प्रधानमन्त्रीलाई रास्वपा सांसदको प्रश्न : भ्रष्टाचारमा आफ्नो र अरुको भनेर हेर्ने हो भने सुशासन कहिले आउँछ ?
काठमाडौं : मंगलबार प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सँग प्रश्नोत्तर कार्यक्रम थियो। उक्त प्रश्नोतर कार्यक्रममा रास्वपाका सांसद अशिम साहले चार वटा गम्भीर विषय उठाएका छन्। तर उनको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले गम्भीर लिएको बताएपनि जवाफ भने सतहीमा दिएका छन्।
- १ .यो सदनमा केही समय अगाडि भुटानी शरणार्थी प्रकरणमा यो त ट्रेलर मात्र हो पूरै फिल्म गज्जव आउँछ भन्नु भयो तर जे आयो सारै झुर आयो टालटुले र सजिलै बझ्न सकिने खालको आयो। नक्कली भुटानी शरणार्थीको फाइल खोलेर नेपाली काँग्रेसलाई साइजमा राख्नु भो, ललिता निवासमार्फत समाजवादीलाई साइजमा राख्नु भो, गौर हत्याकाण्डमार्फत जसपालाई, अनि अब गिरीबन्धुमार्फत नेकपा एमालेलाई साइजमा राख्न ट्राइ गर्दै हुनुहुन्छ, आफ्नो कुर्सी बलियो बनाउन यो राजनीतिक दाउपेच नगरेर कामले जनताको मन जितेर आफ्नो प्रधानमन्त्रीत्वको आयु लामो बनाउन सकिँदैन थियो होला ?
- २. भारतीय नेतृत्वले अन्तरिक्षयानलाई चन्द्रमामा कसरी सफल अवतरण गराउने भनेर सोचिरहँदा हाम्रो नेतृत्व आफ्ना यस म्यानलाई बचाउने र मुद्दा कमजोर बनाएर सफल अवतरण गराउने भन्ने सोचमा तल्लिन हुनु अत्यन्तै दुखद छ। यताको अनुसन्धान अधिकारीलाई उता, उताको कर्मचारीलाई यता अवतरण गराउनै व्यस्त हाम्रो नेतृत्वबाट सुशासनको आशा कहिले गर्नु होला ?
- ३. छिमेकीले चन्द्रमामा यान पठाउदा मेरो देशले खाडीमा जवान पठाउन बाध्य छ। देशभित्रका विश्वविद्यालयहरु रित्तिँदै छन्। व्यवसायीहरु निरास छन्। खेलाडीहरु पलायन हुँदैछन्। युवा पुस्तामा देश छाड्न लहर नै चलेको छ।
- ४. प्रधानमन्त्रीज्यू चन्द्रयान अहिले माग्दिन तर यसम्यान जोगाउन लाग्दिन भन्ने हजुरको प्रतिबद्धताको कार्यान्वयन कहिले हुन्छ ? भ्रष्टाचारमा पनि आफ्नो र अरुको भनेर हेर्ने हो भने हामीले खोजेको सुशासन कहिले आउँछ यो देशमा ?
जवाफमा प्रचण्डले सरकारले एकपछि अर्को राम्रो काम गर्दै आइरहेको दाबी गरे। ‘मेरै नेतृत्वमा सरकार गठन भएदेखि आजका दिनसम्म मैले सामाजिक न्यायको प्रत्याभूति सुशासनको सुनिश्चितता र सार्वजनिक सेवा प्रवाहमा सुधारलाइ मुख्य प्राथमिकतामा राख्दै आएको छु। प्रश्नमा भनिएजस्तो सरकारका यी कामहरु कुर्सी टिकाउनका लागि होइनन् बरु देश र जनतामा राजनीतिक प्रणालीप्रति नै वितृष्णा छाएको¸केही हुन्न सबै उस्तै हुन् भन्ने निराशावादी भाष्य निर्माण गर्न खोजिएको परिस्थितिलाई चिर्न सरकारले एकपछि अर्को राम्रो काम गर्दै आइरहेको छ।’उनले भने, ‘भुटानी शरणार्थी प्रकरणलगायत सबै घटनामा राज्यले दबाबरहित तरिकाले निष्पक्ष छानबीन अघि बढाएकै कारण अहिले जनतामा सुशासन सम्भव छ भन्ने आशा पलाएको हो।
प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई राज्यका तीनै तहमा कडाइका साथ कार्यान्वयन गर्दै आएको बताए। उनले भने,‘सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, व्यावसायिक र जवाफदेही बनाउँदै भ्रष्टाचारलाई कडाइका साथ नियन्त्रण गर्न सरकारले विभिन्न नीतिगत, कानूनी तथा संस्थागत सुधारलाई अघि बढाएको छ।’
सबै किसिमका भ्रष्टाचारलाई तथ्य र प्रमाणको आधारमा अनुसन्धान छानबीन गरी दोषीलाई कानूनको दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको उनको भनाई छ। उनले भने,‘भ्रष्टाचारको मामलामा यो आफ्नो यो पराया भनेर सरकारले कसैलाई विभेद गरेको छैन। कानूनी समानताको सिद्धान्तलाई सरकारले पूर्णतः आत्मसात् गरेको छ।’