नारी भनेको वास्तवमा तेज र ज्ञान भएको शक्ति हो, दैवी शक्ति, विदुषी र ब्रह्मवादिनी शक्तिको रूपमा वेदले विशेष रूपमा नारीको सम्मान गरेको छ।
संसारकै प्राचीनतम् सनातन धर्ममा भगवान् शिव ‘अद्र्धनारीश्वर’का रूपमा पूजित छन्। वेदमा नारी दिव्यता सम्बन्धमा, ‘अर्धनारी नरवपु : प्रचण्डोति शरीरवान्। विभाजात्मा नमित्युक्त्वा तं ब्रम्हान्त दधेततः।’ भनेर उल्लेख छ। जसले नारीको स्थानपछि पुरुषलाई राखेको छ। सरस्वती, लक्ष्मी र दुर्गाको क्रमश : विद्या, धन र शक्तिकी देवीका रूपमा पूजा हुन्छ। काठमाडौं उपत्यकामा कुमारीलाई जीवित देवीका रूपमा पूजा गर्ने चलन अहिले पनि छ।
वैदिककालमा महिला ‘ब्रह्मवादिनी’ र ‘सद्योवधू’ (सद्योद्वाह) गरी दुई समूहमा विभाजित थिए। ‘सद्योवधू’ (सद्योद्वाह) समूहका महिलाहरूले विवाहपूर्व ‘वेदमन्त्र’ र ‘याजक’ प्रार्थनासम्बन्धी ज्ञान प्राप्त गर्दथे। ‘ब्रह्मवादिनी’ समूहका महिला भने आजीवन वैदिक शिक्षामा लीन हुन्थे (शैलेन्द्र सेंगर, भारतका इतिहास, २००५ : १०२)।
ब्रह्मवादिनीहरूमा ‘सुलभा मैत्रेयी’, ‘वाचकन्वी गार्गी’ र ‘बडवा प्राचितेयी’जस्ता नारी ज्ञानका खानी थिए। अन्य नारीहरू विवाह गरेर गृहस्थ जीवन चलाउँथे। वैदिक वाङ्मयमा ‘उपाध्याया’ भन्ने शब्द आएबाट नारीहरू अध्यापिका थिए भन्ने बुझिन्छ। ब्रह्मचर्यमा रही शिक्षा प्राप्त गर्दा कन्यालाई तालिम दिइएको छ भने मात्रै तिनको विवाहित जीवन सुखमय हुने कुरा अथर्ववेदमा उल्लेख छ (मदनमणि दीक्षित, १९९९ : ८०४)।
आधुनिक नारीवादीहरूका दृष्टिमा नारी स्वतन्त्रता विरोधी मनुले समेत ‘स्त्री जातिको सम्मान हुँदा देवताहरू खुसी हुने’ बताएका छन्। वैदिक दर्शनले नारीलाई एउटा आदि स्रोत अर्थात् सम्पूर्ण सृष्टिको पहिलो र सनातन शक्तिको रूपमा मानेको छ।
नारी भनेको वास्तवमा शरीर, ऐश्वर्य, उर्वरा, सिर्जना, सौन्दर्य र आर्जवता हो। तेज र ज्ञान भएको शक्ति हो, दैवी शक्ति, विदुषी र ब्रह्मवादिनी शक्तिको रूपमा वेदले विशेष रूपमा नारीको सम्मान गरेको छ।
नेपाली संस्कृतिभित्रका ‘वैदिक’, ‘मुन्धुम’ र ‘शाक्य’ प्रचलनभित्र महिलाप्रति सम्मानका अवधारणाहरू यथेष्ट भेटिन्छन्। ‘याज्ञवल्क्य’की पत्नी ‘मैत्रेयी’का अनेकौं प्रश्नहरूको जवाफमा ‘याज्ञवल्क्य स्मृति’ तयार भएको थियो। मैत्रेयीले गरेको वेदको व्याख्याबाट ‘मैत्रेयी उपनिषद्’ बनेको थियो। याज्ञवल्क्यकी अर्की पत्नी ‘कात्यायिनी’ले उपनिषद् रचना गरेकी थिइन् (युवराज संग्रौला, निःसंकोच अभिव्यक्ति, २०७४ : ३२६–३२७)।
