बाटोमै जन्मन्छन् दुर्गममा शिशु
वीरेन्द्रनगर :
- कालीकोटको तिलागुफा–७ माथिबाडाकी २३ वर्षीया जनपुरा शाहीलाई सुत्केरी बेथाले च्याप्यो। स्वास्थ्यचौकी पुग्नै आधा दिन हिँड्नुपर्ने भएपछि उनलाई घरमै सुत्केरी गराउने तयारी भयो। करिब १३ घण्टा बेथाले च्यापेपछि पनि बच्चा जन्मिएन। अनि, मात्रै स्वास्थ्यचौकी लैजाने जोहो गरियो। तर, स्वास्थ्यचौकी पुग्न नपाउँदै बाटोमै उनले छोरा जन्माइन्। संयोगले आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रह्यो। बाटोमै सुत्केरी भएकी बच्चा च्यापेर स्वास्थ्यचौकी पुगिन्। भनिन्, ‘घरमै सुत्केरी भइहालिन्छ सोचे। अफ्ठ्यारो भएर स्वास्थ्यचौकी जाने तयारी भयो। टाढाको बाटो। स्वास्थ्यचौकी नपुग्दै बाटोमै बच्चा जन्मियो। धन्न भगवान्ले मलाई बचाए।’
- मुगुको खत्याड–३ रोलका ५६ वर्षीय दृष्टिविहीन कल्से नेपालीकी ४१ वर्षीया श्रीमती जौकलालाई सुत्केरी बेथा लाग्यो। गमगढीमा बस्दै आएका उनले गर्भवती पत्नीलाई हिँडाएरै जिल्ला अस्पताल पुर्याए। तर, अस्पताल पुग्न नभ्याउँदै जौकलाले अदालत चोकको सडकमै बच्चा जन्माइन्। गमगढीस्थित सार्वजनिक जग्गामा एककोठे टहरो बनाएर बसिरहेका उनी बाटोमा गीत गाएर माग्दै परिवारको गुजारा चलाउँछन्। जौकलाको पहिलो गर्भ तुहिएको थियो भने दोस्रो सन्तानका रूपमा छोरा जन्मिए पनि एक महिना नपुग्दै बान्ता भएर मृत्यु भयो।
- रुकुम पश्चिमको आठबीसकोट–११ चौरकी २२ वर्षीया पार्वती विकलाई सुत्केरी बेथाले च्याप्यो। आफन्त र छिमेकीले हतारहतार नगर अस्पताल आठबीसकोट पुर्याए। त्यहाँ सुत्केरी गराउन नसकेपछि अस्पतालले चौरजहारी अस्पताल लैजान भन्यो। लैजाँदै गर्दा चौरजहारी–३ दमारनजिकैको सडकमा उनी सुत्केरी भइन्। ‘उनको पहिलो गर्भ भएकाले हामी नर्मल डेलिभरी गराउने तयारीमा थियौं,’ आठबीसकोट नगर अस्पतालकी स्वास्थ्यकर्मी चम्पा
- खड्काले भनिन्, ‘बिहान ६ बजे अस्पताल आएकी उनको १० बजेसम्म पाठेघरका चार घर खुलेका थिए, त्यसपछि क्रमशः १० वटै घर त खुले तर बच्चा बाहिर निस्किएन, त्यसपछि चौरजहारी अस्पताल पठाएको त बाटैमा बच्चा जन्मिए छ।’ जाजरकोटको भेरी नगरपालिकास्थित मटेला पुगेपछि पार्वतीलाई गाडीबाट निकाली स्ट्रेचरमा राखेर झोलुंगे पुल तारियो। त्यसपछि अर्को गाडी चढ्नुपर्ने थियो तर, झोलुंगे पुल तर्नेबित्तिकै पार्वती सुत्केरी भइन्।
