पोखराका ताल र पोखरीमा ‘उत्पादन हुन्छ मोती’

पोखराका ताल र पोखरीमा ‘उत्पादन हुन्छ मोती’
मत्स्य अनुसन्धान केन्द्र बेगनास पोखराको कार्यालयमा रहेको माछापोखरीमा मोती उत्पादनका लागि राखिएको जीवित सिपी
सुन्नुहोस्

पोखरा : पोखराका तालहरूमा माछापालनसँगै व्यावसायिक रूपमा मोती पनि उत्पादन गर्न सकिने अनुसन्धानमा देखिएको छ। पोखरामा गरिएको एक अनुसन्धानले यहाँका तालहरूमा मोती उत्पादन गर्न सकिने देखिएको हो। मत्स्य अनुसन्धान केन्द्र बेगनास पोखराका केन्द्र प्रमुख वैज्ञानिक मोहम्मद इकबाल हुसेनको टोलीले गरेको अनुसन्धानबाट जिउँदो सिपीको प्रयोग गरी पोखराका तालमा मोती उत्पादनमा सफलता हासिल गरेको छ। 

मत्स्य अनुसन्धान केन्द्रले २०७४ सालदेखि स्थानीय तालमा पाइने ‘लेमिल्लिडेन्स मार्जिनालिज’ प्रजातिको सिपीमा सुरु गरिएको अनुसन्धानले सफलता पाएको हो। योसँगै पोखराका तालमा सिपीबाट मोतीको उत्पादन हुने प्रमाणित भएको छ। यसअघि देशमा व्यक्तिगत तवरमा पनि केही स्थानमा सिपीबाट मोती उत्पादन हुँदै आएकोमा पोखरामा पनि अनुसन्धानले सफलता प्राप्त गरेपछि किसानलाई मोती उत्पादनमा लाग्ने बाटो खुलेको वैज्ञानिक हुसेनले बताए। 

पोखराका तालहरूमा सिपीबाट मोती उत्पादनका लागि परीक्षण गरिएको थियो। यसरी गरिएको परीक्षणमा रूपाताल मोती उत्पादनका लागि सबैभन्दा उपयुक्त देखिएको हुसेनले बताए। रूपातालको गहिराइ र मलिलोपन मोती उत्पादनका लागि राम्रो रहेको हो। अनुसन्धानबाट मोती उत्पादन गर्न सकिने देखिएपछि अब किसानलाई पोखराका तालमा माछापालनसँगै मोती उत्पादनका लागि तालिम दिने र व्यावसायिक मोती उत्पादनमा प्रेरित गरिने पनि उनले सुनाए। 

माछापोखरी र तालहरूमा मोती उत्पादन र माछापालनसँगसँगै गर्न सकिने भएकोले किसानले एकै पटक दोहोरो फाइदा दिन सक्ने पनि उनले सुनाए। मोती उत्पादनका लागि पहिलो चरणमा पानीमा पाइने जीव सिपी चाहिन्छ। पोखराका तालहरूमा सिपी सजिलै पाइन्छ। बेगनासतालको नहरमा पनि सिपी पाइन्छ। मोती खेती गर्नुअघि सिपीको जोहो गर्नुपर्छ। सिपी पाइने ताल, खोलाबाट सिपी संकलन गरेर जीवित राख्न पानीमा राखिन्छ। 

जीवित सिपीको संकलन गरेपछि मृत सिपीको खोललाई प्रशोधन गरेर तयार पारिएको पिठोबाट बनाइएका विभिन्न आकृतिका बिँड जीवित सिपीको शरीरमा दुईतिर राखिन्छ। यसरी बिड राखेका सिपीलाई एकएक वटा थैलोमा राखेर तयार पारिएको माछापोखरी वा तालमा डुबाएर राखिन्छ। बिँड बनाउँदा बजारमा सहज रूपमा बिक्री हुने विभिन्न देवीदेवता, बुद्ध भगवान्लगायतको आकार दिन पनि सकिन्छ। एउटा जीवित सिपीबाट दुईवटासम्म मोती उत्पादन गर्न सकिन्छ। अनुसन्धानका क्रममा बुद्ध, विष्णु, गणेशलगायत देवदेवीको आकृतिको बिँड निर्माण गरिएको थियो।

nullपोखराको तालमा उत्पादन भएको मोती देखाउँदै मत्स्य अनुसन्धान केन्द्र बेगनास पोखराका केन्द्र प्रमुख वैज्ञानिक मोहम्मद इकबाल हुसेन। तस्बिर : कृष्णमणि बराल

