प्रधानमन्त्री र राष्ट्रपतिबीच भेट, अमेरिका र चीन भ्रमणको जानकारी
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता भएको हो।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार भेटमा प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिकाको न्यूर्योकमा जाने र चीन भ्रमणबारेमा जानकारी गराएका छन्।
उनीहरुबीच समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको जनाइएको छ । प्रधानमन्त्री सेप्टेम्बर १६ (भदौ ३०) मा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क जाने भएका हन्। सेप्टेम्बर २१ मा सम्बोधन गरेपछि प्रधानमन्त्री दाहाल असोज ४ गते बेइजिङ प्रस्थान गर्नेछन्। चीन भ्रमणमा रहँदा प्रधानमन्त्री दाहालले राष्ट्रपति, प्रधानमन्त्री र त्यहाँका कम्युनिस्ट पार्टीका नेताहरूसँग द्विपक्षीय वार्ता र केही सम्झौतामा हस्ताक्षर हुने बताइएको छ।