पश्चिमा जगत््मा भने महिलालाई हेर्ने दृष्टिकोण पशुवत् थियो। जुलिया हब्सका अनुसार करीब एक हजार वर्षअघि पश्चिमाहरू महिलालाई मानिस मान्दैनथे। सोही कारण उनीहरूले ‘महिला मानिस मान्ने या पशु’ भन्ने विषयमा ग्रिसको चर्चमा मतदान नै गरेका थिए।
देशका विभिन्न ठाउँबाट सयौं नवयौवना नारीहरू राणाहरूको दरबारमा ल्याइन्थे। राणाहरूका दरबारमा बाइसे–चौबिसे राज्यअन्तर्गतका राजारजौटाका कन्याहरूलाई डोलीमैयाँका रूपमा भिœयाइन्थे। उनीहरूलाई दरबारिया रीतिरिवाज–चालचलन र भाषा सिकाएर राणाहरूले बिहे गर्थे।
मतदान हुँदा महिला मानिस नै हुन् भन्ने पक्षमा एक मत बढी पर्न गयो। सोही मतका आधारमा पश्चिमा जगत्मा महिलाले मानिस हुने हक प्राप्त गरेका थिए। महिला मानिस हो या पशु भन्ने मतदानमा एक मत कम भएको भए पश्चिमा जगत्मा नारीहरूले पशुको दर्जामा आफूलाई राख्नुपर्ने हुन्थ्यो।
विवाह : पहिले र अहिले
विवाहका सन्दर्भमा हिन्दु समाजको सुरुवाती चरणमा ‘एक पत्नीव्रत’ र ‘एक पतिव्रता’ प्रथा प्रचलनमा थियो। तर, पछि शक्तिमा रहेका पुरुषहरूले ‘बहुपत्नी प्रथा’ प्रचलनमा ल्याए। त्यसपछि ‘बहुपत्नी प्रथा’ संस्थागत हुँदै आयो। राजा–महाराजा, धनीमानी र सामन्तहरूले सुख–भोगका लागि धेरै श्रीमती राख्ने चलन सुरु भयो। श्रौत ग्रन्थले राजाका धेरै रानी हुनुपर्ने मान्यतालाई छुट दियो।
अश्वमेध यज्ञ गर्ने राजाका चार जातका चारओटी रानी र तिनका जात मिल्दा सय–सय सुसारे रहने मान्यताले ठाउँ लियो। पुरुषले जुनसुकै श्रीमती ल्याए पनि पवित्र रहने, तर महिलाका हकमा उक्त कुरा लागू नहुने मान्यता विकास हुँदै आयो। परिणामत : बहुविवाह पुरुषका लागि वैध र महिलाका लागि अवैध मानिन थाल्यो (ज्ञानमणि नेपाल, नेपाल निरुक्त, २०७४ : २०९–२१०)।
वैदिक युगको अन्त भएर ‘गृृह्यासूत्र’ र ‘धर्मसूत्र’ युगमा बालिकासित असमान उमेरका पुरुषले बिहे गर्ने प्रचलन सुरु भयो। वैदिक युगमा विधवा विवाहलाई अनुमति थियो भन्ने कुरा ऋग्वेद सूत्र १०.१८.८ मा लेखिएको कुरा सूर्यकान्तले वैदिक कोशमा समेत उल्लेख गरेका छन्।
शचिले आफ्ना सौताहरूबारे उल्लेख गरेबाट वैदिक आर्यहरूमा पुरुषलाई बहुविवाहको अधिकार थियो भन्ने कुरा पुष्टि हुन्छ। तर, त्यतिबेला पनि समाज भने एकपत्नी विवाहतिर अग्रसर थियो (मदनमणि दीक्षित, हाम्रा प्राचीन नारी, १९९९ : ८०५)।
नेपालको सन्दर्भमा बहुपत्नी प्रथाको इतिहास लामो छ। लिच्छविकालमा राजा मानदेवका ‘भोगिनी’, मुख्य रानी, ‘क्षेमसुन्दरी’ र ‘गुणवती’का अतिरिक्त थप रानीहरू थिए। मल्लकालमा योगनरेन्द्र मल्लको मृत्यु हुँदा उनका २४ रानी सती गएका थिए (श्रीकृष्ण आचार्य, नेपालका पछिल्ला मल्ला राजाहरूको आपसी अन्त कहल, २०६९ : २९७)।