- हुम्लाको सर्केगाडकी जन्ममाया सुनारलाई सुत्केरी बेथाले च्याप्यो तर स्वास्थ्यचौकी लैजाने जोहो गरिएन्। दुईदिन बेथा लागेपछि मात्रै स्वास्थ्य स्वयंसेविका सरिता शाहीले स्वास्थ्यचौकी लैजान सल्लाह दिइन्। ‘शरीरको पानी खेर गइरहेको थियो,’ उनले भनिन्, ‘बेथा लागेको लामो समयपछि मैले थाहा पाएर चौकी लैजान सल्लाह दिएँ।’ दिनभर हिँडेर पुग्नुपर्ने स्वास्थ्यचौकी लैजान स्ट्रेचर तयार पारियो। स्ट्रेचरमा बोकेर चौकी नपुर्याउँदै सुनारले बाटोमै छोरी जन्माइन्। ‘म पनि उहाँहरू सँगै गएकी थिएँ,’ उनले भनिन्, ‘सबै मिलेर बाटोमै सुत्केरी गरायौं, आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य नै थियो तर स्वास्थ्यचौकी पुगिसकेपछि बच्चाको मृत्यु भयो।’ जोखिम मोलेर घरमै सुत्केरी गराउन खोज्दा बच्चा गुमाउनु परेको जन्ममाया बताउँछिन्। उनले भनिन्, ‘ढिला स्वास्थ्यचौकी जाँदा आफ्नो स्वास्थ्य पनि जोखिममा पर्यो, बच्चा पनि गुम्यो।’
- बाजुराको खप्तड छेडेदह गाउँपालिका–१ जारिमतोलाकी ३२ वर्षीया उज्जली सुनारलाई सुत्केरी ब्यथा लागेर त्यहाँबाट नजिकै पर्ने अछामको बयालपाटा अस्पताल गइन्। अस्पतालमा चिकित्सकले उनको स्वास्थ्य जाँच गर्ने क्रममा बच्चा पाउने अवधि दुई साता नाघिसकेको भन्दै तत्काल शल्यक्रिया गरेर बच्चा जन्माउनुपर्ने सुझाव दिएका थिए। डाक्टरको सल्लाहपछि अप्रेसनको डरले उनी घर फर्किने क्रममा बुढीगंगा नगरपालिका वडानम्बर १ स्थित पानीभुवाको सडकमा व्यथा लागेर ढलेकी थिइन्। उनलाई सडकमा ढलेको अवस्थामा सोही वडाकी अनमी सिर्जना सार्कीले सघाएर बाटोमै बच्चा जन्माइन्।
- दैलेखको आठबीस नगरपालिकास्थित राकम कर्णाली आधारभूत अस्पतालमा सुत्केरी हुन आएकी सुर्जा विक अस्पताल पुग्न नपाउँदै बाटोमै सुत्केरी भइन्। गाउँबाट अस्पताल आउने यातायात सुविधा नभएको र स्टेचरसमेत नभएकाले उनलाई गत असार २७ गते राति २ बजे हिँडाएर अस्पताल ल्याउँदै गर्दा बाटोमै सुत्केरी ब्यथाले च्याप्यो। बाटोमै ढलेकी सुर्जालाई सुत्केरी गराउन आफन्तहरूले राति नै अस्पतालबाट अनमी रानीदेवी बोहरालाई बोलाइयो। तर, बच्चा पेटमै मरिसकेको रहेछ। अनमी बोहराले भनिन्, ‘समय ढिलो भएकाले बच्चा मरिसकेको रहेछ।’ आमाको स्वास्थ्य भने सामान्य बनाइयो। राति ४ बजे मलाई बोलाउन आए। म हतारहतार गरेर गए तर बच्चालाई बचाउन सकिएन।
दुर्गममा स्वास्थ्य सेवा सहज नहुँदा बाटोमा नै सुत्केरी हुनुपर्ने बाध्यताको माथि उल्लेख गरिएका प्रतिनिधिमूलक घटना मात्र हुन्। कर्णालीसहितका दुर्गममा धेरै गर्भवती महिलाहरूले अस्पताल नपुग्दै बाटोमै सुत्केरी हुनुपर्ने बाध्यता छ। भौगोलिक विकटता, छरिएका बस्ती, घरमै सुत्केरी हुने सामाजिक सोचजस्ता कारण गर्भवती ब्यथा लाग्नेबित्तिकै स्वास्थ्यचौकी कमैले सम्झिन्छन्। जब ब्यथाले च्याप्छ। जटिल अवस्था आउँछ। अनि मात्र स्वास्थ्यचौकी र अस्पताल जाने तयारी हुन्छ। कतिपय ठाउँमा ब्यथा लाग्नेबित्तिकै स्वास्थ्यचौकी वा अस्पताल लिन लामो समय पैदल यात्रा गर्नुपर्दा पनि बाटोमै सुत्केरी हुनुपर्ने बाध्यता आउँछ। कर्णाली प्रदेशमा त हरेक महिना जसो यस्ता घटना बाहिर आउँछन्। जसले समग्र प्रदेशको स्वास्थ्य अवस्थाको कमजोर चित्र उजागर गरेको छ।
