गिद्धलाई बाँच्नै सकस, खोसिँदै बासस्थान र आहारा

१५औं अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस

गिद्धलाई बाँच्नै सकस, खोसिँदै बासस्थान र आहारा
फाइल तस्बिर।

पोखरा : अंग्रेजी महिना सेप्टेम्बरको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ। यस वर्ष भदौ १६ गते शनिबार (२ सेप्टेम्बर २०२३) मा विश्वभर १५औं गिद्ध सचेतना दिवस मनाइँदै छ। गिद्ध सचेतना दिवसमा मानवीय क्रियाकलापका कारण विश्वमै लोपोन्मुख अवस्थामा रहेका गिद्ध संरक्षणको विषयमा केन्द्रित रहेर मनाइने गरिन्छ।

सन् २००९ देखि प्रत्येक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार गिद्ध सचेतना दिवस मनाइन्छ। स्वस्थ आहाराको कमी र बासस्थान विनाशका कारण सिनो खाएर वातावरण सफा गर्ने प्रकृतिको कुचीकार गिद्ध संकटमा पर्दै गएका छन्। सन् ९० को दशकसम्म दक्षिण एसियामा करोडौं र नेपालमा लाखौंको संख्यामा पाइने गिद्ध सन् ९० को मध्यदेखि पशु उपचारमा प्रयोग गरिने डाइक्लोफेनेक औषधिका कारण संकटमा पर्दै गएका हुन्।

चौपायालाई ज्वरो आउँदा, सुन्निएको र दुखेको निको पार्न डाइक्लोफेनेक औषधि प्रयोगमा आउथ्यो। यसरी उपचारमा डाइक्लोफेनेक औषधि प्रयोग भएका जनावरलाई गिद्धले आहाराको रूपमा खाँदा गिद्धको मिर्गाैला नै बिग्रेर ठूलो संख्यामा गिद्ध मरेको वैज्ञानिक अनुसन्धानले पत्ता लगाएको थियो।

यही कारणले भारतमा सन् १९९२ देखि २००७ सम्म डंगर प्रजातिका गिद्ध ९९.९ प्रतिशत र सानो खैरो प्रजातिका गिद्ध ९७ प्रतिशतले घटेको अध्ययनले देखाएको थियो। नेपालमा पनि यसको प्रभाव रहेकै कारण ठूलो संख्यामा घटेको हो। गिद्ध ठूलो संख्यामा मर्नुको कारण डाइक्लोफेनेक औषधि हो भन्ने वैज्ञानिकले पत्ता लगाएपछि सन् २००६ मा दक्षिण एसियाका देश नेपाल, भारत, पाकिस्तान सरकारले पशु उपचारमा प्रयोग हुने डाइक्लोफेनेक औषधि प्रतिबन्ध लगाएको थियो। यसको विकल्पमा गिद्धलाई असर नगर्ने औषधि मेलोक्सिक्यामको सन् २००५ मा आविष्कार गरेर पशु उपचारमा प्रयोग हुन थालेको छ।

विषाक्त आहाराको कारण प्रकृतिका कुचीकार गिद्ध दक्षिण एसियाका देशमा ठूलो संख्यामा घटेपछि संरक्षणको काम सुरु भयो। नेपालमा गिद्ध संरक्षणका लागि सरकारले २०६३ सालमा डाइक्लोफेनेक औषधिमा प्रतिबन्ध लगायो। गिद्धलाई विषाक्तमुक्त आहाराको व्यवस्था गर्न २०६३ मा नवलपरासी जिल्लाको कावासोतीको पिठौलीमा विश्वमै पहिलो समुदायद्वारा सञ्चालित नमुना जटायु रेस्टुरेन्ट स्थापना भएर सञ्चालनमा छ। गिद्ध संरक्षणका लागि यो अभियान रूपन्देहीको गैंडहवा ताल, दाङको लालमटिया, बिजौरी, कैलालीको खुटिया, कास्कीको घाचोक, सुनसरीको रामधुनीमा पनि जटायु रेस्टुरेन्ट विस्तार भयो। यस्ता रेस्टुरेन्ट परिसरमा गौ संरक्षण केन्द्र स्थापना गरेर वृद्ध गाई, गोरु राख्ने र बाँचिन्जेल गाई, गोरुलाई दाना, पानी, घाँस पराल दिएर स्याहारसुसार गर्ने र प्राकृतिक रूपमा मरेपछि गिद्धलाई आहाराको रूपमा खुवाउन थालिएको हो। 

यसरी वृद्ध गाईगोरुको सेवा पनि हुने र मृत्युपछि गिद्धलाई शुद्ध आहारा पनि उपलब्ध गराउने उद्देश्यले सुरु भएको जटायु रेस्टुरेन्ट उदाहरणीय बनेको छ। यसरी उदाहरणीय काम भइरहँदा गिद्ध संरक्षणमा मानवीय व्यवहार थप चुनौती बनेका छन्। मान्छेले कुकुरलगायत जनावरलाई विष खुवाएर मार्ने र जथाभावी फाल्ने, बिजुलीको नाङ्गा तारका कारण करेन्ट लागेर ठूलो संख्यामा गिद्ध मर्ने अवस्था आउनुलगायतका कारण संरक्षणमा चुनौती बनेर आएका छन्।