मल्लकालमा राजा प्रताप मल्लका पनि धेरै रानी थिए। शाहकालमा धेरै रानी भएका राजा रणबहादुर शाह हुन् (ज्ञानमणि नेपाल, निरुक्त, २०७४ : २१०)। राणाकालमा प्रधानमन्त्री जंगबहादुर राणाका मुख्यानी, बडामहारानी, महारानी, रानी र नानीहरू गरी ४२ श्रीमती थिए (पुरुषोत्तम शमशेर जबरा, श्री ३ हरूको तथ्य वृत्तान्त, २०६२ : १८९)।
त्यतिबेला राजा र राणाहरूका ब्याइते र ल्याइते नामका रानीहरू हुन्थे। विविपूर्वक विवाह गरेर भिœयाइएका रानीहरूलाई ब्याइते र अन्तरजातीय वा अन्य कारणले विवाह नगरी राखिने रानीहरूलाई ल्याइते भनिन्थ्यो। ती रानीहरूलाई भित्रेनी पनि भनिन्थ्यो। तिनीहरूबाट जन्मेका सन्तानहरूलाई भित्रेनीपट्टिका भनेर चिनिन्थ्यो। विगतमा राजा–महाराजाका अतिरिक्त सर्वसाधारणमा पनि बहुविवाह प्रचलनमा थियो। त्यतिबेला बहुविवाहका साथै अनमेल विवाह प्रचलनमा थियो।
डोलाजी विवाह र घरज्वाइँ
‘डोलाजी’ शब्दको मूलरूप ‘दुलाहाजी’ हुनामा सन्देह छैन। आर्यावर्तीय आर्यहरूको विवाह विधानअनुसार दुलाहाले दुलहीको पाणीग्रहण गरी उनलाई आफ्नो कुल र गोत्रमा ल्याउँछन्। यसैले विवाहिता नारीले आफ्ना सासू वा ससुराको एक वर्षसम्म आशौच बार्नुपर्छ। कुल र गोत्रको सम्बन्ध टुट्ने हुनाले आफ्नो जन्म दिने बाबु र आमाको भने ठाउँ हेरे तीनदेखि पाँच दिनमात्र आशौचबारे पुग्ने विधान गरिएको पाइन्छ।
तर, मध्यकालमा काठमाडौं डोलाजी विवाहसमेत प्रचलनमा थियो। यस वैवाहिक संस्कारअनुसार राजधरानाका राजकुमारीहरूको विवाह गरी दुलाहालाई घरज्वाइँका रूपमा दरबारमा भिœयान्थ्यो। ‘डोलाजी’ भन्नाले ‘दुलाहाजी’ भन्ने बुझिन्थ्यो।
मल्लकालकै प्रसंगमा एकताका कान्तिपुरका राजा अरि मल्ल थिए। तिनताका नेपालको राजधानी भक्तपुर थियो। यसैले आनन्ददेव र अरि मल्ल दुवै भक्तपुरमा रहन्थे। रुद्र मल्लको मृत्युपछि शासनाधिकार उनकी रानी ‘देवलदेवी’ले सम्हालेकी थिइन्। तर उनकी एकमात्र सन्तान नाबालिका छोरी ‘नायकदेवी’ मात्र हुनाले वंश रक्षाको प्रश्न उठेको थियो।
उमेर पुगेपछि देवलदेवीले छोरी नायकदेवीको विवाह ‘हरिश्चन्द्र’नामक युवकसँग गराई घरज्वाइँ राखेकी थिइन्। नायकदेवी र हरिश्चन्द्रले आआफ्ना पिताको थर राखेपछि पतिपत्नीमा विमेल उत्पन्न हुन गयो। सोही कारण पछि हरिशचन्द्रले आत्महत्या गरे। हरिशचन्द्रले आत्महत्या गरेपछि सिमरौनगढका अन्तिम राजा हरसिंहदेवका छोरा जगतसिंहसँग नायकदेवीको दोस्रो विवाह भयो। आपसी वैमनस्यका कारण जगतसिंह पनि नजरबन्दमा राखिए। छोरी ‘राजल्लदेवी’लाई जन्म दिएर नायकदेवी २० वर्षकै उमेरमा निधन भयो।