महिला अधिकारकर्मी पद्मा खड्काले भनिन्, ‘कर्णालीका महिलाहरूले प्रसूति सेवा लिन पनि समस्या छ। मेलापात गएको बेला व्यथा लागे कत्तिले मेलामै बच्चा जन्माउनुपर्ने समस्या छ। कत्ति गर्भवतीले त बाटामै बच्चा जन्माउँछन्। भौगोलिक विकटता रहेको कर्णालीमा एक वडा एक प्रसूतिगृह आवश्यक छ। तर, सरकारले त्यसरी स्वास्थ्य सेवालाई गाउँगाउँमा पुर्याउन अझै सकिरहेको अवस्था छैन। कत्ति महिलाहरूले त बच्चा जन्माउन नसकेरै प्रणा त्याग गर्नुपर्ने अवस्था छ। बर्सनि कत्ति महिलाहरूले बच्चा जन्माउन नसकेरै ज्यान गुमाइरहेका छन्।’
भौगोलिक विकटता, प्रसूतिगृह टाढा हुनु, परिवारको लापरबाही, परिवारको आर्थिक अवस्थालगायत कारण कर्णालीका महिला बाटोमै सुत्केरी हुन बाध्यता छ। स्वास्थ्य सेवा कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत कटकबहादुर महतले यातायात खर्च दिँदै स्वास्थ्य संस्थामा सुत्केरी हुन आउनेहरूमा वृद्धि भएको बताए। उनले भने, ‘प्रायः महिलाहरू घरमै बच्चा जन्माउन चाहन्थ्ये। तर, स्वास्थ्य संस्थामा प्रसूति हुन गए पैसा पाउने भन्दै पछिल्लो समय स्वास्थ्य संस्था जाने महिलाहरूको संख्यामा वृद्धि भएको हो। तर, पनि भौगोलिक विकटता र यातायात असुविधाका कारण गर्भवतीले बाटोमै पनि सुत्केरी हुनुपर्ने बाध्यता टरेको छैन। यसको अभिलेख भने छैन।’ ग्रामीण क्षेत्रका महिलालाई अन्तिम अवस्थामा स्वास्थ्य संस्थामा लैजाँदा पनि आमा र बच्चा दुवैको ज्यान जोखिममा पर्ने गरेको छ। कत्ति बाटोमै जन्मिन्छन्, कतिको मृत्यु नै हुन्छ।
कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कर्णालीमा २३ दशमलव ६ प्रतिशत परिवार मात्रै आधा घण्टाभित्र स्वास्थ्य संस्था पुग्न सक्ने अवस्था छ। बाँकी जनसंख्या घण्टौं लगाएर स्वास्थ्य संस्था पुग्नुपर्ने बाध्यता छ। कर्णालीका १० जिल्लामध्ये हुम्ला अझै पनि राष्ट्रिय सडक सञ्जालसँग जोडिन सकेको छैन। कर्णाली प्रदेशभरि ३ सय ५९ वटा बर्थिङ सेन्टरहरू छन्। यहाँको भौगोलिक विकटता हेर्ने हो भने यो प्रयाप्त होइन्। सबैभन्दा बढी बर्थिङ सेन्टर दैलेखमा ७२ वटा छन्। सबैभन्दा कम बर्थिङ सेन्टर गृह डोल्पामा १४ वटा छन्।
निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले पछिल्लो समय दुर्गम भेगमा बर्थिङ सेन्टरहरू थपिँदै गएकाले महिलाहरूलाई प्रसूति हुन सहज भएको बताए। उनले भने, पर्याप्त छैनन्। तर, विगतको तुलनामा अहिले स्थानीय सरकारले वडातहबाटै आधारभूत स्वास्थ्य सेवा दिन थालेपछि केही सहज भने पक्कै भएको छ।
निर्देशनालयका अनुसार पछिल्लो समय कर्णालीमा कुल गर्भवती हुने महिलाको ८७ दशमलव १ प्रतिशत महिला स्वास्थ्य संस्थामै प्रसूति हुने गरेका छन्। कर्णाली प्रदेशका १० वटै जिल्लामा आर्थिक वर्ष २०७७/०७८ मा ३३ हजार १ सय ६०, आव २०७८/०७९ मा ३० हजार ७ र आव २०७९/०८० मा २९ हजार ५ सय ८७ जना गर्भवती महिलाले स्वास्थ्य संस्थामा आएर प्रसूति सेवा लिएका छन्। यस्तै कर्णालीमा आर्थिक वर्ष २०७७/०७८ मा २० जना, आव २०७८/०७९ मा १७ जना र आव २०७९/०८० मा १६ जना गर्भवती महिलाले सुत्केरी हुन नसकेर र सुत्केरी भएपछि अत्याधिक रक्तश्राव भएर ज्यान गुमाएका छन्।
कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री
खड्गबहादुर पोख्रेलले कर्णालीमा बाटोमै सुत्केरी हुने समस्या मुक्त गर्ने गरी प्रदेश सरकार लागिरहेको बताए। उनले भने, ‘कर्णालीको भौगोलिक विकटता र स्वास्थ्य सेवामा नागरिकको पहुँच नभएकै कारण हामीले प्रदेशबाट अहेव, अनमीदेखि डाक्टरसम्म करारमा समेत नियुक्ति गरी खटाएका छौं। प्रदेशभित्रका सबै अस्पतालहरूमा न्यूनतम जनशक्ति व्यवस्थापन गरिएको छ। स्थानीय सरकारहरूले वडा वडामा स्वास्थ्य संस्था स्थापना गरी संचालन पनि गरिरहेका छन्। यसलाई थप प्रभावकारी बनाउँदै हरेक वडामा तालिम प्राप्त स्वास्थ्यकर्मीहरू खटाएर आधारभूत स्वास्थ्य सेवामा सहजता ल्याउने प्रयास गरिएको छ।’
मन्त्री पोख्रेलले भने, ‘संघीयतापछि कर्णालीको स्वास्थ्य सेवामा निकै फट्को मारेको छ। विगतमा साविकका गाविसमा एउटा स्वास्थ्य संस्था रहेको र त्यसको पहुँच सबै बस्तीमा थिएन्। तर, अहिले वडा तहबाटै आधारभूत स्वास्थ्य सेवा दिन थालिएकाले जनताको घरनजिक सुविधा गएको छ। तर, कतिपय अवस्थामा मानिसहरूको चेतना स्तरको कमीका कारण व्यथा लाग्नेबित्तिकै स्वास्थ्य संस्था नलिनाले समस्या आउने गरेको छ। अब सचेतनाका कार्यक्रमहरू पनि सञ्चालन गर्छौँ। प्रदेशभरि घरमा सुत्केरी मुक्त वडा, पालिका, जिल्ला हुँदै प्रदेशलाई नै घोषणा गर्ने तयारी छ।’
कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीमा स्वास्थ्य सेवाका पर्याप्त संरचनाहरू भए पनि जनशक्ति व्यवस्थापन नभएकाले सेवा प्रवाहमा समस्या भइरहेको बताए। उनले भने, कर्णालीमा हरेक वडामा स्वास्थ्य संस्था छन्। हरेक जिल्लामा २ वटा अनिवार्य र कतिपय पालिका स्तरमै अस्पतालहरू पनि सञ्चालन भइसकेका छन्। तर, भएका ती अस्पतालहरूमा विशेषज्ञ जनशक्तिको अभाव छ। सबै पालिकामा अस्पताल सञ्चालनमा ल्याउन सकिएको छैन। यसले कर्णालीको स्वाथ्य सेवामा ठूलो प्रभाव पारेको छ।