गिद्धको महत्त्व

खोला, ताल, चौर यत्रतत्र मरेका जनावरको सिनो खाएर केही घण्टामा हाडफोर मात्र बाँकी राखेर वातावरणलाई स्वच्छ राख्न गिद्धले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। यसरी सिनो खाएर वातावारण सफा गर्ने भएकोले नै मानिसमा रेबिज, प्लेग, हैजा, आउँ, झाडापखाला र पशुचौपायाहरूमा एन्थेक्स, ब्रुसेलोसिस र क्षयरोगजस्ता रोगहरूको संक्रमण हुनबाट गिद्धले जोगाउँदै आएको छ।

सिनो खाएर वातावरण सफा, स्वच्छ राखी गिद्धले मानिस र अरु पशुपन्छीलाई संक्रामक रोग फैलनबाट जोगाउन महत्त्वपूर्ण भूमिका गिद्धले खेल्दै आएको छ। वातावरण सफा गरेर घातक रोगहरूबाट मानिस र अन्य जनावरलाई बचाउने गुनकारी पन्छी यतिबेला मानिसका व्यवहारका कारण संकटमा पर्दै गएका छन्।

गिद्धलाई बाँच्नै सकस : आहारामा विष

पछिल्लो समयमा कुकुरलगायत विभिन्न जनावरलाई विष खुवाएर मारेर जथाभावी फाल्ने प्रवृत्ति बढेको छ। गिद्ध संरक्षणमा यो प्रवृत्ति अर्को चुनौती बनेको छ। यस्ता विषाक्त सिनो खाँदा ठूलो संख्यामा गिद्ध मर्ने गरेका छन्। २०७८ वैशाख महिनाको पहिलो हप्ता विष खुवाएर मारिएका कुकुरको सिनो खाँदा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका—४ जितपुरमा ६९ भन्दा बढी गिद्धको मृत्यु भएको थियो। गिद्ध समूहमा बसेर सिनो खान्छन् यसैले एउटै गल्तीले ठूलो संख्यामा गिद्धको मृत्यु हुन्छ। मानिसले गर्ने यस्ता असावधानी र हेलचेक्र्याइँ गुणकारी पन्छी संरक्षणमा चुनौती बनेको छ।

बिजुलीका नांगातार गिद्धलाई धराप

हाइटेन्सन लाइनका नांगातारमा प्रवाह हुने करेन्टका कारण पनि गिद्ध मर्ने गरेका छन्। तनहँुको व्यास नगरपालिका— १० सिसुवा भतेरीमा करेन्ट लागेर ठूलो संख्यामा गिद्ध मर्ने गरेका छन्। मिदिम हाइड्रोपावरको भोर्लेटार–दमौली ३३ केभी प्रसारण लाइनको पोलमा बस्ने क्रममा करेन्ट लागेर गिद्ध मर्ने गरेका छन्। हरेक वर्ष दुई दर्जनभन्दा बढी गिद्धको यस क्षेत्रमा करेन्ट लागेर मर्ने गरेको स्थानीयले बताएका छन्।

यहाँमात्र होइन पोखराका विभिन्न क्षेत्र हुँदै लगिएका हाइटेन्सन लाइनमा ठोक्किँदा, पोलमा बस्दा करेन्ट लागेर विभिन्न प्रजातिका दुलभ गिद्ध मर्ने गरेका छन्। यस्ता लाइनमा बस्दा गिद्धमात्र होइन अन्य प्रजातिका चरा चमेरा, चीललगायत पनि मर्ने गरेका छन्।

खोसियो बासस्थान र चरन क्षेत्र

पोखरा— १४ छिनेडाँडा, मझेरीपाटन क्षेत्र विमानस्थल निर्माण अघिसम्म गिद्धका लागि चरन क्षेत्र थियो। हिउँदमा जाडो छल्न मुस्ताङबाट घोडा, खच्चड झारिन्थ्यो। घोडा, खच्चडमात्र होइन स्थानीयका गाई, गोरु, भैंसीलगायतका चौपायाहरू छिनेडाँडामा अहिले निर्माण सम्पन्न भएर सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभित्र चर्दथे।

चरनकै क्रममा अहिले निर्माण सम्पन्न भएको विमानस्थल क्षेत्रको धावनमार्ग, ट्रमिनल भवन, ट्याक्सी पार्किङलगायतका क्षेत्रमा लामो यात्रा गरेर आएका बूढा घोडा, खच्चड मर्दथे। मरेका ती घोडा, खच्चड गिद्धले खाएर केही घण्टैमा सफाचट पार्थे। घोडा, खच्चडमात्र होइन स्थानीयका गाई, गोरुलगायतका जनावर मरेपछि गिद्धले खान्थे। त्यस क्षेत्रमा हिजोआज गिद्धको चरन क्षेत्र र कावा खाने ठाउँमा जहाजको उडान, अवतरण र पार्किङ हुने गरेसँगै त्यस क्षेत्रबाट गिद्ध विस्थापित भएका छन्।