रुद्र मल्लको शासनाधिकार यतिबेलासम्म देवलदेवीले नै सञ्चालन गरिरहेकी थिइन्। एउटै छोरी नायकदेवीको निधनपछि नातिनी ‘राजल्लदेवी’ नै रुद्र मल्लको उत्तराधिकारीका थिइन्। त्यसैले देवलदेवीले एकजना क्षत्रीय कुमार झिकाइ राजल्लदेवीको दुलाहाजी बनाएर डोलाजी विवाह गराएकी थिइन्। राजल्लदेवीको दुलाहाजीले आफ्नो कुल र गोत्रलाई त्यागी राजल्लदेवीका बाजे रुद्र मल्लको गोत्रलाई अंगीकार गरेका थिए। यसरी भित्रिएका दुलाहाजी ‘स्थिति मल्ल’ थिए। यिनै स्थिति मल्ल पछि राजा ‘जयस्थिति मल्ल’का नामले चर्चित बन्न पुगे (बाबुराम आचार्य, नेपालका संंस्कृतिक परम्परा, २०५४ : १०६–१०७)।
प्रताप मल्लका अधिकतर शिलालेखहरूमा उनकी रानी ‘रूपमतीदेवी’, ‘अनन्तप्रियादेवी’को नाम उल्लेख हुनाले शासन व्यवस्थामा यी महारानीहरूको सक्रिय भूमिका थियो। भक्तपुरका राजा भूपतीन्द्र मल्लकी आमा ‘लालमतीदेवी’लाई राजा जितामित्र मल्लको मृत्युपछि नाति रणजित मल्लका पालासम्म जीवित थिइन्।
‘लालमतीदेवी’ले राजा भूपतीन्द्र मल्ललाई राजकाजमा सहयोग गरेकी थिइन्। मल्लकालमा राजाका विवाहिता भार्यालाई ‘पट्ट–महिषी’ भन्थे। राज्यको उत्तराधिकारीको आमालाई ‘महारानी’ पनि भन्थे। महारानी पद राजाले मन पराएकी विवाहित दोस्रो दर्जाका रानीका लागि समेत प्रयोग हुन्थ्यो। राजाका तेस्रा दर्जाका रानीलाई ‘भोगिनी’, ‘भोगबदुटी’ तथा ‘संग्रहिणी भार्या’ भनिन्थ्यो। शाहकालमा बडामहारानी, महारानी, रानी, रानीसाहेब भनेजस्तै मध्यकालमा पनि ‘पट्ट–महिषी’, ‘महारानी’, ‘रानी’, र ‘नानी मैजु’हरू थिए। मैजुहरू दरबारमा राखिएका केटीहरू हुन्थे (डा. जनार्दनराज लामिछाने, नेपालको प्रशासनिक संस्कृति : २०७४)।
१७७९ सालतिर ‘जगज्जय ठाकुल’ले ‘कुमुदिनी’ नामकी राजपरिवारकी एउटी कुमारीका ‘दुलाहाजी’का हैसियतले कान्तिपुरको राजभवनभित्र आफ्नो बलियो पकड बनाएका थिए। ‘जगज्जय ठाकुल’ यस समयका प्रभावशाली भारदार ‘चौतारा’ ‘झगल ठाकुल’को राजनीतिक गुटमा थिए। निःसन्तान राजा भाष्कर मल्लको निधनपछि झगल ठाकुलकै बलमा जगज्जय ठाकुल कान्तिपुरको राजा बने (बाबुराम आचार्य, नेपालको संक्षिप्त वृत्तान्त, २०७० : ८८)।
राजा बन्दा उनको नाम भने जगज्जय मल्ल थियो। रुद्र मल्लकी रानी ‘देवलदेवी’ साहसी थिइन्। उनले छोरी नायकदेवीलाई रुद्र मल्लको उत्तराधिकारी बनाई स्वयं शासन गरेकी थिइन्। राजा अरि मल्ल रुद्र मल्लको निधनपछि पनि ध्वज शासकको रूपमा मात्र रहे। यी दुईको संयुक्त शासनकालमा अडापराज आदित्य मल्ल (सिंजाका राजा)ले १३८४ सालमा नेपाल उपत्यकामाथि आक्रमण गरेका थिए।