उनले भने, ‘प्रदेशका मन्त्रालयहरूले त समयमै सचिव पाउँदैनन्। गाउँका अस्पतालहरूले कसरी डाक्टर पाउन। मुलुकमा संघीयता आए पनि प्रशासनिक संघियताको प्रभावकारी कार्यान्वयन नभएका कारण यो समस्या भोगिरहेका छौं। यसप्रति संघीय सरकार नै गम्भीर भएको छैन। हामीले पटक–पटक यस्ता सवालहरू उठाए पनि समस्याको समाधान भएको छैन। यो समस्या संघीय सरकारले चाहेमा समाधान गर्न सक्थ्यो। संघीय सरकार नै अधिकार तल्लो तहमा दिन तयार छैन। जसले नागरिकहरूले संघीयताको आभास गर्न नसकिरहेको अवस्था छ।’
कर्णालीमा हरेक वडामा स्वास्थ्य संस्था छन्। हरेक जिल्लामा २ वटा अनिवार्य र कतिपय पालिका स्तरमै अस्पतालहरू पनि सञ्चालन भइसकेका छन्। तर, भएका ती अस्पतालहरूमा विशेषज्ञ जनशक्तिको अभाव छ। मुख्य समस्या नै यो हो।
जीवनबहादुर शाही, पूर्वमुख्यमन्त्री, कर्णाली
कर्णालीको भौगोलिक विकटता र स्वास्थ्य सेवामा नागरिकको पहुँच नभएकै कारण हामीले प्रदेशबाट अहेव, अनमीदेखि डाक्टरसम्म करारमा समेत नियुक्ति गरी खटाएका छौं। स्वास्थ्य सेवामा सहज बनाउने प्रयास गरिएको छ।
खड्गबहादुर पोख्रेल, सामाजिक विकासमन्त्री, कर्णाली
भौगोलिक विकटता र यातायात असुविधाका कारण गर्भवतीले बाटोमै पनि सुत्केरी हुनुपर्ने बाध्यता टरेको छैन। यसको समाधानको उपाय खोजिरहेका छौं।
कटकबहादुर महत, जनस्वास्थ्य अधिकृत, स्वास्थ्य सेवा कार्यालय कालीकोट
बाटोमै जान्छ सुत्केरीको ज्यान
२०७७ साल भदौ ११ गते घरमै सुत्केरी भएकी कालीकोटको रास्कोट नगरपालिका–२ सिप्खानाकी २८ वर्षीया सीता सार्की र उनका नाबालक छोराको मृत्यु भयो। २०७८ साल असार ३० गते जिल्लाको तिलागुफा नगरपालिका–११ की हरिशोभा विकलाई सुत्केरी व्यथाले च्याप्यो। उनलाई सुत्केरी ब्यथाले च्यापेपछि अस्पतालमा लिँदालिँदै मृत्यु भयो। त्यसअघि पनि रास्कोट नगरपालिका–७ की २० वर्षीया बिन्दा लुवार घरमा नै सुत्केरी भइन्। अत्याधिक रक्तश्राव भयो उनलार्ई अस्पतालमा पुर्याउँदा–पुर्याउँदै मृत्यु भयो।
कर्णालीका हुम्ला, जुम्ला, कालीकोट, डोल्पालगायतका हिमाली जिल्लाहरूमा भौगोलिक बिकटता र ग्रामीण स्तरसम्म स्वास्थ्य सेवाको पहुँच नहुँदा महिलाहरूले बाटोमै ज्यान फाल्छन्। स्वास्थ्य सेवा कार्यालय कालीकोटका जनस्वास्थ्य अधिकृत एवं सूचना अधिकारी कटकबहादुर महतले भने, कालीकोटका विकट बस्तीहरूबाट अस्पताल बिरामीलाई पुगाउन घण्टौं समय लाग्छ। प्रायः मानिसहरू ब्यथा लाग्नेबित्तिकै अस्पताल नलाने समस्याले पनि कतिपय महिलाहरूले बाटोमै ज्यान गुमाउनुपर्ने समस्या छ।
