सोलुखुम्बुमा ४ जनामा डेंगु संक्रमण
सोलुखुम्बु : हिमाली जिल्ला सोलुखुम्बुमा पनि डेंगु संक्रमण पुष्टि भएको छ। जिल्लाको सोलुदुधकुण्ड नगरपालिका-४ फाप्लु र ११ तिङ्लाका ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ।
संक्रमण पुष्टि हुनेमा ३ पुरुष र १ महिला रहेका छन्। स्वास्थ्य कार्यालय प्रमुख सिवान ठाकुरका अनुसार भदौ ३ गते फाप्लुका४२ वर्षीया महिला, ५ गते फाप्लुकै १० वर्षीय पुरुष, ६ गते तिङ्लाका ३२ वर्षीय पुरुष र ७ गते फाप्लुका ४२ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो।
उनीहरूको जिल्ला अस्पताल फाप्लुमा गरिएको रगत परिक्षणमा डेंगु पुष्टि भएको प्रमुख ठाकुरले बताए। जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेका ४ जनाकै अवस्था सामान्य रहेको जनाइएको छ।
संक्रमितमध्ये एक जना बाहेक अन्य कसैको पनि ट्राभल हिष्ट्री नरहेको अस्पतालले जनाएको छ। जिल्लामा पनि डेंगु फैलिने सम्भावना बढेसँगै स्वास्थ्य कार्यालयले लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान थालेको छ।