अस्ट्रेलियामा अमेरिकी सेनाको हेलिकप्टर दुर्घटना
सिड्नी (एएफपी/रासस) : संयुक्त राज्य अमेरिकाको ओस्प्रे सैन्य हेलिकप्टर आइतबार युद्धअभ्यासका क्रममा अस्ट्रेलियाको उत्तरमा अवस्थित दुर्गम टापुमा दुर्घटना भएको छ। अस्ट्रेलियाको मुख्य भूमिबाट करिब ६० किलोमिटर उत्तरमा रहेको मेलभिल टापुमा उक्त दुर्घटना भएको हो।
दुर्घटनाग्रस्त स्थानमा खोज तथा उद्धारका साथै विमानमा सवार व्यक्तिहरूको सुरक्षा सुनिश्चित गर्नमा नै आफ्नो ध्यान केन्द्रित रहेको अस्ट्रेलियाको रक्षा मन्त्रालयले जनाएको छ। हेलिकप्टरमा अस्ट्रेलियाली सैनिक नरहेको स्पष्ट गर्दै मन्त्रालयले प्रारम्भिक चरणमा दुर्घटना प्रतिकार्यलाई प्राथमिकतामा राखिएको बताएको छ। स्थानीय सञ्चार माध्यमका अनुसार दुर्घटनाग्रस्त हेलिकप्टरमा चालक दलका सदस्यसहित अमेरिकी सुरक्षा निकायका २० जना सदस्य थिए। दुर्घटनामा घाइते भएका तीन जनालाई डार्विन अस्पताल लगिएको तथा एक जनाको अवस्था गम्भीर छ।
संयुक्त युद्धअभ्यासमा संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया इन्डोनेसिया र फिलिपिन्सका हजारौं सैनिकले भाग लिएका छन्। उत्तरी अस्ट्रेलिया पछिल्ला वर्षमा अमेरिकी सेनाका लागि महत्वपूर्ण रणनीतिक स्थान बनेको छ। एसिया–प्रशान्त क्षेत्रमा चीनको सामना गर्न अमेरिकाले उक्त स्थान सैन्य अभ्यासलाई प्राथमिकता दिएको हो।