कर्णालीका ग्रामीण क्षेत्रमा स्वास्थ्यचौकी भए पनि दक्ष चिकित्सक र कठिन भूगोलमा कारणले बर्सेनि समयमै उपचार नपाएर कैयौंको मृत्यु हुने गरेको छ। सडक सञ्जालले नछोएको स्वास्थ्य संस्थाहरूको पहुँच, दक्ष स्वास्थ्यकर्मीको अभाव, कठिन भूगोल समयमै उपचार नपाउनु रुढीग्रस्त समाजका कारणले यहाँका बासिन्दाले निकै सास्ती भोग्दै आएको महिला अधिकारकर्मी दीपा बोहराले बताइन्। उनले भनिन्, ‘म पनि स्वास्थ्यकर्मी हो। अहिले सामाजिक सेवामा छ। पहिले बिभिन्न प्रोजेक्टमा काम गर्दा सुत्केरी ब्यथा लागेपछि अस्पताल जानुपर्छ भन्ने धारण गाउँमा कमै पाइथ्यो। अहिले पनि त्यस्तै छ। मुलुकमा संघीयता आए पनि गाउँमा न सुविधा छ न चेतना नै। यसले कर्णालीमा धेरै दुर्घटनाहरू निम्त्याएको छ।’
कर्णालीका प्रायः ग्रामीण भेकहरूबाट जिल्ला अस्पताल पुग्न २ दिनदेखि ४ दिनसम्म लाग्छ। गाउँका स्वास्थ्य संस्थामा सुविधा छैन। कालीकोटको पलाँता गाउँपालिकास्थित स्वास्थ्य चौकी धौलागोहमा कार्यरत सिअहेव जन्मऋषि न्यौपानेले भने, गाउँबाट रिफर गरेका बिरामीहरूलाई तत्काल सुविधासम्पन्न ठाँउमा पठाउन यातायात सुविधा छैन। हवाई सेवा पनि समय हेर्नुपर्छ। जसका कारण गर्भवती तथा सुत्केरीले बाटोमै ज्यान गुमाउनुपर्ने अवस्था छ। गाउँका मानिसहरू घरमै सुत्केरी गराउने धारणाका कारण पनि यस्तो जोखिमहरू हुने गरेको छ।
सरकारले हरेक पालिकामा १५ शय्या अस्पताल बनाउने घोषणा गरेर घोषणामै सीमित छ। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार कर्णालीका ७९ पालिकामध्ये ५५ पालिकामा अस्पताल सञ्चालनमा आएका छैनन्। यसले पनि ग्रामीण स्तरसम्म स्वास्थ्य सेवाको पहुँच नपुगेको हो। अस्पताल सञ्चालन गरेका पालिकामा पनि विशेषज्ञ चिकित्सक नहुनु, करार र कार्यालय सहयोगीका भरमा स्वास्थ्य संस्थाहरू सञ्चालन हुने जस्ता कारणले पनि मातृ मृत्युदर घटनाउन चुनौती छ।
सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख वृषबहादुर शाहीले भने, कर्णालीका हरेक बस्तीमा स्वास्थ्य सेवाको पहुँच पगाउनै मुस्किल छ। छरिएको बस्ती र भौगोलिक विकटताका कारण कतिपय अवस्थामा वडामा भएको स्वास्थ्य संस्थामै जान घण्टौं लाग्ने दूरी छ। यसले गम्भीर प्रकृतिका बिरामीहरूको छिटोछरितो उपचार गर्न समस्या भोग्नु परेको छ। उनले भने, ‘त्यसको निराकरणका लागि हवाई एम्बुलेन्स कर्णालीमा नै राख्न सरकारले व्यवस्था गर्नुपर्ने, गाउँमा रहेका स्वास्थ्य चौकीहरूमा दरबन्दी अनुसारको स्वास्थ्यकर्मी पठाउनुपर्ने र आवश्यक औषधिको अभाव हुन नदिने जस्ता कामहरू गर्नुपर्छ।’