आठ दिनदेखि सम्पर्कबिहीन ७० वर्षीया वृद्वा जंगलमा मृत फेला
गुल्मी : गुल्मीमा आठदिन देखि हराएकी ७० वर्षीया वृद्वा जङ्गलमा मृत भेटिएकी छन् । इस्मा गाउँपालिका-५ इस्मारजस्थलकी ७० वर्षीया ज्ञानुमाया बस्नेत सोमबार बिहान जंगलमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
गत सोमबारदेखि हराएकी वृद्वा बस्नेत इस्मा गाउँपालिका -४ कुबिन्ने जंगलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले जानकारी दिए । जङ्गलमा बस्नेत मृत अवस्थामामा देखेर खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको गुल्मीका प्रमुख प्रहरी उपरीक्षक प्रधानले बताए ।
वृद्वा बस्नेत सम्पर्कबिहीन भएपछि परिवार र आफन्तले खोजतलासी गर्न इस्मा प्रहरीमा उजुरी दिएका थिए। मृतक बस्नेतको जिल्ला सदरमुकाम तम्घासस्थित गुल्मी अस्पतालमा पोष्टमार्टम हुनेछ । मृतक ज्ञानु मायाका श्रीमान विगत १७ वर्षदेखि बेपत्ता छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले प्रहरीले जनाएको छ ।