सुकुम्बासी बस्ती नै शक्तिशालीको कब्जामा

सुकुम्बासी बस्ती नै शक्तिशालीको कब्जामा

काठमाडौं : राजधानीको पशुपति तिलगंगानजिकै बागमती पुलमा भेटिएका जितुवा मुसहर आर्यघाटमा चिता दनदन्ती बलिरहेको हेर्दै खुईअ गरिरहेका भेटिए। उनको पीडा आफन्तको वियोगमा शोकाकुल परिवारको भन्दा कम थिएन। ६८ वर्षीय जितुवा मसुहर महोत्तरीको भंगहा–४, थारुटोल बनराका स्थानीयवासी हुन्।

तर, उनले टेक्ने धर्तीसमेत भूमाफियाले खोसेका छन्। भूमि गुमाउनुको पीडा आफन्त गुमाउनुभन्दा कम नहुँदोरहेछ। त्यसमाथि उनकोे फुसको छानोमाथि पनि डोजर चलाउने धम्की निरन्तर आइरहेको छ। यही पीडाबाट मुक्ति खोज्न जितुवा सरकारको साथ खोजिरहेका छन्। गाउँबाट ऋण काढेर गाडीको भाडा जुटाउँदै मधेसको देहातबाट सरकार गुहार्न काठमाडौं आएका रहेछन् उनी।

सम्पत्तिको नाममा जितुवा मुसहरको फुसको छानोवाला घर हो। ६ कठ्ठा जग्गा छ। चार कोठाको फुसको घर छ। ८ वटा आँपको गाछी छ, १२ वटा भिसको। जग्गा दलालहरूले घर उठाएर अन्तै भाग्न धम्की दिन्छन्। तर, पाँच पुस्तादेखि त्यहीँ बसोबास गर्दै आएका जितुवा प्रश्न गर्छन्, ‘भागेर जाउँ त कुन ठाउँ जाउँ ?’

null समस्या भोक र रोगले पिल्सिएको जितुवासमेत ११ जना त्यही झुपडीमा रात काट्छन्। तर, दैव लाग्यो। त्यही टहरोमा पनि भूमाफियाको गिद्धे नजर पर्‍यो। अहिले त जितुवा बसेको जग्गाको लालपुर्जा अर्कैले बनाइसकेको छ। बस्ती पसेका जग्गा दलालहरूले सोही लालपुर्जा देखाएर धम्की दिन्छन्। बस्ती नै उठाइदिने धम्की बारम्बार दिन्छन्। र, न्याय माग्न, सरकारसँग अर्जी लगाउन जितुवा मुसहर काठमाडौं आए। माइतीघर मण्डलाबाट धर्ना लिएर सरकार गुहारिरहेका छन्।

बनराका १ सय ८७ सुकुम्बासी परिवार बस्छन्। जितुवा ती परिवारको प्रतिनिधि पात्र हुन्। ती परिवारमा १२ सय जनसंख्या छ। खोसिएको थातथलो फर्कादिने बिन्ती बिसाउन जितुवा मुसहरसँगै बस्तीका दुई दर्जन पीडित काठमाडौं आएका हुन्। उनीहरूले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई समस्या सुनाइसकेका छन्।

४५ बिघासहित बस्ती नै भूमाफियाको कब्जामा

थारुटोल बनरामा २०१० सालदेखि बसोबास सुरु भयो। निर्धन मुसहर, चमार, राउत, तत्मा, थारुलगायतको यहाँ बसोबास छ। ज्यालामजदुरी गरेर जीवन चलाइरहेका छन्। भित्रभित्रै ४५ बिघामा फैलिएको बस्ती र खेतबारी भूमाफियाहरूले आफ्नो नाम गराइसकेको स्थानीयको भनाइ छ। उनीहरू लालपुर्जा देखाउँदै दिनहुँ उठिबास लगाइदिने धम्की दिँदै तर्साइरहेका छन्। कित्ताहरू बैंकमा जग्गा धितो राखेर ऋण लिइएको छ। सुकुम्बासी बसेका जग्गा किनबेच भइरहेका छन्। उठिबास लगाए कहाँ जाने ? भन्ने चिन्ताले जितुवा मुसहरजस्ता बस्तीका १२ सय मानिसको छ।

