धनुषामा आरती हत्या प्रकरण : उजुरी दर्ता गराउन गएकामाथि कुटपिट गर्ने प्रहरीमाथि छानबिन सुरू
जनकपुरधाम : पीडित पक्षलाई नै कुटपिट र यातना दिएको आरोपमा प्रहरी प्रधान कार्यालयले धनुषा प्रहरीमाथि छानबिन सुरु गरेको छ । धनुषाकी आरती साहको हत्या प्रकरणमा प्रहरीले पीडित पक्षलाई नै उल्टै कुटपिट र यातना दिएको आरोप लगाउँदै न्यायका लागि लामो समयदेखि काठमाडौंको माइती घर मण्डलामा धर्ना दिँदै आएकाहरुको आरोपको सत्यता बुझ्न प्रहरी प्रधान कार्यालयले धनुषा प्रहरीमाथि छानबिन थालेको हो।
दाइजो नदिएका कारण छोरीको हत्या गरेको र उजुरी दर्ता गराउन गएपछि प्रहरीले उल्टै कुटपिट र यातना दिएको आरोप पीडित परिवारको छ । प्रहरी नायव महानिरीक्षक विकास खनालको नेतृत्वको टोलीले जनकपुरधाम पुगी घटनाको अनुसन्धान थालेको हो ।
टोलीले आरतीको मृत्यु भएको घटनास्थल, मृतकका माइती तथा ससुराली पक्ष,आरोपित प्रहरी उपरीक्षक विश्वराज खडकालगायतका अन्य प्रहरी अधिकारी,महिला र मानव अधिकारको पक्षमा काम गरिरहेका संघ संस्थाका प्रतिनिधिहरूसँग सोधपुछ गरिरहेको छानबिन टोलीका सदस्य वरिष्ठ प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।