पेप्सिकोला सवारी दुर्घटना : एक जनाको मृत्यु, ७ घाइते
काठमाडौं : पेप्सिकोलामा बसले गुडिरहेका ३ वटा सवारी साधनलाई ठक्कर दिंदा १ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ७ जना घाइते भएका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार जडिबुटीबाट पेप्सीकोला आउँदै गरेको बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको हो।
उनले भने, 'पेप्सिकोलामा बसले गुडिरहेका ३ वटा सवारी साधनलाई ठक्कर दिंदा १ जनाको मृत्यु भएको छ। दुर्घटनामा ७ जना घाइते भएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ।'
प्रहरीका अनुसार क्षेत्रिय उपत्यका बस व्यवसाय संघको बा ३ ख ४८४८ नम्बरको बसले विपरीत दिशा तर्फबाट आएको बा ६ च ५३४२ नम्बरको बलेरो गाडी एक आपसमा ठोकिँदा बा.प्र.०२-०३७ प ५३११ नम्बरको डिओ स्कुटर र बा.प्र.०२-०४१ प ४८३८ नम्बरको मोटरसाइकलसहित ठोकिई भएको सवारी दुर्घटना भएको हो।
घाइतेलाई उपचारका लागि मिनभवनस्थित सिभिल अस्पताल र मदरल्याण्डलगायतका अस्पतालमा लगिएको जनाइएको छ।
दुर्घटना आज बिहान करिब पौने ८ बजेतिर भएको प्रहरीले जनाएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।