भ्रष्टाचार र तस्करी भयो भने विकास हुँदैन : ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार रोक्नु हरेक नागरिकको कर्तव्य हुने बताएका छन्। बिहीबार भक्तपुरमा आयोजित नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको भेलालाई सम्बोधन गर्दै ओलीले भ्रष्टाचार र तस्करी भयो भने विकास नहुने बताएका हुन्।
‘हामी यस देशका नागरिक हौं। यस देशमा भ्रष्टचार हुन्छ भने हुनुहुँदैन भन्ने मेरो हक छ, त्यो रोक्ने मेरो कर्तव्य हो। त्यसकारण मेरो चासो र सरोकार छ। भ्रष्टाचार भयो भने विकास हुँदैन। तस्करी भयो भने विकास हुँदैन। कुशासन भयो भने विकास हुँदैन।’ उनले भने, ‘राजनीतिक रंग हेरेर आफूलाई समर्थन गर्छ कि गर्दैन भनेर कर्मचारी र नागरिकमाथि भेदभाव गर्यो भने न्याय हुँदैन।’
सेना, प्रहरी भनेको सचेत समुदाय भएको र विभिन्न समुदाय र संस्कृति चिनेको हुने बताए। ‘सेना प्रहरी भनेको सचेत समुदाय हो। अवकाश प्राप्त/ भूतपूर्व हुँदा धेरै अनुभव हासिल गरेको हुन्छ।’उनले भने, ‘सेना, प्रहरी विभिन्न जिल्लामा सरुवा भएको हुन्छ। विभिन्न स्थानका समुदाय र संस्कृति चिनेको हुन्छ।’
ओलीले पेन्सनले मात्र जीविका चलाउन गाह्रो हुने भएकाले सेना, प्रहरीबाट अवकाश प्राप्त भएपछि पनि अन्य काम गर्न उनीहरु सक्षम हुने बताए।