null फर्काउन पीडितहरू अढाई दशकदेखि आन्दोलित छन्। यो अवधिमा धेरै सरकार बने। उनीहरूको माग सुने, पूरा गर्न कोही तयार भएनन्। राज्य मौन छ। बस्तीमा भूमाफियाहरूको चहलपहल बढिरहेछ। स्थानीय जनप्रतिनिधि तैं चुप मै चुप गरिरहेका छन्। दुःखको पोको फुकाउँदै जितुवा भन्छन्, ‘थारुटोल बासीको निद्रा हराएको छ। हाम्रो बाँच्ने सबै आधार खोसियो।’ जितुवाको निन्द्रा मध्यरातमै खुल्छ, डोजरले घर भत्काउन कोही आउला कि भनेर। यो क्रम दुई दशकदेखि चलिरहेको छ।

जग्गाको खरिद बिक्रीले आतंक मच्यो

‘हामी सुरुदेखि नै ऐलानी पर्तीमा बस्दै आएका छौं। २०५४ सालतिर सुकुम्बासी आयोगको टोली आयो। हाम्रो जग्गा पनि नापजाँच गर्‍यो, लालपुर्जा दिन्छ भनेर आशा गर्‍यौं तर पछि सुन्यौं हाम्रो जग्गा त अर्कैको नाममा आयो, अर्कैले खाइदियो,’ जितुवा मुसहर भन्छन्, ‘जग्गामा बसोबास हाम्रो, लालपुर्जा अर्कैको नाममा बन्यो।’

अहिले ती जग्गा दोस्रो व्यक्तिबाट खरिद बिक्री भएर तेस्रो व्यक्तिको हातमा पुगिसक्यो। उनीहरूले लालपुर्जा देखाउँदै ‘उठेर जाओ नत्र डोजर चलाएर घर भत्काइदिन्छौं’ भन्ने गरेका छन्। आफ्नो घर भएको जग्गा बिर्ताका साहु श्याम साहले लालपुर्जा देखाउँदै धम्काउने गरेको उनी बताउँछन्। उनका अनुसार श्याम साहले आफूसँग जग्गा किन्न भन्छन्। साहले ती जग्गा खरिद गरेका थिए। श्याम साहले जितुवासँग ६ कठ्ठाको २१ लाख रुपैयाँ माग गरेका छन्। जितुवा भन्छन्, ‘हामीलाई २१ सय पनि देख्न मुस्किल छ। २१ लाख म कहाँबाट ल्याउँ, हजुर ?’

दलालहरू गाउँ पस्न थालेपछि आफूले जग्गा खोसिएको महसुस गरेको जितुवा बताउँछन्। ‘हामी बसेको जग्गाको लालपुर्जा अर्कैले आफ्नो नाममा बनाएको कपरकोइयाँ (हल्लीखल्ली) भयो,’ उनले भने, ‘अनि हामी जग्गा फर्काउन आन्दोलनमा उत्रियौं।’ किर्ते गरेर बनाएको लालपुर्जा खारेजका लागि थारुटोलवासी न्याय माग्दै एक साताअघि पीडितहरू काठमाडौं आएका थिए।

सुकुम्बासीको जग्गा यसरी हिनामिना भयो

कुरो अढाई दशक अघिको हो। जोतभोग गर्दै आएको जग्गाको धनी बनाउन २०५४ सालमा जिल्ला–जिल्लामा सुकुम्बासी आयोग गठन भएको थियो। त्यो बेला भूमाफियाले आयोगका पदाधिकारीसँग सेटिङ मिलाए। मालपोत र नापीको अड्डाका कर्मचारीको मिलेमतोमा थारुटोल सिंगो बस्ती नै आफ्नो नाममा कित्ताकाट गराए। सोहीअनुसारका विवरण सरकारी ढड्डामा चढे।