यसरी पोखरी वा तालमा राखिएका जीवित सिपीले आफ्नो शरीर भित्र राखिएका बिँडमा लेपन लगाउँदै जान्छन् र १२ देखि १८ महिना जतिको समयमा बिँड मोतीमा परिणत हुन्छ। सिपीको जोहो गर्नेदेखि मरेका सिपीको खोललाई पिसेर प्रशोधन गरी बनाइएको पिठोलाई विभिन्न आकार दिएर बिँड तयार पार्ने, जीवित सिपीमा बिँड राखेपछि थैलोमा राखेर ताल वा माछापोखरीमा डुबाउनेदेखि मोती तयार गर्दासम्म दुईवटा मोती तयार गर्न पाँच सय रुपैयाँ जति लागत लाग्ने वैज्ञानिक हुसेनले बताए। यसरी उत्पादन भएको मोती दुई हजार रुपैयाँसम्म सहजै बिक्री गर्न सकिने पनि उनले सुनाए। 

समुद्रमा प्राकृतिक रूपमा बालुवाका कण सिपीको शरीरभित्र छिरेपछि त्यही बालुवाको कणमा मोती उत्पादान हुने गर्दछ। यसरी प्राकृतिक रूपमा तयार भएको मोती निकै महँगो हुन्छ। जीवित जीवमा उत्पादन हुने मोतीको मूल्य साइज र आकारअनुसार तय गर्न सकिने हुसेनले बताए। 

व्यावसायिक रूपमा मोती उत्पादनमा चीन विश्वमा पहिलो रहेको पनि उनले सुनाए। अहिलेसम्म नेपालमा विदेशबाट मोती आयात हुँदै आएको छ। पोखराका तालहरूमा व्यावसायिक रूपमा मोती उत्पादन गरेर विदेश निर्यात गर्न सकिने पनि उनले सुनाए। यसका लागि पहिले सिपीको पनि खेती गर्नुपर्ने उनले बताए। संघ, प्रदेश र स्थानीय सरकारको सहयोग रहे पोखराका तालहरूमा व्यावसायिक रूपमा मोतीको खेती गर्न सकिने वैज्ञानिक हुसेन बताए। 

  •     रूपातालको गहिराइ र मलिलोपन मोती उत्पादनका लागि राम्रो रहेको विज्ञको भनाइ।
  •     प्राकृतिक रूपमा तयार भएको मोती निकै महँगो हुन्छ।

‘रूपाताल मोती उत्पादनका लागि तयार’

रूपाताल मोती उत्पादनका लागि पोखराको सबैभन्दा उपयुक्त ताल रहेको अनुसन्धानले पुष्टि गरेपछि रूपाताल पुनस्र्थापना तथा मत्स्यपालन सहकारी मोती उत्पादनका लागि उत्साहित भएको छ। 

२०५८ सालमा स्थापना भएको सहकारीले रूपातालमा व्यावसायिक रूपमा माछापालन गर्दै आएको छ। रूपाताल मोती उत्पादनमा उत्कृष्ट रहेको अनुसन्धानबाट पुष्टि भएकोले कर्मचारीलाई तालिम दिएर मत्स्य अनुसन्धान केन्द्र बेगनास पोखराको प्राविधिक सहयोगमा व्यावसायिक रूपमा मोती उत्पादनमा लाग्ने गरी सहकारी अघि बढ्ने योजनामा रहेको सहकारीका अध्यक्ष शिवराज अधिकारीले बताए। 

रूपातालमा मोतीको खेती गर्नका लागि आवश्यक सिपी पनि प्रशस्त रहेकोले व्यावसायिक रूपमा मोती उत्पादन गर्न सहकारी तयार रहेको सहकारीका संस्थापक अध्यक्ष लेखनाथ ढकालले बताए। रूपातालमा सहकारीलाई माछा पाल्न सिकाएको मत्स्य अनुसन्धान केन्द्र बेगनासले नै हो उनले भने। अब व्यावसायिक माछापालनसँगै मोती उत्पादनका लागि पनि मत्स्य अनुसन्धानबाट प्राविधिक ज्ञान लिएर मोती उत्पादनमा लाग्ने ढकालले बताए। 

गत आर्थिक वर्षमा सहकारीले १ करोड ८५ लाख रुपैयाँबराबरको माछाको कारोबार गरेको अध्यक्ष अधिकारीले बताए। गत आर्थिक वर्षमा ४५ हजार केजी माछा बिक्री गरिएको सहकारीको तथ्यांक छ। सहकारीमा एक घर एक धुरी सदस्य रहने व्यवस्था छ। सोही व्यवस्थाअनुसार सहकारीमा १ हजार १६ सेयरधनी रहेको अध्यक्ष अधिकारीले बताए। सहकारीमा २४ जनाले रोजगारी पाएको पनि अधिकारीले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.