पुण्य मल्ल (सिंजाका राजा)ले पनि १३९१ सालमा नेपाल उपत्यकामाथि आक्रमण गरेका थिए। खस सेना भदौदेखि फागुनसम्म काठमाडौंमा बसेर फर्केको थियो। खस सम्राट् पुण्य मल्लको नेपाल उपत्यकालाई करद राज्य बनाएको प्रमाण १३९४ को ताम्रपत्रमा समेत उल्लेख छ। देवलदेवीले बडो धैर्य र वीरताका साथ दुवै आक्रमणको सामना गरेकी थिइन् (ढुण्डीराज भण्डारी, नेपालको उद्भव तथा विकासको विश्लेषणात्मक इतिहास, २०४६ : १३७)।
ताघवाई गुम्बामा रहेको वंशावलीका अनुसार शकुनमाला खस राजा आदित्य मल्लकी छोरी थिइन्। आदित्य मल्लका छोरा कल्याण मल्लको राजा नहुँदै मृत्यु भएको थियो। नाति प्रताप मल्ल भिक्षु बनेर राजगद्दीको हक फुपाज्यू पुण्य मल्ललाई दिएका थिए (मोहनप्रसाद खनाल, मध्यकालीन अभिलेख, २०३० : १२–१३)।
राजा आदित्य मल्लको निधनपछि नाति भिक्षु प्रताप मल्लले फुपू शकुनमालाका पति पुण्य पाललाई सिंजाको राजकाज सुम्पेका थिए। पुण्य पालले पछि ‘मल्ल’ थर ग्रहण गरेका थिए (विश्व पोखरेल केसी, कीर्तिखम्ब, २०७० : १७)।
पुण्य पाल जुम्लाकै ‘गेला’का राजा ‘जय पाल’का छोरा थिए। इतिहास शिरोमणि बाबुराम आचार्यले भने ‘गेला’लाई ‘डोटी’ र ‘पुण्य पाल’लाई डोटीका राजकुमार भनेका छन् (बाबुराम आचार्य, हाम्रो राष्ट्रभाषा नेपाली, २०७० : ७३)।
तर, डोटेली राज वंशावलीमा ‘जाव पाल’ र ‘पुण्य पाल’को नाम भेटिँदैन (वासुदेव पाण्डेय, डोटी क्षेत्रका ताम्रपत्रको संकलन र अध्ययन, २०६५ : २३–१८४)। गेला भने तत्कालीन खस साम्राज्य अन्तर्गतको हुम्लामा पथ्र्यो।
राजकाजमा महिला
प्राचीनकालदेखि नै विश्वमा थुप्रै महिलाले रानीका रूपमा शासनसत्ता सम्हालेका इतिहास छ। महिला शासकहरूको नाम लिनुपर्दा प्राचीनकालमा सुमेर (वर्तमान इराक) की रानी कुबाबाको नाम अग्रपंक्तिमा आउँछ। कुबाबा विश्व राजनीतिक इतिहासमा पहिलो महिला शासक हुन्। उनको शासनकाल ईशापूर्व २४०० वर्ष रहेको छ।
विश्वमा सर्वाधिक चर्चित महिला शासकको नाम लिनुपर्दा प्राचीन मिश्रकी महारानी क्लियोपेट्राको नाम अग्रपंक्तिमा आउँछ। क्लियोपेट्रले ईशापूर्व ५१ मा मिश्रमा शासन गरेकी थिइन्। त्यसैगरी, चीनमा महारानी वु जेटियिनले सन् ६९० देखि ७०५ सम्म शासन गरेकी थिइन्। जापानमा कोग्योकु टेनोले ६४२ देखि ६४५ सम्म जापानको शासनाधिकार प्राप्त महारानी थिइन्।
आधुनिक विश्वमा थुप्रै नारीले रानीका रूपमा सत्ताको बागडोर सम्हालेका छन्। बेलायत महारानी एनी, भिक्टोरिया, एलिजावेथ प्रथम र द्वितीयबाट शासित रह्यो। दक्षिण एसियामा रानी चेन्नाभैरादेवी, अहिल्यावाई होल्कर, लक्ष्मीबाई आदिले भारतका विभिन्न प्रान्तीय रजबाडाहरूमा प्रत्यक्ष शासन गरेका थिए।
