लन्डनमा नेपाली मेला
लन्डन : बेलायतमा वर्षेनी आयोजना हुने नेपाली मेलाको चौधौं संस्करण हेर्न बेलायतवासी हजारौं नेपाली भेला भए। लन्डनको केम्पटन पार्क रेसकोर्समा आइतबार आयोजित मेलामा करिब ७ हजार दर्शक सहभागी बनेको आयोजक तमुधिं यूकेले जनाएको छ। मेलामा कोभिडपछि पहिलोपटक यति ठूलो सहभागिता देखिएको हो।
हाम्रो संस्कृति, हाम्रो गौरव, हाम्रो पहिचान भन्ने नाराका साथ तमुधिं यूकेले नेपाली दूतावास लन्डनको सहकार्यमा मेला आयोजना गरेको थियो। मेलामा बेलायतस्थित विभिन्न दुई दर्जन बढी नेपाली संघसंस्था र समुदायका तर्फबाट आफ्ना संस्कृति, कला, परम्परा झल्काउने आकर्षक सांस्कृतिक झाँकी तथा नृत्यहरू प्रस्तुत गरिएको थियो।
मेलास्थलमा राखिएका नेपाली खाना, पोशाक, गरगहनासहित विभिन्न व्यापार र च्यारिटीका तीन दर्जन बढी स्टलमा पनि दर्शक रमाएका थिए। नेपाली राष्ट्रिय तथा जातीय एवम् सांस्कृतिक पोशाकमा सजिएर आएका हजारौं नेपाली एकठाउँमा भेला भएको दृश्य साँच्चीकै सुन्दर देखिन्थ्योे। मेलाका सहभागी नौमति बाजामा नाच्दै, जातीय तथा सांस्कृतिक पहिरनमा सजिएर मौलिक बाजा बजाउँदै नाचगानमा रमाइरहेको देख्दा बेलायतमै नेपाल महशुस गर्न सकिन्थ्यो।