छिनेडाँडामा विमानस्थल बनेर गिद्धको चरन क्षेत्र खोसिए जस्तै पोखराका सिँचाइ सुविधा भएका कृषि भूमिमा कंक्रिट जंगल बन्दा पनि गिद्धको चरन क्षेत्र खोसिएको छ। सिँचाइ सुविधा भएका उर्वर कृषि भूमि पोखराको फेवातालको पानीले सिञ्चित हुने बिरौंटा फाँट, सेती नदीको पानीले सिञ्चित हुने चाउथे, कुँडहर फाँट, लेखनाथका फाँटहरू, फेवाताल किनारका सेदी फाँटमा अहिले बस्ती बसेका छन्। बिरौटा फाँट, चाउथे, कुँडहरलगायतका फाँटमा एक बाली बर्खे धान लगाइन्थ्यो।

त्यसपछिका महिनामा चौपायाका लागि चरन क्षेत्रका रूपमा प्रयोग हुन्थे। यसरी चरनकै क्रममा मरेका गाई, गोरु, भैंसीलाई गिद्धले आहाराको रूपमा खान्थे र प्रदूषण नियन्त्रणमा योगदान दिन्थे।

सरकारले अर्बाैं खर्च गरेर सिँचाइ सुविधा पुर्‍याएका जमिनलाई कृषि क्षेत्र घोषण गरेर कृषि भूमिकै रूपमा बेलैमा घोषण गर्न नसक्दा पोखराका सिँचाइ सुविधा भएका उर्वर भूमि कंक्रिट जंगलमा परिणत भएका छन् भने गाउँगाउँका बस्ती रित्तिँदै गएका छन्। यसकारण खाद्यान्नमा परनिर्भरता बढ्दै गएको छ भने पर्यावरणीय जोखिम पनि उस्तै रूपमा बढ्दै गएको छ।

पोखरा बजारबाट लखेटिँदै गिद्ध

१० देखि १५ वर्ष अघिसम्म पोखरा बजारका चाउथे, कुँडहर, बिरौटा, छिनेडाँडाका फाँटमा गिद्धका हुल देखिन्थे। सिनो मरेको ठाउँमा त एउटै सिनोमा विभिन्न प्रजातिका दुई सयभन्दा बढी गिद्ध सिनो खाइरहेका देखिन्थे।

१० देखि १५ वर्ष अघिसम्म गिद्धको चरन क्षेत्रको रूपमा रहेका पोखराका बजारका खेत, फाँटहरू कंक्रिट जंगलमा परिणत भएका छन्। गिद्धको बासस्थान (घर) अग्ला सिमलका रुखहरू पनि पोखरा र वरपर विस्तारै मासिँदै गएका छन्। यसरी गिद्धको बासस्थान उजाड हुँदै गएका छन्।

पोखराको वडा नम्बर ८ मा अग्लाअग्ला सिमलका रुख प्रशस्त पाइने भएकोले त्यस क्षेत्रको नाम नै सिमलचौर राखिएको छ। तर यहाँ अहिले सिमलको रुख देख्न पाइँदैन। यहाँ अहिले सिमलका रुखको ठाउँमा अग्ला कंक्रिट जंगल अग्लिएका छन्। पोखराका मुख्य बजारमा मात्र होइन गाउँगाउँमा पनि सिमलका रुख कटान भएका छन्। गिद्धले गुँड बनाउने र बस्ने बासस्थान मासिँदो क्रममा छ। यसरी गिद्धका बासस्थान खोसिएका छन्।

दक्षिण एसियामा पाइने सबै ९ प्रजातिका गिद्ध नेपालमा पाइन्छन्। ती सबै प्रजातिका गिद्ध पोखरामा पनि पाइन्छन्। नेपालमा पुरानो विश्वका हाडफोर, सेतो, डन्डर, लामो ठुँडे, सानो खैरो, हिमाली, खैरो, राज गिद्ध र सुन गिद्ध गरी ९ प्रजातिका गिद्ध पाइन्छन्। पोखराको हावापानी गिद्धका लागि निकै उपयुक्त रहेको मानिन्छ। अन्नपूर्ण हिमालको काखमा रहेको पोखराको हावापानी गिद्धका लागि स्वर्गजस्तै रहेको चरामा विद्यावारिधि गरेका डा. हेमसागर बराल बताउँछन्। नेपालामा पाइने ९ प्रजातिका गिद्धहरूमा डंगर, सानो खैरो, सेतो, हिमाली, हाडफोर र सुन गिद्धले नेपालमै गुँड बनाई बच्चा कोरल्छन्। यिनीहरू कुनैले अग्ला ठूला रुखमा त कुनैले चट्टानी पहाडमा गुँड बनाएर बस्छन्।

गिद्धका लागि स्वर्ग मानिएको पोखरा बजारबाट मानवीय कारणले गिद्ध लखेटिएका छन्। गिद्धको चरन क्षेत्र, आहारा र बासस्थान खोसिएकोले हिजोआज पोखरा बजारमा गिद्ध देखिन मुस्किल बन्दै गएको हो।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.