नेपालमा पनि नारीहरूले प्रत्यक्ष–अप्रत्यक्ष शासन गरेको इतिहास भेटिन्छ। प्राचीनकाल, मध्यकाल र आधुनिककालमा राजाको शेषपछि छोराका साथै रानीहरूले समेत शासन–सत्ता सम्हालेका छन्। लिच्छविकालमा राजा मानदेवद्वारा स्थापित चाँगुनारायण स्तम्भको शिलापत्रमा ‘राज्यवती’ (मानदेवकी आमा)ले ब्राह्मणहरूलाई दान दिँदै सतीव्रतमा रहेको प्रसंग उल्लेख छ।
आधुनिक विश्वमा थुप्रै नारीले रानीका रूपमा सत्तााको बागडोर सम्हालेका छन्। नेपालमा पनि नारीहरूले प्रत्यक्ष–अप्रत्यक्ष शासन गरेको इतिहास भेटिन्छ। प्राचीनकाल, मध्यकाल र आधुनिककालमा राजाको शेषपछि छोराका साथै रानीहरूले समेत शासन–सत्ताा सम्हालेका छन्।
मध्यकालमा राजाको शेषपछि छोराहरूका साथमा महारानीले समेत संयुक्त शासन गरेको उदाहरण पाइएको छ। भक्तपुरका राजा विश्व मल्लको निधनपछि नेपाल संवत् ६८० मा उनकी महारानी ‘गंगादेवी’ र उनका छोराहरू ‘त्रैलोक्य मल्ल’ र ‘त्रिभुवन मल्ल’को संयुक्त शासन चलेको चाँगुनारायणको भण्डारको अभिलेखमा उल्लेख छ।
कान्तिपुरका राजा ‘पार्थिवेन्द्र मल्ल’की महारानी ‘भुवनलक्ष्मी’ले पनि राजकाजमा सहयोग गरेको वर्णन इतिहासमा पाइन्छ। ललितपुरका राजा ‘योगनरेन्द्र मल्ल’का ठ्याहातर्फ छोरा नभई छोरीमात्र थिए। राजा योगनरेन्द्र मल्लको ३८ वर्षको उमेरमा मृत्यु हुँदा उनकी छोरी ‘योगमती’का छोरा दौहित्र ‘लोकप्रकाश मल्ल’लाई राजा बनाइएको थियो (डा. जनार्दनराज लामिछाने, नेपालको प्रशासनिक संस्कृति : २०७४)।
मध्यकालमा विकास निर्माणसँग सम्बन्धित छेंभण्डिल केन्द्रीयस्तरको कार्यालयका रूपमा थियो। यस्ता छेंभण्डिलमा महिलाहरू पनि कार्यरत थिए। संवत् ८५४ को क्वाछें भगवती मन्दिरकोे अभिलेखमा महिला छेंभण्डिल ‘जयलक्ष्मीदेवी’को नाम राजा रणजित मल्लपछि आएको छ (उही)। मल्लकालमा कान्तिपुरका राजा भूपालेन्द्र मल्लकी रानी लक्ष्मीले चार वर्षीय नाबालक छोरा भाष्कर मल्लको संरक्षिका भएर राजकाजमा सघाएकी थिइन्। शाहकालमा रानीहरू ललितत्रिपुरसुन्दरी, संम्राज्यलक्ष्मी र राजेन्द्रलक्ष्मीहरूले नायबी चलाएका थिए।
सती र दासदासी प्रथा
प्रधानमन्त्री चन्द्रशमशेरको पालासम्म नेपाली हिन्दु समाजमा श्रीमान्को निधनपछि श्रीमतीले सती जानुपर्ने प्रथा कायम थियो। प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा मुलुकी ऐन जारी गरी ‘सती जान्याको महल’अन्तर्गत १६ वर्षमुनिकी, १६ वर्षमुनिको छोरा हुने, ५ वर्षमुनिकी छोरी भएका, दोस्रो पोइ तुल्याउने (दोस्रो विवाह गर्ने) र गर्भवती महिलालाई सती जान रोक लगाएका थिए।