सात–आठ पुस्तादेखि स्थानीयले यस ठाउँमा घर बनाई खेतीपाती गर्दै वंश परम्परा चलाइरहेका छन्। २०५१ सालमा एमालेको नौ महिने सरकारका पालामा सुकुम्बासी समस्या समाधान आयोग गठन भएको थियो। त्यतिबेला आयोगको धनुषा र महोत्तरी अध्यक्ष महोत्तरीका राजेश्वर यादव थिए। उनका पालामा सुकुम्बासीलाई जग्गा दिन भनेर बनरा गाउँको करिब ५० बिघा अर्कैको नाममा पास भएको स्थानीय बासिन्दाको भनाइ छ।

त्यसलगत्तै राप्रपा र कांग्रेसको संयुक्त सरकार बन्यो। सूर्यबहादुर थापा नेतृत्वको सरकारले तत्कालीन सुगा गाविसका राप्रपाका नेता विश्वनाथ कर्णलाई आयोगको धनुषा र महोत्तरी अध्यक्ष बनायो। जितुवा मुसहर भन्छन्, ‘उनकै पालामा ती जग्गा ओखलढुंगा, मोरङ, भोजपुर, पर्सालगायत देशका विभिन्न जिल्लाका बासिन्दालाई वितरण भयो।’ जग्गा प्राप्त गरेकाहरू वर्षौंसम्म चुप लागेर बसेको उनले बताए। केही वर्षयता लालपुर्जावालाहरूले जग्गाको कानुनी स्वामित्व आफूसँग रहेको भन्दै स्थानीयलाई घरखेत खाली गर्न धम्क्याइरहेका छन्। जसमा स्थानीय जनप्रतिनिधि र भूमाफियासमेत संलग्न रहेको आरोप स्थानीयको छ।

सुकुम्बासीको जग्गा जनकपुर र जलेश्वरको होटलमा बसेर आयोगका अध्यक्षले आफन्तका नाममा पास गराएको जितुवा मुसहरले सुनेका छन्। उनी भन्छन्, ‘हाम्रो जग्गा कसरी खैरा, सुँगा, जलेश्वर, मटिहानीका व्यक्तिहरूको नाममा जग्गा पास भयो। उनीहरूको यहाँ बसोबास र जोत नै छैन।’ यो सबै पैसा र शक्तिले सम्भव भएको उनको आरोप छ। ‘अब हामी कहाँ जाउँ ? काठमाण्डुभन्दा ठूलो सरकार खोज्न अब कता जाने ?’ जितुवाले दुःख सुनाए।

जिन्दगीभरि गरिबीको बिल्ला

जीवनभरि जितुवा मुसहरले जमिनमै काया (शरीर) घोटे। खेतमा मुरीका मुरी अन्न फलाए। धनीको जय जय भयो। तर, त्यहीँ जितुवाले टेकेको एक बित्ता जमिन पनि उसको नाममा हुन सकेन। जितुवाको बोलीमा थातथलोको चिन्ता मिश्रित भावना पोखिन्थ्यो। ‘बासै उठेपछि कहाँ जाने ?’ जस्ता प्रश्न उनमा छ।

ज्याला मजदुरीले उनको ११ जनाको परिवार चल्छ। जितुवाको दुई जना छोरा छन्, एक छोरी। जेठो छोरोको नाम रामकिशोर अनि कान्छोको प्रेमकिशोर। उनी चार नातिनातीनाका हजुरबुवा हुन्। उनको पाँचौं पुस्ताले बल्लतल्ल स्कुलको मुख देखेको छ। नातिलाई स्कुल पढाइरहेका छन्, सुनौलो भविष्यको आसमा।

‘हामी नपढेर अलपत्र भयौं। बसेका छौं, आँखा देखिन्छ। तर, केही अक्षर बुझ्न सक्दैनौं। ठग्नेले ठगेर गइसके। हामीलाई पत्तै भएन। नत्र यी दुःखका दिन देख्नुपर्ने थिएन’, उनी भन्छन्, ‘हामी मुर्ख भयौं। अब केटाकेटी पढे भने आफैं बुझ्छन्, विचार गर्छन्।’

nullबुढेसकालमा जितुवा मुसहरलाई ज्यालामजदुरी गरेर पेट पाल्ने बाध्यता छ। उनी बिहानदेखि बेलुकासम्म जमिनमा पसिना पोख्छन्। ‘काम गर्दा गर्दै बेचैन हुन्छु। घामले त्यतिकै पोल्छ, शरीरले पहिला जस्तो साथ दिँदैन,’ जितुवा मुसहर भन्छन्, ‘मालिककको खेतमा हलो जोत्छौं, कोदालो चलाउँछौं। पाँच किलो बैइन(ज्यालाका रूपमा दिने अन्न) दिन्छ। त्यसैले परिवार चल्छ।’

