दोलखामा गाईजात्रा मनाइयो
दोलखा : दोलखाको भिमेश्वर नगरपालिका क्षेत्रमा बिहीबार भव्य रूपमा गाईजात्रा पर्व मनाइएको छ। धार्मिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण दोलखाको भीमेश्वर नगरपालिका चरिकोटमा सांस्कृतिक चाड गाईजात्रा पर्वका अवसरमा बिहानैदेखि परम्परागत झाँकी एवं मौलिक बाजागासहितको यात्रा चलेको थियो।
पुरानो धार्मिक तथा सांस्कृतिक महत्व बोकेको दोलखा बजारबाट लालिगुराँस युवा क्लब तथा स्थानीय नेवार समुदायले निकालेको उक्त जात्रा बिहीबार दिनभर सदरमुकाम चरिकोटमा देखाइएको थियो।
प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने यो परम्परागत सांस्कृतिक पर्वका अवसरमा दोलखा बजार, पुरानो बजार तथा चरिकोट चोकको बजार क्षेत्रमा जात्रा हेर्नेको बिहानैदेखि भीड लागेको थियो।
पछिल्लो समय लालिगुँरास युवा क्लब र चरिकोटको पुरानो बजार, बीच बजार, चरिघ्याङ र भीमेश्वर नगरपालिकाको विभिन्न वडाका युवाहरूको समेत सहभागितामा परम्परागत पर्वहरूमा लाखेनाच, गाईजात्रा, कृष्ण नाच, मारुनी नाचहरू प्रदर्शन हुदै आएको स्थानीयको भनाइ छ।
जनैपूर्णिमाको दिनदेखि सुरु हुने मौलिकता झल्काउने स्थानीय मेला जात्राले सिङ्गो दोलखाको संस्कृतिक झल्काउने गरेको स्थानीय जानकारहरू बताउँछन्। सधैं सुनसान देखिने सदरमुकाम चरिकोट गाईजात्राको दिन भने जिल्लाका कुनकाप्चाबाट जात्रा हेर्न जानेहरूको उपस्थितिले निकै चहलपहल देखिएको थियो।
एक वर्षभित्र दिवंगत भएका आफन्तको संझनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउनेको लाम लागेको हो। गाई वा गाईका रुपमा सिँगारी जात्राका लागि निकालिएकाहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिने परम्परा रहेको छ।