प्रयोजनका लागि विन्दुदेवी ठाकुर र जीतेश ठाकुरलाई समेत प्रतिवादी कायम गरी गरी २०७३ भदौ २० मा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको थियो।
उनलाई विशेषले सफाइ दिएको छ। २०७८ चैत १३ गते विशेष अध्यक्ष श्रीकान्त पौडेल, सदस्य शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले सफाइ दिएको थियो।
इन्जिनियरले यसरी गरे अकुत आर्जन
काठमाडौं महानगरपालिकाको कार्यालयका वरिष्ठ इन्जिनियर रामहरि फुयाँलले पदीय जिम्मेवारीको दुरुपयोग गरी गैरकानुनी रूपबाट सम्पत्ति आर्जन गरेका थिए। उनीविरुद्ध अख्तियारले अनुसन्धान गरी मुद्दा हालेको थियो। फुयाँलले सार्वजनिक पद धारण गरेको मिति २०५२ असोज ४ गतेदेखि मिति २०७१ फागुन ३० सम्मको जाँच अवधिको सम्पूर्ण आय र व्ययको अनुसन्धान गरिएको थियो।
उनको आय ५ करोड २८ लाख, ९३ हजार ४९२ रुपैयाँ देखिएको छ भने, खर्च तथा लगानी ८ करोड, २ लाख २ हजार ८२४ गरेको पाइएको छ। आयबाट व्यय घटाउँदा जम्मा २ करोड, ७३ लाख, ९ हजार, ३३२ बराबरको सम्पत्तिको वैधानिक रूपमा पुष्टि नभएको अख्तियारले जनाएको छ। उनले अकुत सम्पत्ति श्रीमती शोभा सिम्खडाको नाम पनि राखेको भेटिएको थियो।
फुयालविरुद्ध साबिक भ्रष्टाचार निवारण ऐनबमोजिम जरिवाना तथा कैद सजाय हुन र सो सम्पत्ति जफत गर्ने प्रयोजनका लागि निजको श्रीमती शोभा सिम्खडासमेतलाई प्रतिवादी कायम गरी २०७३ कात्तिक २९ मा विशेष अदालतमा आरोपपत्र दायर गरिएको थियो।
अधिकारीको लाख कमाइ, करोडौं अकुत
सीप विकास परियोजना, नयाँबानेश्वर, काठमाडौंका वरिष्ठ लेखा अधिकृत रामबाबु अधिकारीले सार्वजनिक सेवाको पदमा रहँदा मर्यादाविपरीतका कार्यहरू गरी स्रोत पुष्टि हुन नसक्ने अकुत सम्पत्ति आर्जन गरेको देखिएको छ।
अधिकारी २०४६ माघ ३ गते सार्वजनिक सेवा प्रवेश गरेका थिए। सार्वजनिक सेवाको पदमा सेवा प्रवेश गरेको २०४६ माघ ३ देखि २०७३ फागुन ३१ सम्मको जाँच अवधिमा जम्मा आय ९२ लाख २३ हजार ८५१ रहेको छ। २०७६ जेठ २ गते विशेषका अध्यक्ष बाबुराम रेग्मी, द्ववारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठको इजलासले उनलाई सफाइ दिएको छ।
अकुत रकम श्रीमतीका नाममा
नेपाल विद्युत् प्राधिकरणका सहायक प्रबन्धक ध्रुवकुमार उप्रेतीले अकुत सम्पत्ति कमाएको देखिएको छ। उनले सार्वजनिक सेवा रहँदा ३१ वर्षमा करिब सवा चार करोड अकुत सम्पत्ति आर्जन गरेको पाइएको छ। उप्रेती आर्थिक वर्ष २०३६/०३७ मा सार्वजनिक सेवामा प्रवेश गरेका थिए। सेवामा प्रवेश गरेदेखि २०६७÷०६८ सम्मको उनको आम्दानी १ करोड १० लाख ३० हजार ३४५ देखिएको छ।
कुल व्यय भने ५ करोड २८ लाख ४१ हजार १५४ भएको पाइएको छ। उनको आयभन्दा व्यय ४ करोड १८ लाख १० हजार ८०९ बढी भएको देखिएको छ। उनले अवैध सम्पत्तिबाट विभिन्न स्थानमा लगानी गरेको अनुसन्धानबाट खुलेको छ। उनले पत्नी सन्ध्या लामिछाने (उप्रेती) को नाममा पनि अकुत सम्पत्ति लुकाएका थिए। उनीविरुद्ध २०७२ माघ २८ मा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको थियो। उनलाई विशेष अदालतले दोषी ठहर गरेको छ। २०७६ माघ २७ गते विशेष न्यायाधीशहरू शिवराज अधिकारी, बालेन्द्र रूपाखेती र रवि शर्मा अर्यालले दोषी ठहर गरेको हो।
अकुत आर्जन, अवैध काम
सुरेश सिंहले वन विभागमा दरबन्दी रहँदै सागरनाथ वन विकास परियोजना कार्यालय, सर्लाही सम्म आइपुग्दा अकुत सम्पत्ति जम्मा गरेको खुलेको छ। उनले २०४६ भदौ २५ मा सार्वजनिक पद धारण गरेका थिए। सरकारी जागिरमा प्रवेश गरेदेखि २०७० साउन २९ सम्म उनको आय ३३ लाख ७१ हजार ७०४ मात्रै देखिएको छ। तर, समग्र व्यय एवं लगानी १ करोड ९४ लाख ६ हजार ८२९ देखिएको छ। उक्त जाँच अवधिमा उनको आयको तुलनामा व्यय रकम १ करोड ६० लाख ३५ हजार १२५ बढी खर्च भएको देखिएको छ।
सिंहले गरेको खर्चबाट न्यायोचित खर्चलाई घटाउँदासमेत उनले उक्त जाँच अवधिमा १ करोड ३६ लाख ७३ हजार ५६९ रुपैयाँ ४२ पैसा गैरकानुनी तवरले सम्पत्ति आर्जन गरेको पुष्टि भएको अख्तियारले जनाएको छ। उनले श्रीमती निर्मलादेवी सिंहको नाममा समेत अकुत सम्पत्ति लुकाइएको खुलेको छ। सनराइज बैंकबाट ३३ लाख ४१ हजार ९९९ रुपैयाँ ९९ पैसा निकाली लुकाएको पनि भेटिएको थियो। विशेषका न्यायाधीसद्धय बाबुराम रेग्मी र चण्डीराज ढकालको इजलासले दोषी ठहर गरेको हो।