प्रधानमन्त्री चन्द्रशमशेरले १९७७ असार २५ गते मुलुकी ऐन संशोधन गरी सती जान र जान दिने कार्यलाई ज्यानमारासरह बात लाग्ने अपराधको कोटीमा राख्दै सती प्रथाको अन्त्य गरेका थिए। प्रधानमन्त्री चन्द्रशमशेरको शासनकाल अघि नेपालमा दासप्रथा उन्मूलनअघि नेपालमा सिमान्त वर्गका महिला–पुरुषहरू खुलेआम किनबेच हुन्थे।
कमारा–कमारीका रूपमा उनीरूको खुलेयाम खरीद–बिक्री हुन्थ्यो। राणाकालसम्म महिला भोगविलासका साधन थिए। देशका विभिन्न ठाउँबाट सयौं नवयौवना नारीहरू राणाहरूको दरबारमा ल्याइन्थे। राणाहरूका दरबारमा बाइसे–चौबिसे राज्यअन्तर्गतका राजारजौटाका कन्याहरूलाई डोलीमैयाँका रूपमा भिœयाइन्थे। उनीहरूलाई दरबारिया रीतिरिवाज–चालचलन र भाषा सिकाएर राणाहरूले बिहे गर्थे।
कुनै किसिमको दीर्घ रोगी र आफूलाई चालचलनमा ढाल्न नसक्ने कन्याहरूलाई फिर्ता पठाउँथे। राणा–शाहका दरबारमा महिलाहरू कोठामेचे, तालिमे, बैठके, नाइकेनी, डिठ्ठिनी, पुलिस्नी, द्वारे, भडारे, धामा (धाई बुबु दिदी), सुसारे तथा अडेल्नीका रूपमा राखिन्थे (पुरुषोत्तमशमशेर जबरा, मेरा जीवनका स्मृतिहरू, २०७० : ६५)। साथै, दरबारमा महिलाहरू ‘कमारी’ र ‘डोलीमैयाँ’का रूपमा पनि रहने गर्थे।
प्रधानमन्त्री रणोद्वीप सिंहले १९३८ चैत १० गते मिलिसिया अड्डाका कारिन्दालाई पूर्व २, ३, ४ नम्बर र पश्चिम २, ३, ४ नम्बरबाट २० देखि ३० वर्षकी महिला किनेर पठाउन उर्दी जारी गरेका थिए। बझांगी राजा गजराज सिंहले प्रधानमन्त्री जंगबहादुर राणा र उनका भाइ बमबहादुरलाई एक–एकजना कन्या खरिद गरी पठाएका थिए। त्यसरी किनेर पठाएकी केटी बाजुराबाट खोसिएकी थिइन्।
राजा गजराज सिंहले सो कुराको जानकारी प्रधानमन्त्री जंगबहादुर राणालाई पत्रमार्फत गरेका थिए। प्रधानमन्त्री जंगबहादुर राणाले ‘डडेल्धुरामा लक्षी बाडाले राम्री केटी पाली राखेकोले सय डेढ सय रुपैयाँमा किनेर ल्याउने’ भनी १९०८ माघ ३ गतेका दिन उर्दी जारी गरेका थिए (ज्ञानमणि नेपाल, नेपाल निरुक्त : २०७४)।
प्रधानमन्त्री चन्द्रशमशेरले १९८१ मंसिर १४ गतेको दिएको ‘करिया अमलेख स्पिच’पछि १९८२ साल वैशाख १ गते मुलुकी ऐनमा ‘ज्यू मास्ने–बेच्नेको महल’ संशोधन भई दासप्रथा उन्मूलन भएको थियो। दासदासीको रैरकम फरफारकमा पशुपतिनाथको कोषको रकम प्रयोग गरिएको थियो।
यसरी अमलेख गरिएका दासदासीहरूलाई शिवभक्त थर कायम गरिएको थियो। ती मुक्त दासदासीहरूलाई तराईको भीक्षाखोरीमा बसोबास गराइएको थियो। अमलेख गरिएका दासदासीहरूको बसोबास गरिएका कारण भीक्षाखोरीको नाम अमलेखगन्ज राखिएको थियो।