उनले सानैमा बुवा आमा गुमाए। मालिकको घरमा नोकरीचाकरी गर्दै हुर्किए। स्कुलको मुख देख्ने पाएनन्। उनी भन्छन्, ‘१८ वर्षको हुँदा बुवाआमा बितिसक्नु भएको थियो। घरमा मै जेठो थिएँ। भाइबहिनी सानै थिए। मालिकको घरमा नोकरी गरेर उनीहरूलाई हुर्काएँ। उनीहरूलाई पढाउने अवस्था थिएन। अहिले जस्तो त्यो समयमा पढाउने चलन थिएन।’ बुवाआमाले बसाएर गएको जमिन पनि अर्कैले लालपुर्जा बनाएर भगाउन खोज्दैछ भन्दै जितुवा भन्छन्, ‘के गर्ने हजुर ? जीवनमा एकपछि अर्को दुःखले कहिले पछि छोडेन।’

दुई मन धान ज्याला लिएर पहिले उनले जमिन्दारको घरमा वर्षदिनसम्म जोत्थे। उनी भैंसी चराउँथे, घाँस काट्थे, हलो जोत्थे, कोदालो खन्थे। मालिकको घरमा जे–जस्तो आइलाग्यो सबै गर्थे, गर्जो त्यसैले टार्नुपथ्र्यो। महँगी बढेपछि मालिकले श्रमिकहरूलाई दिनको ६ सेयर धान बैइन दिइयो। उनी सम्झन्छन्, ‘अहिले त दिनको ४÷५ सय ज्याला पाइन्छ।’

उनले परिवार पाल्न जीवनमा पसिनाको नदी बगाए। त्यो पसिनाबाट सिँचेर क्वीन्टलका क्वीन्टल अन्न उब्जियो। जितुवा मुसहरको भान्छामा अन्नको गेडाको अभाव सदाबहार समस्या बनिरह्यो। एक दिन पाखुरा नचलाउँदा उसको चुलो अहिले पनि बल्दैन। परिवारको मुखमा माड लाग्दैन। उनी जवानीमा पञ्जाव नगएका पनि होइनन्। तर, दुःखीयालाई दुःखको भारीले कहिले छोडेन। ‘धेरै पटक कमाउन पञ्जाब गएँ। कमाइले परिवार चलाउन ठीक्क भयो, अब त पञ्जाव खट्ने शरीर पनि छैन। अहिले गाउँमा सकेको मजदुरी गर्छौं’, उनी भन्छन्, ‘अब त बस्ने ठेगान पनि छैन। घरजग्गा सबै दलालले खाइदियो। अब यहाँबाट कहाँ जाने ?’

जन्मथलो खोसिँदा बस्तीमा पीडैपीडा

​​​​​​​जन्मथलो जो कोहीलाई प्यारो हुन्छ। तर, त्यही मुटुको एक टुक्रा पनि उनको नाममा छैन। सारा सुकुम्बासी बस्ती नै भूमाफियाले कब्जामा लिएपछि बनरा टोलका गरिब तथा विपन्नहरू पिरोलिएका छन्। उनीहरू बाँचेर पनि पलपल मरिरहेका छन्, उठिबास हुने चिन्ता छ। ‘समस्या कस्तो आयो भने बासै रहन नदिने धम्की दिन्छन्। यसकारण न मन त हर्ष छ न त खाना खानै मन लाग्छ,’ उनी भन्छन्, ‘अवस्था हाम्रो नाजुक छ। अब घडेरी पनि हामी किन्न सक्दैनौं। कमाई नै छैन। केही फुराएको छैन।’

