‘विष नहाल्दा फल्छ तरकारी’

‘विष नहाल्दा फल्छ तरकारी’
जलवायु अनुकूल कृषि प्रविधिबाट तरकारी खेती गर्दै मानबहादुर शाही।
सुन्नुहोस्

दैलेख : करिब ३२ वर्षअघि वीरेन्द्रनगर नगरपालिका–९ पर्सेनीका मानबहादुर शाही घरबारीको माटोको उब्जाउ देखेर मक्ख पर्थे। त्यतिबेला परम्परागत रूपमा नगदे बालीको खेती हुन्थ्यो। त्यसबाहेक मौसमअनुसार अरू बालीनाली पनि राम्रै उब्जाउ हुन्थ्यो। २०४८ मा मानबहादुर सेनामा भर्ती भएँ। ‘म सेनामा जागिरे  भएपछि घरमा आउजाउ कम भयो, घरपरिवारले व्यवस्थित खेती प्रणाली अपनाउन सकेनन्, बारीको उब्जाउ शक्ति विस्तारै घट्न थाल्यो, उत्पादन बढ्ने आशाले कीटनाशक विषादीको प्रयोग गर्न थाल्यौं,’ शाही भन्छन्। 

जागिरे जीवनको २० वर्षपछि रिटायर्ड भएका शाही त्यही माटोको उब्जाउ शक्ति बढाउने उपायको खोजीमा जुटे। त्यही माटोमा आफ्नो जाँगर पोख्न थाले। हिजोआज बारीको उब्जाउ शक्ति बढ्दै गएको शाही सुनाउँछन्। 

कारण हो, उनले जलवायु अनुकूलन कृषि प्रविधि अँगाल्नु। ‘कुनैबेला राम्रो उत्पादन हुने बारीमा दुःख गरेअनुसार उत्पादन हुन छोड्यो, यसको कारण त कीटनाशक विषादी प्रयोग पो रहेछ,’ शाहीले भने। तरकारी बालीमा लाग्ने रोग कीरा नियन्त्रणका लागि जैविक उपचार विधि अपनाइएको उनको भनाइ छ। 

पछिल्लो तीन वर्षयता बजारमा पाइने विषादी प्रयोग गर्नै छोडेको उनको भनाइ छ। शाहीको बारीमा मौसमअनुसारका तरकारी उत्पादन भइरहेका छन्। ‘तरकारी उत्पादन राम्रो भइरहेको छ, कुनैबेला विषादी प्रयोग नगरी तरकारी फल्दैन जस्तो लाग्थ्यो,’ उनले भने, ‘विषादी प्रयोग नगर्दा पनि त तरकारी फल्दो रहेछ, त्यसमाथि   अर्गानिक खाँदा स्वास्थ्य पनि नबिग्रिने।’ आठ कट्ठा क्षेत्रफलमा तरकारी खेती गरिरहेका शाही परिवारले मौसमअनुसार काउली, बन्दागोभी, गोलभेँडालगायतका तरकारी उत्पादन गर्दै छन्। 

तरकारी खेतीमा मानबहादुरमात्रै होइन, उनको परिवार नै होमिएको छ। उनकी छोरी बिन्दु भन्छिन्, ‘तरकारी बारीमा कुनै पनि विषादी प्रयोग गरेका छैनौं, जैविक मल प्रयोग गर्न थालेपछि उत्पादन पनि बढेको छ।’ यो परिवारले तरकारी खेतीबाटै वार्षिक दुई लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेको छ। बकाइनो, सिस्नो, तीतेपाती, लसुन, सुर्खानी, मेवाको पातलगायत प्रयोग गरेर जैविक विषादीको रूपमा तरकारी बारीमा प्रयोग गर्ने गरेको बिन्दुको भनाइ छ। जैविक विषादी बनाउन एक महिना समय लाग्ने उनले बताइन्। 

व्यावसायिक रूपमा तरकारी खेती गरिरहेको यो परिवारले गड्यौला मल र ड्राई कम्पोस्ट मलको प्रविधि पनि अपनाएको छ। ‘निकास खोलामा बाँध बाँधेर सिँचाइ सुविधा पनि ल्याएका छौं, तरकारी खेतीमा जलवायु अनुकूलन कृषि प्रविधि अपनाउँदा बहुउपयोगी फाइदा भएको छ,’ एमएड तहमा अध्ययनरत बिन्दु भन्छिन्। मानबहादुरको परिवारमात्र होइन्, स्थानीय ६५ वर्षीय भूपबहादुर शाही पनि तरकारी खेतीमा संलग्न छन्। २०७१ सालमा सिँचाइ सुविधा आएपछि तरकारी खेतीमा जुटेका शाहीले पछिल्लो तीन वर्षयता जलवायु अनुकूलन कृषि प्रविधिलाई अँगालेका छन्। ‘मैले तीन कट्ठा जमिनमा तरकारी खेती गरिरहेको छु, खेतीमा जैविक विषादी प्रयोग गरिरहेका छौं, मौसमअनुसारको तरकारी फलाइरहेको छु,’ उनले भने। विषादी प्रयोग नगरी तरकारी उत्पादन गर्ने गरेको शाहीको भनाइ छ।

व्यावसायिक तरकारी खेती गर्ने यी केही प्रतिनिधिमूलक पात्र हुन्। पर्सेनी गाउँका २२ भन्दा बढी घरपरिवार तरकारी खेतीमा संलग्न छन्। उनीहरू लगनशील लद्युउद्यमी महिला कृषि समूहमा आबद्ध छन्। समूहमा आबद्ध कृषक सदस्य मासिक रूपमा बैठक बस्छन्। समूहकी अध्यक्ष कृष्णा बीसीका अनुसार हरेक सदस्यले मासिक ५० रुपैयाँ बचत गर्छन्। यहाँ सामुदायिक सिकाइ केन्द्रसमेत स्थापना गरेको छ। सिकाइ केन्द्रमा अवलोकनका लागि सुर्खेतसहित चितवन, बाजुरालगायतका जिल्लाबाट आउने गरेको अध्यक्ष बीसीको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.