न्याय माग्न जितुवा मुसहरसहितका गाउँले पुग्नुपर्ने सबै ठाउँ पुगे। गाउँमा सिंहदरबार आएपछि वडा अध्यक्ष गुहारे, मेयरलाई ज्ञापनपत्र बुझाए। नापी कार्यालय, मालपोत कार्यालय बर्दिबास र जलेश्वरको दैलो चहारे। प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै बिन्ती सुनाए। अख्यिारमा उजुरी दिए। मधेस प्रदेश सरकारलाई गुहारे। सबै कागजहरू देखाउँदै उनी भन्छन्, ‘कसैले सुन्ने नामसम्म लिएन। सरकारका मन्त्री, नेता र सिडियोहरू कानमा तेल हालेर बसे।’

‘ऋण खोजेर न्यायको आश, नहोस् गरिवको उठिबास’ न्यायको लडाइँ लड्नेक्रममा उनीहरू अन्तिमपल्ट काठमाडौं आएका छन्। सिंहदरबार आइपुग्न पनि ऋणै काढ्न पर्‍यो। अब काठमाडौं आएर गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएमा छौं’, जितुवा भन्छन्, ‘भूमिसुधारमन्त्री, सुकुम्बासी आयोगका सरहरूलाई बोलाएर उहाँले कुरो गर्नु भएको छ। अब हेरौं, सरकारले अब हामीलाई के गर्छ। उहाँहरूकै हातमा छ हाम्रो जिन्दगी।’ जोतभोगको आधारमा आफूहरूलाई सरकारले लालपुर्जा दिलाउनुपर्ने उनको माग छ।

लालपुर्जा दिलाउने नेताहरूको मीठो बोलीमा फसेर जितुवा मुसहरले थुप्रैपटक भोट हाले। चुनाव विजयी गराए। तर, उल्टै भूमाफियाहरू हाबी भए। उनी भन्छन्, ‘पञ्चायतकालदेखि नै भोट हाल्दै आएको छु, हाम्रो क्षेत्रबाट जितेर धेरै नेताहरू मन्त्रीसम्म भए तर हाम्रो दुःखको उपचार गरिदिने कोही बेटा जन्मिएन।’ दूरदराजमा बस्ने जितुवा मुसहरले पनि थोरबहुत राजनीति बझ्न थालेका छन्। उनले बुझाई साट्दै भन्छन्, ‘अब राजनीति पनि व्यापार भइसकेछ, जसले बढी लगानी गर्छ, उसले चुनाउ जिदो रहेछ, जनतासँग बोलेको कुरो एउटा हुन्छ, जितेपछि अर्कै गर्दौ रहेछ।’

nullउनी भन्छन्, ‘गाउँमा बाह्रवटा चम्चा हुन्छन्, उनीहरूलाई नेताहरूले चुनावमा पैसा बुझाइदिन्छन्। कसैलाई मुर्गा काटेर खुवाउँछन्। कसैलाई दारु पिलाउँछन्। चुनाव जित्छन्। जनताको कमजोरीको मौका उठाउँछन्। अनि उसलाई जनता किन चाहियो ? दलाहरूलाई पैसा दिन्छन्। उनीहरूले पाँचजना उता, पाँच जनालाई यता पकाउँछन्। अनि चुनाव जितिहाल्छ। हाम्रो समस्या रोगझैं बल्झिरहन्छ। नेताहरू गाउँबाट जितेर गाडीमा काठमाडौं आएपछि फेरि चुनावमै मुख देखाउँछन्। नेताले बुझ्छन् कि पैसा भए चुनाव जितिन्छ। अनि उसले हामीलाई कसरी चिन्छन्।’


हामी सुरुदेखि नै ऐलानी पर्तीमा बस्दै आएका छौं। २०५४ सालतिर सुकुम्बासी आयोगको टोली आयो। हाम्रो जग्गा पनि नापजाँच गर्‍यो, लालपुर्जा दिन्छ भनेर आशा गर्‍यौं तर पछि सुन्यौं हाम्रो जग्गा त अर्कैको नाममा आयो, अर्कैले खाइदियो। जग्गामा बसोबास हाम्रो, लालपुर्जा अर्कैको नाममा बन्यो। जितुवा मुसहर,पीडित


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.